भ्रमण वर्ष : महाकुलुङ हेरिटेज ट्रेलका लागि पहल गर्ने कि ? «

भ्रमण वर्ष : महाकुलुङ हेरिटेज ट्रेलका लागि पहल गर्ने कि ?

विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ । यहाँ उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, वंश–परम्परा, आदि–अनादि कालदेखि पुर्खाहरूले खाईखेली आएको खोलानाला, वनजंगल, अरूको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, चालचलन, वेशभूषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, हामी कुलुङ हौं भन्ने भावना, आफैंभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएको कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महा–कुलुङ’ र कुलुङ जातिबारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । किनभने ढिलै भए पनि भ्रमण वर्ष सन् २०२० को अवसरमा ‘महाकुलुङ हेरिटेज ट्रेल’का रूपमा घोषणा गर्न वा भनौं प्रवद्र्वन गर्न सकिन्छ कि ? भन्ने यो लेखको पेट बोली रहेको छ ।
वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र विज्ञान प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा राई (विसं २०६८ को जनगणनामा अलग्गै जातिका रूपमा तथ्यांकमा आएको छ ।) भनी चिनिन थालेका समुदाय पनि हुन्— कुलुङ । वि.सं. २०४६ को राजनीतिक परिवर्तन अघिसम्म केही विदेशी तथा स्वदेशी खोज–अनुसन्धानकर्ता तथा लेखकबाहेक धेरै कमले मात्रै ‘महाकुलुङ’ भूमि र कुलुङ जातिलाई चिन्दथे, जान्दथे ! जतिले चिन्दथे, जान्दथे– उनीहरूले पनि राई वा कुलुङ राई भनी चिन्दथे, जान्दथे । तर, अहिले अवस्था त्यस्तो छैन । किनभने वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङको जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० सहित छुट्टै जातिका रूपमा तथ्यांकमा आएको छ ।
त्यसैले यहाँ नेपालका प्राचीन जातिहरूमा पर्ने किरात महाजातिभित्रका एक जाति, कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरूको उद्गम थलो ‘महाकुलुङ’ भूमिलाई ‘महाकुलुङ सम्पदा पदयात्रा मार्ग’ (महाकुलुङ हेरिटेज ट्रेल) का रूपमा पर्यटकीय हिसाबले विकास गर्न किन ढिला गर्ने ? भनी चर्चा गरिएको छ । अथवा भनौं छलफल र बहस होस् भनी केही लेख्ने जमर्को गरिएको छ । किनकि तत्कालीन श्री ५ को सरकार र तत्कालीन नेकपा (माओवादी) बीच चलिरहेको राजनीतिक द्वन्द्वकालमा रसुवा जिल्लामा ‘तामाङ सम्पदा पदमार्ग-तामाङ हेरिटेज ट्रेल’ निर्माण गरिएको थियो-छ, जुन सफल पनि भएको थियो-छ ।
जे होस्, पुरानो भगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश) को सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरूलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ ।
कुलुङ समुदायको जीवन चक्रअनुसार यही पुस १५ गतेदेखि किरात संवत् (यले दोङ ५०८०) सुरु हुँदैछ । कुलुङ समुदायको जीवन चक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । जस्तो कि विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भनेझंै कुलुङ जीवनचक्रअनुसार यले दोङको पहिलो महिना हो— चाक्चाकूर ।
महाकुलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटनसँग जोडेर सिंगो ‘महाकुलुङ’ क्षेत्रलाई आर्थिक विकासमा समेटेर लानका लागि महाकुलुङ गाउँपालिका (गापा) को गुदेलमा आन्तरिक विमानस्थल बनाउनका लागि पहल भइरहेको छ । त्यसका लागि सर्भेको काम र स्थानीयवासीका लागि पूर्वसुसूचित हुने अधिकारका लागि सूचना निकाल्ने कामसमेत भइसकेको छ । त्यसो त धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ । हालसम्म राईमै गाभिएको भए तापनि कुलुङ जातिभित्रै विभिन्न उपभाषिका छन् । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न थर र उपथरहरू पनि रहेको छ ।
त्यसैले जसरी अरू समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसरी नै कुलुङ जाति पनि आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरूले स्थानीय कुलुङ बूढापाकासँग कुराकानी गर्दा अभैm पनि उनीहरूलाई दोभाषेको आवश्यकता पर्ने गरेको छ । अर्थात् गैरआदिवासीहरूसँग कुलुङ बूढापाकाहरू खस (नेपाली) भाषामा दोहोरो संवाद गर्न सक्दैनन् । महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, रीतिरिवाज, वेशभूषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेको छैन ।
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्