इजरायलको कृषिमा कार्यरत नेपालीलाई श्रमस्वीकृतिमा समस्या

काठमाडौं– विभिन्न भिसामा इजरायल गएर त्यहाँको कृषि क्षेत्रमा काम कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिमा समस्या देखिएको छ । त्यस्ता श्रमिकहरूले वैधानिकीकरण श्रम स्वीकृति गर्ने व्यवस्था मिलाई दिन सरकारसँग अनुरोध गरेका हुन् ।
श्रम स्वीकृति बैधानिकीकरणको माग गर्नेमा अन्य भिसामा गएर कृषि क्षेत्रमा काम गर्ने र नेपाल–इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्र्तगत नेपाली श्रमिक छन् । इजरायलस्थित नेपाली दूतावासका द्धितिय सचिव कुमारबहादुर श्रेष्ठले विभिन्न माध्यमबाट इजरायल गएर कृषि क्षेत्रमा काम गरिरहेका नेपालीको वैधानिकिकरण श्रम स्वीकृतिमा कठिनाइ देखिएपछि दूतावासले पहल सुरु गरेको बताए ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्र्तगत गएर समय सकिएपछि पुन: काम गर्ने नेपालीको श्रम स्वीकृतिमा समस्या देखिएको हो । हाल इजरायलमा जीटुजीमार्फत गएका नेपालीको मात्र श्रम स्वीकृति हुँदै आएको छ । केही समयअघि व्यक्तिगत तरिकाले इजरायल गएर काम गर्ने नेपालीको संख्या बढ्दै गएपछि श्रम स्वीकृतिमा कानुनी समस्या देखिन थालेको हो ।
एनआरएनए एनसीसी इजरायल र वर्कर हटलाइन काभला ओवेदले आयोजना गरेको ‘ने योर राइट्स’ विषयक कार्यक्रममा त्यहाँ कार्यरत कृषि क्षेत्रमा काम गर्दै आएका नेपालीले श्रम स्वीकृतिमा सहजीकरण गर्न दूतावासलाई अनुरोध गरेका छन् । इजरायलको कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली श्रम स्वीकृति विना काम गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्न दूतावासले पहल भने गरिरहेको छ ।
त्यहाँस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरेर श्रम स्वीकृतिको लागि पहल गर्दै आएको छ । दूतावासले नेपालस्थित श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागसँग यस सम्बन्धमा यसअघि पनि पटक–पटक छलफल गदै आएको थियो ।
इजरायलको श्रमिक अधिकारका लागि क्रियाशील संस्था काभला ओवेदले इजरायलमा कार्यरत नेपाली श्रमिकहरूका हक, अधिकार, कानुनी प्रावधान र कार्यस्थलसम्बन्धी काम गर्दै आएको भए पनि नेपाल पक्षबाट श्रमिकलाई गर्नुपर्ने श्रम स्वीकृतिसम्बन्धी सहकार्य भने प्रभावकारी रुपमा हुन नसकेको त्यहाँ कार्यरत नेपालीले गुनासो गरेका छन् ।
केयरगिभर क्षेत्रमा काम गर्ने नेपालीले कार्य भिसा अवधिको सीमाका कारण काममा दक्षता भए पनि ६३ महिनाभन्दा बढी काम गर्न नपाउने प्रावधानले समस्या ल्याएको त्यहाँ कार्यरत नेपाली बताएका छन् । त्यहाँको केयर गिभर क्षेत्रमा काम गर्ने नेपाली कार्यस्थल परिवर्तन र भिसा प्रक्रियामा भने समस्या रहेको त्यहाँ कार्यरत नेपालीले जनाएका छन् ।
इजरायलमा हाल १ हजार ६ सय ३० जीटुजी कामदारसहित करिब ४ हजार ७ सयभन्दा बढी नेपाली रहेका छन् । इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा बिदेसी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयर गिभर लैजान हाल करार सम्झौता पनि भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विगत डेढ वर्ष अघिदेखि इजरायल गएर काम गर्ने १ हजार ६ सयभन्दा बढी नेपालीको भने नियमित श्रम स्वीकृति भइरहेको छ । इजरायलस्थित नेपाली दूतावासले थप केयरगिभर र अन्य क्षेत्रका कोटाका सम्बन्धमा छलफल गरिने जनाउँदै आएको छ । हाल इजरायलमा जीटुजीमार्फत १ हजार ६ भन्दा बढी कार्यरत रहेका बेला थप केयरभिगर जाने क्रम भइरहेको हो ।
आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढ्ने भएपछि त्यहाँबाट आउने रेमिटेन्ससमेत वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्यामा उल्लेख्य वृद्धि भएसँगै रेमिटेन्समा थप वृद्धि भएको थियो । यसैगरी केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले अन्य क्षेत्रमा थप नेपाली पठाउनेबारे गृहकार्य गरिरहेको छ ।
इजरायल सरकारले वार्षिक रूपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ । इजरायलले यहाँबाट गएका नेपालीलाई इजरायलका विभिन्न वृद्धा आश्रम र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि १ हजार नेपाली लैजाने आवश्वासन दिँदै आएको छ ।