Logo

राजनेताबाट मात्रै देशको समृद्धि !

नेता र कार्यकर्ताहरूले चुनाव हेर्छन्, राजनेताहरूले देश हेर्छन् । देश समृद्ध हुन राजनेताको खाँचो हुन्छ । लोकतन्त्र बलियो हुने पनि राजनेताकै कारणले हो, लोकतन्त्र नभनिएका देशमा पनि नेतृत्व इमानदार छ भने देशको छिटै कायापलट हुन्छ, देशले काँचुली फेर्छ र संसारमै अब्बल बन्न सक्छ । हिजो नवोदित भएको देश पनि आज संसारसामु अब्बल भएका उदाहरण धेरै छन् । यो आलेखमा संसारमा नाम चलेका राजनेताहरूको केही र संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । छिमेकी चीनमा माओले धेरै ठूलो जग बसाले अर्थतन्त्रमा, कम्युनिस्ट क्रान्ति पनि गरे ।

चीन गरिब देश हो पहिले, सन् १९५० पछि उसले अभूतपूर्व विकास गरेको छ । माओको निधनपछि देङ सिआयो पिङ आए, सन् १९७७ पछि थप आर्थिक विकास भयो । माओले लिएको दीर्घकालीन अर्थनीतिलाई देङले थप मलजल गरे, पहिले बन्द नीति भए पनि देङले खुला नीति लिए, वैदेशिक लगानीलगायतका विषयमा व्यापक परिवर्तन भयो । चीनले अँगालेको अर्थतन्त्रले सन् २०१० मा आइपुग्दा जापानलाई उछिन्यो, बेलायत र जर्मनीलाई त पहिले नै सन् २००५ मै उछिनिसकेको थियो । अहिले समाज हाम्रो जस्तो खुला छैन, बन्द नै छ ।

तर, अर्थतन्त्र खुला छ र संसारमा एकछत्र छ चीन । संसारकै अब्बल जनसंख्या उसलाई भार भएको छैन, सन् १९७९ देखि २०१५ सम्म उसले एक सन्तान नीति लियो, त्यसपछि दुई सन्तानको नीति र सन् २०२१ पछि तीन सन्तानको नीति लिएको छ । बुढ्यौली बढ्दै जाने, उर्वर उमेर घट्दै जाने, जनसांख्यिक असर विकास समृद्धिमा सहजै पर्ने हुँदा चीनलगायतका राजनेताहरूले आवश्यकताअनुसार समृद्धिको दिशामा दिगो नीति लिइरहेका छन् र पछिल्लो समय कम्युनिस्ट पार्टीका महासचिव सी जिन पिङको सुशासन र राजनेताको गुणले चीन विश्वको अब्बल भूमि बनेको छ, संसारलाई वस्तु आपूर्ति गर्ने देश बनेको छ, जनसंख्या भार नभएर वरदान भएको छ । हामी वस्तु आयात, जनता निर्यात गर्दै छौँ र सुशासनको हबिगत दिनदिनैका काण्डहरूले देखाइरहेका छन् ।

अब्राहम लिंकन त प्रजातन्त्रका पिता नै भए, युएस प्रेसिडेन्ट रिचर्ड निक्सन सफल र सन्तुलित कूटनीतिज्ञ रहे । आजको अमेरिका त्यत्तिकै बनेको होइन, पुर्खाको लामो इज्जत र प्रतिष्ठा छ, मिहिनेत छ, २५ करोडमाथि जनता र साह्रै छरिएको विशाल भूभागको अमेरिका आज संसारको आर्थिक राजधानी भएको छ, जुन देशका दुई कार्यकालका पूर्वराष्ट्रपति सन्तान पढाउन निजी कम्पनीमा जागिर खान्छन् र सामान्य रेस्टुराँमा बसेर कुनै सुरक्षाबिना नास्ता खाने गर्छन् । चुनावताकाबाहेक अमेरिकीहरूलाई राष्ट्रपति वा अन्य राजनीतिक कर्ममा खासै चासो हुन्न, औद्योगिक गतिविधिमा संलग्न छन्, विकासको रफ्तार तीव्र छ र दुनियाँलाई एडहरू दिइरहेको छ, त्यो देशले । हामी सधैँका लागि सबैका लागि भीक्षार्थी भइरहेका छौँ ।

सिंगापुरका लिक्वान युले सन् १९५९ देखि १९९० सम्म राजपाठ चलाए, सिस्टम बसाले, मलेसिया अधीनस्थ हो त्यो, पछि मात्रै स्वतन्त्र भएको र अहिलेसम्म पानीको कुनै स्रोत छैन, तर संसारको अग्रणी मुलुक भएको छ त्यो, सुशासनमा अब्बल छ, भ्रष्टाचारका एकाध केसबाहेक सुनिँदैन कुनै, कानुनी राज छ, छोटो समयमा देश सम्भ्रान्त बनेको छ । मलेसियाका महाथिरले त्यहाँको पूर्वाधार र प्रशासनलाई मजबुत बनाए, हङकङको तुलनामा सस्तो देश भएको छ त्यो, स्थिर आर्थिक वृद्धि छ, युएस डलरसँग सजिलै प्रतिस्पर्धा गर्ने अर्थतन्त्र छ, बौद्धिक स्तर राम्रो छ, न्यून मुद्रास्फीति, श्रम बजार सहज, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, कानुनी राज, सशक्त सरकारी संयन्त्रहरू छन् र आर्थिक पूर्वाधार गतिलो छ । हाम्रा पूर्वाधार, हाम्रो सरकारी संयन्त्र, हाम्रो आर्थिक विकास, हाम्रो राजनीति देख्दा मुटुमा भक्कानो छुटेर आउँछ, मन बेचैनी हुन्छ र मान्छे सधैँ देश छोड्न लालायित छन् ।

फ्रान्सका चाल्र्स डी गोलले देशलाई नाजीहरूबाट मुक्ति दिलाए, राष्ट्रिय शक्तिको पहिचान दिलाए, फ्रान्सको स्वाभिमान संसारका लागि अब्बल छ, अमेरिकी निर्भरता छैन, स्वतन्त्र विदेश नीति छ, संसारमा फ्रान्स शक्तिशाली छ । इजिप्टका अन्वर सादातले देशलाई नवयुगमा प्रवेश गराए, दीर्घकालीन शान्ति दिलाए । बेलायतका मार्गरेट थ्याचरमा दृढ इच्छाशक्ति थियो, आइरन लेडीको नामले प्रसिद्धि पाएको छ, स्पष्ट दृष्टिकोण र अडानले बेलायतको अर्थतन्त्र अब्बल छ । सन् १२१५ को बेलायतको म्याग्नाकार्टाले नागरिकका हकमा पहिलो पटक धेरै बोलेको थियो, तेह्रौँ शताब्दीका विधिशास्त्री बेलायती ब्राक्टन विद्वान्ले राज्य चल्ने कानुनबाटै हो पनि भने । भ्रष्टाचारमुक्त समाजमा कानुनको शासन हुन्छ, विधिको शासन । कानुनको शासनलाई व्यवहारतः उतार्ने काम बेलायती न्यायमूर्ति सर इडवार्ड कोकले सोह्रौँ शताब्दीमै गरे । विधिको शासनमा बेलायतले आफ्नो गौरव इतिहास बोकेको छ । सन् १८८५ मा त्यहाँ एभी डायसी भन्ने विद्वान्ले आफ्नो पुस्तक ‘ल अफ द कन्स्टिच्युसन’मा विधिको शासनको विवेचना गरे । यसैले हालसम्म बेलायतमा संसदीय सर्वोच्चता छ, त्यहाँ नागरिकको स्वतन्त्रताको संरक्षणका विषयमा न्यायाधीशहरू पनि संसद्को मास्टर हुने गर्छन् । दार्शनिक विद्वान्हरू हब्स, लक, रुसोहरूले संसारका लागि धेरै ठूलो योगदान गरे राजनीति र समाजशास्त्रमा, सिंगो विधिशास्त्रमा । प्लेटो, एरिस्टोटलहरूको नाम सबैले लिने गरेका छन् अहिले पनि, जहिले पनि ।

भारतका राजनेताहरूले देशलाई बलियो बनाएका छन् । धेरै वर्षसम्म एउटै अर्थमन्त्री छन्, आयकरको सीमा वृद्धि गर्दै भारु १२ लाखसम्मको आयमा आयकर नलाग्ने भएको छ, बजेटमा ज्येष्ठ नागरिकको ब्याजमा कर छुटको सीमा भारु ५० हजारबाट १ लाख छ, घरेलु उद्योगको प्रोत्साहन, अन्य उद्योगको संरक्षण, आर्थिक वृद्धिलाई जोड दिइएको छ । विगत एक दशकमा भारत सरकारले लिएको विकास नीति, संरचनात्मक सुधारले विश्वकै ध्यान आकृष्ट गरेको छ । विश्वकै सबैभन्दा द्रुत आर्थिक वृद्धि हुने अर्थतन्त्र स्थापित भइसकेको छ, यहाँ । आयकर छुटको सीमा सन् २०२३ मा ७ लाख मात्र थियो, कति फड्को मारेको छ अहिले । माल्दिभ्स, अफगानिस्थान, बंगलादेश, श्रीलंका, मोरिसस, म्यानमार, मंगोलिया, सेसेल्स, ल्याटिन अमेरिकी देश, नेपाल र अफ्रिकन कन्ट्रीहरू उसकै बजेटमा आशावादी छन्, सहयोग पाउनेमा ।

मे २०२४ मा लोकसभाका लागि चुनाव हुँदा पुनः मोदी नै आएका छन्, लोकतन्त्र र सुशासनको जग बसेको छ, भारत–पाक युद्ध हुन लाग्दा अहिले अवतरित अवस्थामा छ, बजेटका चार खम्बा महिला, युवा, किसान र गरिब छन् । आर्थिक वृद्धि लोभलाग्दो र अब्बल छ, समावेशी दिगो विकास, गाउँ केन्द्रित, उत्पादकत्वमा सुधार, १ करोड घरधुरीलाई ३ सय युनिट बिजुली निःशुल्क, अस्पतालका लागि थप पूर्वाधारको तयारी, क्यान्सरविरुद्धको अभियान, मातृ–बाल स्वास्थ्य र पोषण, आयुष्मान् भारतको योजना, आगामी १० वर्षमा २५ करोड जनता गरिबीबाट मुक्ति, ८० करोड जनतालाई निःशुल्क खाना, औसत वास्तविक आय ५० प्रतिशतले बढिसकेको, बाली बीमा, बोलेको कुरा पुर्‍याउने देश हो भारत । सन् २०४७ सम्म विकसित देशको स्तरमा पुगिसक्ने उसको योजना छ । आयुष्मान् भारत, उत्पादन केन्द्रित अनुदान, सोलार पावर, हरित हाइड्रोजनलगायतका स्किम पनि छन् । विशाल जनसंख्या भएर पनि आफ्नो उत्पादन खाद्यान्न निर्यातक देश हो त्यो ।

नेपालमा कति घिनलाग्दो आयातित लोकतन्त्र छ, एउटाले नीति तथा कार्यक्रम पेस गर्छ, अर्कोले बजेट बनाउँछ र झन् अर्कोले बजेट कार्यान्वयन गर्छ एकै वर्षमा । सत्ताको तानातान, संघर्ष, अस्थिर नीति, पारिवारिक जालो, सधैँ काण्डैकाण्डहरू, राजनेताको अभावले देश पिल्सिएको छ । र त खाडीमा हाम्रा युवा तातो घाममा भेडा चराउँछन्, कुखुराको भुत्ला खुइल्याउँछन्, वर्षभित्रै १ हजार बढीको बन्दी बाकस आउँछ, संसारकै उच्च विप्रेषणको देश हो, प्रदूषणमा अब्बल छ, सरकार र बेरुजु धेरै, काम केही नहुने, परिवारवादमा केन्द्रीय अर्थतन्त्र र लोकतन्त्र चलेको छ । भुटान र भारतको चामल कोटामा छौँ हामी, पूर्वाधारमा अरू नै अब्बल छन् । भारतकै स्लोगन सहभागितासहितको बजेट, विपन्नलाई प्राथमिकता, कृषिका लागि डिजिटल, पूर्वाधारलाई जोड, सीमान्तकृत समूहसम्मको पहुँच, सम्भावनाको पूर्ण उपयोग, दिगो ऊर्जा अभियान, युवामैत्री वित्तीय क्षेत्रलाई पनि अँगाल्न सकिएको छैन । गरिबलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने समयावधि थपजस्ता विषयहरूले भारत अग्रगमनमा छ ।

हाम्रोमा जनसंख्यालाई बोझका रूपमा हेरिँदै छ, जलवायुको वज्रपात छ, प्राकृतिक विपत्तिसँग सामना गर्न सकिएको छैन, दिगो विकास रणनीति छैन, सत्ताको उन्माद छ, विरोधीलाई कारावास, आफ्नालाई छुट, स्थायी सरकारले, जसले विकास प्रशासन सञ्चालन गर्छ उसलाई मुठीभर नियन्त्रणमा खेतालोसरह गरेर राखिएको छ, सुशासनको सुगा रटाइ छ, ग्रे लिस्टमा छ, स्तरोन्नति भए अविकसित देशको सुविधा खोसिने चिन्ता छ, बजेट आउनेबाहेक समयमा कुनै काम हुुन्नन्, केवल चुनाव ताक्ने नेता र कार्यकर्ताहरूको जमात बढेको छ देशमा, जसले देशलाई खोक्रो बनाइरहेका छन् ।

पश्चिमबाट घाम उदाउने भन्दै नेताहरूले बाँडेको सपना पञ्चेश्वर जलविद्युत् योजना आकाशको तारा बनेको छ । २०३५ सालदेखि बूढीगण्डकी आयोजना भनियो, त्यसको नाममा अर्बौं अर्ब रकम कर उठाइयो, अत्तोपत्तो छैन, रकम पनि कता छ थाहा छैन । महालेखाको हालैको प्रतिवेदनले ३ सय ६४ वटा ठूला परियोजना समयमा सम्पन्न नभएको भनेको छ । ठेकेदार पोस्ने, राज्यकोषको अधिक दोहन गर्ने, लागत खर्च तेब्बरसम्म पार्ने हाम्रो लेकतन्त्र छ, २० वर्ष बढी पुराना दर्जन बढीका परियोजनाहरू छन्, मेलम्ची, पोखरा र भैरहवा विमानस्थलमा हाक्काहाक्की भ्रष्टाचार छ, गाउँका सिंहदरबार बेथितिमा र भ्युटावरमा मुसा कुद्दै छन् । विकास कोष छुट्टै नभई सांसदहरू चुनावक्षेत्रमा जान नसक्ने र निर्वाचन प्रणाली नै साह्रै महँगो छ, एक कार्यकाल होइन, सातपल्ट प्रधानमन्त्री दाबा गर्ने नेताहरू पाएको देशले विकास र समृद्धिमा कहिले समय दिने ?

विधिको शासनमा कानुनको पूर्ण सर्वोच्चता हुन्छ, विशेषाधिकार वा तजबिजी अधिकारसमेतको अस्तित्वलाई अस्वीकार गरिएको हुन्छ । विशेषाधिकार प्रयोग गर्दै विभिन्न अभियोग बोकी जेल सजायमा रहेकाहरूलाई तुरुन्तै छुटाउने गणतन्त्र छ यहाँ । सार्वजनिक सेवा प्रवाह प्रक्रियामुखी छ, परिणाममुखी हुन मान्दैन । लोकतन्त्र र सुशासनमा आम जनतामा निराशा छाएको छ, राज्यका काम–कारबाहीप्रति जनविश्वास घटेको छ, सहभागिता र सन्तुष्टिको मात्रा खस्केको छ । उत्साहका साथ जनताले भोट हाल्ने तर जनता एक दिन शासक बन्ने बाँकी दिन शाषित र प्रताडित हुने अवस्थामा छन्, महँगी र करको मारले सिकटे भएका छन् । परिवर्तन गर्छु भन्नेहरूलाई नाकाबन्दी गरिएको छ, पखेटा झिकिएको चरा बनाइएको छ । महँगो बजार, महँगो शिक्षा, स्वास्थ्य, हिँड्नै नहुने बाटो, खानेपानीको हाहाकार, भूकम्प, चट्याङ, बाढीपहिरोको सिकार, जनता ताडित छन्, पीडित छन् । सार्वजनिक संस्थाहरूको व्यापक वृद्धि छ, सेवा दिनेभन्दा खर्च उठाउने काममा छन् ती । मुलुकमा भ्रष्टाचार मौलाएको, रोजगारी नहुँदा क्रयशक्ति घटेको, उत्पादन र उत्पादकत्वको कमीले व्यापारघाटा चुलिएको, विदेशी लगानी खुम्चिएको, विदेशी ऋणले नेपाली थाप्लो किचिएको, वितृष्णाहरूको कालो बादल मडारिएको छ ।

हामीकहाँ सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूलाई कामको गुणस्तरप्रति चासो भएन, उत्तरदायित्व र जिम्मेवारीबोध भएन, प्राविधिक परीक्षण र मापदण्डप्रति गाम्भीर्यता रहेन, नैतिक मूल्य र मान्यतामा ह्रास आयो, सामाजिक आडम्बरले प्रश्रय पायो, जनचेतना वृद्धि भएन, नेताहरूले त्यो सिकाएनन्, अभावग्रस्त बजारका कारण आम उपभोक्ताले उपभोक्ता हित संरक्षणसम्बन्धी कानुन पल्टाउन भ्याएनन्, आजको भोक ठूलो भयो भोलिको रोगभन्दा । बजारका सामग्रीले स्वास्थ्यप्रति के–कस्तो हानि गरिरहेको छ भन्ने याद गर्न सकिएन, सामान्य बिरामी हुँदा पनि हजारौँ हजार खर्च भएको चिन्ता भएन । बजार प्रदूषण र विषादीमुक्त गर्नै सकेन लोकतन्त्रले, पछिल्लो समय अब नुनमा एकाधिकार पाएको साल्ट ट्रेडिङको काम खोसेर निजी क्षेत्रलाई दिन राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । उदयपुर सिमेन्ट कति राम्रो थियो, हेटौँडा सिमेन्ट र कपडा उद्योग, बालाजुलगायतका उत्पादनमूलक उद्योग, गोरखकाली रबरदेखि ट्रलिबस, बाँसबारी छाला, भक्तपुर इँटा कारखाना, भृकुटी कागजदेखि साह्रा विषय लोप भइसकेको अवस्था छ, दूरदर्शी नेतृत्वको अभावमा ।

प्रतिक्रिया दिनुहोस्