नेपाल-स्वीस चेम्बर अफ कमर्सले मनायो नवौं साधारणसभा

काठमाडौं– नेपाल स्वीस चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका आजीवन सदस्यहरू, व्यावसायिक क्षेत्रका अगुवाहरू तथा स्वीस सरोकारवालाहरूको सहभागिता थियो ।
रणनीतिक योजना, खुला संवाद, नेपाल–स्विट्जरल्याण्ड व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धनप्रति नयाँ प्रतिबद्धताको भावनासहित साधारणसभा सम्पन्न भएको आयोजकले जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको नेपाल स्वीस चेम्बर अफ कमर्सले नेपाल र स्विट्जरल्याण्डबीच आपसी व्यापार तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले द्विपक्षीय व्यावसायिक मञ्चको रूपमा निरन्तर काम गर्दै आएको छ । संस्थाले स्थापनाकालदेखि नै मैत्रीपूर्ण सम्बन्धलाई मजबुत पार्दै संयुक्त लगानी, ज्ञान, संस्कृति तथा नवप्रवर्तनको आदानप्रदानलाई प्राथमिकतामा राख्दै आएको छ ।
साधारणसभाका संस्थाका अध्यक्ष खेम लकाईले विगत वर्षको गतिविधिबारे जानकारी दिँदै सदस्यहरूको सक्रिय सहभागिता र प्रतिबद्धताको प्रशंसा गरे । उनले आगामी वर्षका लागि नेटवर्किङ कार्यक्रम, नीतिगत पैरवी तथा सांस्कृतिक आदानप्रदानका योजनाहरू प्रस्तुत गरे । नेपालको रणनीतिक भौगोलिक स्थिति र उदाउँदो अर्थतन्त्रको सन्दर्भमा पर्यटन, जलविद्युत, कृषि प्रशोधन, औषधिजन्य उत्पादन तथा पूर्वाधार क्षेत्रहरूमा नयाँ अवसरहरू रहेको उनले उल्लेख गरे । साथै स्विस–नेपाल संयुक्त लगानीका लागि एनएससीसीआई पुलको रूपमा काम गर्न कटिबद्ध रहेको बताए ।
स्विट्जरल्याण्डबाट नेपालमा घडी, सवारीसाधन, औषधिजन्य वस्तु तथा मेसिनरी वस्तुहरू आयात हुने गरेका छन् भने नेपालबाट खासगरी कपडा निर्यात भइरहेको छ । एनएससीसीआईले व्यापार विस्तार गर्दै नयाँ क्षेत्रहरूको खोजी गर्ने लक्ष्य लिएको छ ।
साधारणसभामा एनएससीसीआईका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा आजीवन सदस्य सन्तोष गिरीले कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्यामा भएको वृद्धि र वित्तीय सहयोगको विस्तारले आगामी वर्षका कार्यक्रमहरूलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वीस क्लब नेपालको घोषणा गरिएको थियो । यो नयाँ पहल सामाजिक, सांस्कृतिक तथा अनौपचारिक नेटवर्किङलाई प्रवद्र्धन गर्न आजीवन सदस्यहरूबीच सघन सम्पर्कको माध्यम बन्ने लक्ष्यका साथ ल्याइएको हो । नवौं वर्षको सफलतापूर्वक समापनसँगै नेपाल स्वीस चेम्बर अफ कमर्सले आगामी वर्षहरूमा दुई देशबीच व्यवसाय, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



