बजेटकाे प्राथमिकतामा सेयर बजार

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका छन् । बिहीबार संसद्को दुवै सदनमा अर्थमन्त्रीबाट प्रस्तुत बजेटमा सेयर बजार सुधार र पुँजीबजार प्रवर्द्धनका लागि महत्त्वपूर्ण योजना सार्वजनिक गरिएको हो ।
अर्थमन्त्रीका अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिन भएको छ । यसले पुँजी बजारलाई थप पारदर्शी, सक्षम र भरपर्दो बनाउनेछ । बजेटमा धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्दै नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष ध्यान दिने योजना रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र उनीहरूको सहभागिता बढाउन सरकारले सेयर बजारमा आवश्यक सुधार गर्ने लक्ष्य आगामी बजेटमा राखिएको छ । यस्तै, सूचीकृत कम्पनी तथा संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा जारी हुने पुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहज वातावरण बनाइने बजेटमा उल्लेख छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी संरचना तयार गरिनेछ। यसले नयाँ लगानी सम्भावना खोल्ने विश्वास लिइएको अर्थमन्त्री पौडेलले जानकारी दिए। सरकारले विदेशी मुद्रामा भुक्तानी गर्ने नेपाली ऋणपत्र जारी गर्ने पनि बजेटमा घोषणा गरिएको छ ।
बजेटमा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने, गैरआवासीय नेपालीलाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने घोषणा गरिएको छ । यसबाट वैदेशिक लगानी प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । सेयर बजार सुधारका यी कदमले नेपालको पुँजी बजारलाई व्यवस्थित लगानीमैत्री बनाउने विश्वास लिइएको अर्थमन्त्रीको भनाइ छ ।