Logo

कर्णालीबाट श्रम स्वीकृति लिने बढे

जुम्ला– कर्णाली प्रदेशबाट पछिल्लो समय श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या बढ्दै गएको छ । विगतमा कर्णालीका नागरिकको रोजगार गन्तव्य काला पहाड (भारत) भएपनि पछिल्ला वर्षको तथ्यांकले खाडी मुलुक जानेको संख्या बढ्दै गएको हो । सरकारसँग कर्णालीबाट कामको खोजीमा भारत जानेको एकीन तथ्यांक छैन । तर कर्णालीका नागरिकको मुख्य रोजगार गन्तव्य भनेकै भारत हो ।

खुला सीमा भएकै कारण थोरै लगानीमा पनि जान सकिने र चाहेकै बेला घर फर्किन मिल्ने सहजताले कर्णालीका अधिकांश युवा भारत जान्छन् । तर कतिको संख्यामा युवा भारत जान्छन् भन्ने तथ्यांक सरकारसँग छैन । भारत जाँदा राजस्व तिर्नु नपर्ने भएकाले पनि सरकारले तथ्यांक राख्न चासो नदेखाएको हो । पछिल्ला केही वर्षको तथ्यांक हेर्दा कर्णालीबाट श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या करिब एक लाखको हाराहारीमा छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार कर्णालीका ९५ हजार युवा विदेशमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म मात्रै कर्णालीबाट १२ हजारले श्रम स्वीकृति लिएका छन् । जिल्लागत रुपमा हेर्दा कर्णालीका १० मध्ये सल्यानबाट सबैभन्दा धेरै ७ हजार ५३ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै सबैभन्दा कम डोल्पाबाट ५१२ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै जुम्लाबाट ९५६ जनाले श्रम स्वीकृति लिँदा सुर्खेतबाट पाँच हजार ३९४, दैलेखबाट तीन हजार २३०, रुकुम पश्चिमबाट दुई हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । जाजरकोटबाट दुई हजार ३९६, कालीकोटबाट ८९५, हुम्लाबाट ५६१, मुगुबाट ५३७ जनाले श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । गाउँमा उपयुक्त रोजगारीको वातावरण नभएपछि दुर्गम गाउँबाट पनि ऋण काडेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने युवाको संख्या बढ्दै गएको छ ।

कुन आव कतिले श्रम स्वीकृति ?
पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कर्णालीबाट श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ह्वात्तै बढेको छ । विगतमा कालापहाड कमाउन जानेहरु घर खर्चको जोहो गर्न मुस्किल भएको र गाउँमा रोजगार नपाएपछि खाडी मुलुक जान थालेका हुन् । आर्थिक वर्ष २०८०/०८१ मा मात्र कर्णालीबाट २४ हजार १७५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८६६ महिलाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/०८० मा ३० हजार ३४३ जना विदेश गएको देखिन्छ । जसमा एक हजार ७८५ महिला छन् । आव २०७८/०७९ मा १९ हजार १०६ जना विदेश गएका थिए । जसमा पाँच हजार ९६६ जना महिला थिए । २०७५ साल माघदेखि कर्णाली प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भए यता कर्णालीबाटै पुन: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने बढेका हुन् । विगतमा श्रम स्वीकृतिका लागि काठमाडौं जानु पर्ने बाध्यता थियो ।

तर अहिले प्रदेश र स्थानीय तहको रोजगार शाखाबाट समेत श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । पालिकाहरुले दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै श्रम स्वीकृति दिने गरेका छन् । प्रविधिको विकासपछि अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाइएको छ । बायोमेट्रिक नभएका व्यक्तिबाहेक धेरैजसोले अनलाइनबाटै श्रम स्वीकृति लिने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमा प्राय: सल्यान, सुर्खेत, दैलेख, जाजरकोटका स्थानीय रहेका छन् ।

पछिल्लो समय अनलाइनबाट श्रम स्वीकृति लिन थालेपछि दुर्गम जिल्लाका युवामा पनि विदेश मोह बढेको छ । वैदेशिक रोजगारीमा जानेहरूको गन्तव्य खाडी मुलुक यूएई, साउदी अरब, दुबई, कतार, मलेसिया रहेका छन् । प्रदेश सरकारको तथ्यांकअनुसार कर्णालीमा २० हजारभन्दा बढी साना उद्योग छन् । जसमा ५९ हजार १२५ जनाले रोजगारी पाएका छन् । तर, कम पुँजी लगानी गरिएका साना उद्योगबाट पर्याप्त रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्