Logo

नाट्टाको बिआइटिएम-३ ले उछालेका तरंग

भगवान् गौतम बुद्धको पावन जन्मभूमि लुम्बिनी तथा त्यसका आसपासका क्षेत्र एवं देशैभर छरिएर रहेका विभिन्न बौद्ध स्तूप र स्मारकहरूको प्रचारप्रसार र प्रवर्द्धनका लागि विश्वका विभिन्न मुलुक, विशेष गरी दक्षिण एसियामा गरिने विभिन्न तरिकामध्ये आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक वर्गमा पर्ने नाट्टाको अन्तर्राष्ट्रिय बौद्ध पर्यटन बजार (बिआइटिएम) पनि एक हो । नेपालमा लुम्बिनी, बौद्ध धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रभूमिका रूपमा रहेको छ ।

नेपालमा पर्यटन सम्बद्ध सन् १९६६ मा स्थापना भएको सबैभन्दा ज्येष्ठ संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही वर्षदेखि लुम्बिनी क्षेत्रको प्रचार–प्रसारका लागि बिआइटिएमको आयोजना गर्दै आइरहेको छ । सन् २०१९ मा बिआइटिएमको पहिलो संस्करण लुम्बिनीमा भएको थियो । यसको दोस्रो संस्करण अलिक ढिलै भए पनि लुम्बिनी पवित्र बगैँचा र मायादेवी मन्दिरनगिचै सन् २०१३ मा सम्पन्न भएको थियो र हालै गत साता मे २३–२४ मा यसको तेस्रो संस्करण पनि अत्यन्तै भव्यताका साथ काठमाडौँ र लुम्बिनीमा टुंगिएको थियो ।

यसको आयोजनामा नेपाल पर्यटन बोर्डलगायत नेपाल वायुसेवा निगम पनि आयोजकका रूपमा देखा परे । साथै, अन्य ८० वटाजति पर्यटन संस्थाले पनि आफ्ना उत्पादनका विस्तृत नमुनाहरू लिएर प्रदर्शनी कक्ष पनि राखेका थिए, जसको सम्पूर्ण सहभागीले अवलोकन गर्नुका साथै राम्रै व्यापार पनि गरेको बुझिएको छ । भारत, चीन र थाइल्यान्डका प्रतिनिधिहरूको सक्रियताले मार्टको गरिमा वृद्धि गरेको देखिन्थ्यो ।

यति हुँदाहुँदै पनि विदेशीहरूको सहभागितामा केही कमी रहेको भने कसैबाट पनि छिपेन । अहिलेको सन्दर्भमा विश्वभरि नै बौद्धमार्गीहरूको अनुमानित जनसंख्या ५ करोड अर्थात् विश्व जनसंख्याको ६.६ प्रतिशत जनता बौद्धमार्गी छन् । त्यसका अतिरिक्त चीनमा २ करोड २४ लाख जनसंख्या भगवान् गौतम बुद्धका अनुयायी छन् । यो त्यहाँको कुल जनसंख्याको १८.२ प्रतिशत हो । भारतको कुल जनसंख्याको १०.७ प्रतिशत जनता बुद्ध धर्म मान्छन् । नेपालमा मात्रै २.४ लाख बौद्धमार्गी छन् भने थाइल्यान्डमा ६४.४ लाख, जापानमा ४५.८ लाख, भियतनाममा ३८.४ लाख र श्रीलंकामा १४.२ लाख बुद्ध धर्म मान्नेहरूको उपस्थिति छ । हुन त यसपटकको बिआइटिएमको उद्घाटन समारोहमा समारोह स्थलमा झन्डै हजार जनाको उपस्थिति थियो । तर, समय लम्बिँदै जाँदा आगन्तुकहरूको उपस्थिति पातलिँदै गएको सबैले अनुभव गरे । थाइल्यान्डको सांस्कृतिक, सांगीतिक प्रस्तुतिको सबैले सराहना गरे र त्यत्तिकै सराहनायोग्य चीनका प्रतिनिधिले प्रस्तुत गर्नुभएको चीनको ५ हजार किमि लामो लोकमार्ग (हाइवे) बारेको प्रस्तुति थियो ।

नाट्टाले आफ्नो ६० वर्षको स्थापनाकालदेखि नै नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय पर्यटन मेला सम्मेलन तथा बजारहरूमा आफ्नो सहभागितालाई अटुट रूपले निरन्तरता दिँदै आइरहेको भए तापनि पछिल्ला वर्षहरूमा तीबाहेक पनि स्थानीय पर्यटन संस्थाहरूसँग आफ्नो सम्बन्ध सुदृढ पार्दै बुद्ध धर्म तथा दर्शनको प्याकेज निर्माण गरेर थाइल्यान्ड, कम्बोडिया, लाओस एवं श्रीलंकामा धेरै चोटि कार्यक्रमहरू गरेको छ । ती कार्यक्रमहरूलाई निरन्तरता दिने प्रयास नेपाली पर्यटन संस्था तथा व्यवसायीहरूबाट नभएका पनि होइनन् । तापनि नाट्टाको एकल प्रयास वा नेपाल पर्यटन बोर्डको एकल प्रयासबाट मात्रै अपेक्षित प्रतिफल पाउन नेपाल सफल भएको छैन भन्न सकिन्छ ।

नाट्टा एउटा गैरसरकारी र नाफा नकमाउने संस्था भएकाले त्यहाँ अति नै महत्त्वाकांक्षी कार्यक्रमहरू बनाइए । यद्यपि, तिनको प्रभावकारी कार्यान्वयनमा संसाधन र स्रोतको सीमितताका कारण संस्था निरुपाय रहेको देखिन्छ । नाट्टाका सदस्यहरूको वार्षिक सदस्यता शुल्कले मात्रै संस्थाका प्रवर्द्धनात्मक कार्यक्रमहरू नियमित हुन सकेका छैनन् । राजनीतिक विभाजनले पनि असर पारेकै देखिन्छ । संस्थाको विधानअनुसार संस्थालाई सही मानेमा गैरराजनीतिक तवरले अघि बढाउन नेतृत्वलाई सधैँ पिरोलिरहेको देखिनु अस्वाभाविक होइन । सदस्यहरूमा विद्यमान ऐक्यता संस्थाको चुनावका बेला छताछुल्ला भएर हराउँछ ।

यी त भए संस्थाभित्रका न्यूनता वा दुर्बलताका पक्षहरू, अर्कातिर हेर्‍यो भने संस्थाका साथीहरू र नेतृत्वको सतत प्रयास रहँदारहँदै पनि सरकार तथा सरोकारवाला मन्त्रालय वा विभागजस्ता निकायहरूद्वारा पर्यटकको सेवा–सुविधाका लागि हामीले पुर्‍याइदिनुपर्ने आवश्यक आधारभूत पूर्वाधारको परिपूर्तिको अभाव, जस्तै : मुलुकभित्र रहेका सडक सञ्जालहरूको समयानुसार मर्मत सम्भार, स्तरोन्नति र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) को सशक्तीकरण तथा अन्य अन्तर्राष्ट्रिय हवाई सेवाहरूलाई नेपालमा उडान भर्न आवश्यक प्रोत्साहन (इन्सेन्टिम) को अभाव । नेपाल भ्रमणमा आउन चाहनेका लागि यदि राष्ट्रले सहुलियत दिन र उसको यात्रालाई सहजताका साथ हवाईसेवा उपलब्ध गराउन नसके, सम्भावित पर्यटक वा पर्यटकको समूह निरुत्साहित हुँदैन ?

त्यसको पर्वाह नगरी हामी देशको सरकारलाई टिकाउनतर्फ मात्र पहल गर्छाैं भने पर्यटनलाई राज्यको अर्थतन्त्रको मेरुदण्ड हो भन्दै यथास्थितिमा रमाइरहने ? गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भैरहवामा निर्माण प्रारम्भ हुँदाहुँदै त्यहाँ खर्बाैंको लागतमा पर्यटकका लागि चाहिने अनेकौँ पूर्वाधारको निर्माण थाल्यो, निजी क्षेत्रले । सुरुका केही दिन त व्यवसायीहरू उत्साहित पनि भए । तर, समय के बित्दै गयो, विमानस्थल अहिले कुनै संरक्षित गौचरभन्दा राम्रो अवस्थामा छैन । आसपासका क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरू अहिले निराशाको चरम अवस्थामा रहेको हामी देख्छौँ । नेपाल अहिले दक्षिण एसियाका मुलुकहरूको सुशासन स्कोरमा श्रीलंका (१२१ औँ) पछिको दोस्रो स्थान (१०७ औँ) स्थानमा छ । मुलुक विभिन्न थरीका भ्रष्टाचारका काण्ड, आन्दोलन, गिरफ्तारी र जेल चलान, दलीय भागबन्डाजस्ता विसंगतिपूर्ण घटनाहरूको असमञ्जसपूर्ण दलदलमा अड्किएको भान हुन्छ । एक–दुई जना निडर लोकप्रिय नेताहरूबाहेक कसैले पनि स्पष्ट रूपमा मुलुकको विद्यमान अवस्थाबारे विवेचना गर्न वा सुन्न चाहेको जस्तो देखिँदैन । देश र जनताका लागि काम गर्न उद्यत भएर आएका युवाहरूप्रति राज्य सरकारले उचित व्यवहार नगरेको जनगुनासो त छँदै छ; देश, समाज र जनताको हितका लागि कहीँ कुनै नयाँ कार्यक्रमको चर्चासमेत सुनिँदैन । मात्र, सत्ताधारीहरूको अकुत कुम्ल्याइ ।

शिक्षकहरू आश्वासनको पोको र डोको बोकेर आ–आफ्नो घर फर्किए तर शिक्षा क्षेत्र असन्तुलित हुँदै गइरहेको छ । त्यसरी नै स्वास्थ्य क्षेत्रको अवस्था पनि औषधिको अभाव र सरकारी नीतिका कारण स्थिर छैन । मुलुकले लगानी गरेर तयार पारेका अनगिन्ती डाक्टर र नर्सहरू बेपर्वाहीका साथ बिदेसिन थालेका छन् । अन्य युवाशक्तिको हकमा गत दस महिनाभित्र ७ लाखले श्रम स्वीकृति लिएर देशबाट पलायन भएको दर्दनाक अवस्था छ । राज्यले न रोजगारी दिन सकेको छ, न ती पलायन भएका युवाहरूलाई स्वदेशतर्फ नै आकर्षित गर्न । राज्य सञ्चालनमा व्यस्त त्रिशक्तिहरू आ–आफ्नो दुनो सोझ्याउन निमग्न छन् । चौथो शक्ति बनेर उदाउन खोज्नेहरूको कहीँ कुनै गन्ती छैन, मानौँ ती राज्यका कोही होइनन् । इतिहासको गणतन्त्रमा नभेटिएका, नसुनिएका र नपढिएका यस्ता कैयौँ उदाहरण हाम्रै सानै फूलबारीमा देख्न र भोग्न पाइन्छन् ।

सर्वप्रथम देश अनि मात्र दल हुनुपर्नेमा सर्वप्रथम दल, अनि मात्र अन्य अर्थाेक । देश त पुछारसम्म पनि भेट्टाइँदैन । विडम्बनाको भूलभुलैया र समस्याहरूको साँघुरा गल्लीहरूबाट गुज्रिरहेको छ आम नेपालीको सामान्य जिन्दगी ! २८ खर्ब ऋण बोकेकै छौँ, विप्रेषण/रेमिटेन्स दिनहुँ बढ्दो छ, गत १० महिनाभित्रै निर्यात पनि असामान्य रूपले २ खर्ब १७ अर्ब पुगेको छ । यसलाई अहिलेसम्मकै बढी भनिएको छ । गत वर्षको तुलनामा हाम्रो निर्यात ७२.७१ प्रतिशत बढेको भन्सार विभागले जनाएको छ । यसरी हेर्दै जाँदा मुलुकको अर्थतन्त्र गतिहीन बन्दै गइरहेको छ भन्नु पनि उपयुक्त नहोला । तर, हाम्रो देश स्वर्णभूमि नै हो भन्न हामीलाई केले रोकेको छ ? प्रत्यक्ष रूपमा एक थरी जनता किन गरिब हुँदै गइरहेका छन्, किन अर्का थरी जनता झन्भन्दा झन् धनी ।

हाम्रा समाजवादी प्रयास, हाम्रा वितरणका प्रणाली कहीँकतै बिग्रिएका त छैनन् ? नागरिकले सधैं यथास्थितिबाट गुज्रिनु भनेको पाकेको बालीले लहलहाउँदो खेतमा मुसा पल्केकै छ, उत्पादन बढेको छ, उत्पादकत्व पनि बढेकै छ । वितरणको त्रुटि न नेपाल राष्ट्र बैंकले, न योजना आयोगले संकेत गर्छ । न अर्थ मन्त्रालयको अनुसन्धान विभाग नै केही बोल्छ । द्वन्द्वकालमा देशैभर लुटिएका बहुमूल्य जिन्सी (गरगहना) र नगद नोटका बिटाको हिसाब–किताबबारे राज्यबाट कुनै खोजखबर नहुनुका पछाडि के–कति कारण छन्, त्यो पनि अद्यापि अन्धकारमै छ ।

अहिले द्वन्द्वको स्थिति पैदा गर्ने र द्वन्द्वमा संलग्न रहने दुवै सदनभित्र छन् । सिनेमा देखाउने गफ छाँटेर जनप्रतिनिधिको जिम्मेवारी पूरा गर्न दुवै मस्त छन् । आफ्नो जनाधार बिर्सेर राजनीति गर्ने कुनै पनि राजनीतिक दलको पुनरुत्थान सम्भवत: हुन असम्भवै होला । तर, समय व्यतीत भइसकेको छैन, तसर्थ जनतामा विश्वास बढाउन हिजो गरेका क्रियाकलापहरू यथेष्ट नहोलान् । यसका विरुद्ध नयाँ शक्तिहरूले जुध्न नयाँ शिरबाट जनमुखी कामको थालनी अपरिहार्य छ । हाम्रो राजनीतिक अडानमा कसैको प्रश्न उठ्न सक्तैन भन्नु गलत हो । दम्भ र हुंकारलाई चट्ट त्यागेर जनतामा जान सक्ने क्षमताको विकास नभएसम्म हाल सत्ता बाँडेर बसेका दलहरूको भविष्य संदिग्ध रहिरहने आम बुझाइ छ ।

अन्त्यमा, बाह्य स्रोत सृजना गरी सहयोग र समन्वयको बल प्रयोग गरी मुलुकलाई विश्वको पर्यटन मानचित्रमा सर्वोत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न नाट्टा तथा नाट्टासरहका तमाम पर्यटन सम्बद्ध संघसंस्थाहरूद्वारा गरिएका प्रयास नि:सन्देह हिजोभन्दा आज बढी प्रभावकारी र स्तुत्य ठहरिएको देखिन्छ । कुनै पनि ठूलो कार्यक्रम गर्दा ठूलै समस्या पैदा हुन्छन् । तिनको समाधान पहिल्याउँदै आफ्नो उद्देश्य परिपूर्तिका लागि अग्रसर हुनुलाई नै महानता भनिन्छ । बिआइटिएम सफलतापूर्वक सम्पन्न भएको छ । यसको श्रेय नाट्टा, पर्यटन बोर्ड, प्रायोजकहरू, पर्यटनप्रेमी र अत्यन्तै सामथ्र्यवान् नेतृत्वलाई जान्छ । सरकारले अहिलेको परिप्रेक्ष्यमा नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई थप जहाजको व्यवस्था मिलाइदिनुपर्छ । भएका विमानस्थललाई सुचारु रूपले व्यस्त राख्नुपर्छ र पर्यटक राजमार्गको स्तरीयता वृद्धि गर्दै जानुपर्छ । र, पर्यटकको आकर्षण बढाउन सरकारका तर्फबाट समुचित व्यवस्था मिलाउनुपर्छ । देशको आर्थिक विकासको प्रमुख सूचक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर बढाउनुपर्छ, जसबाट उत्पादन त बढ्छ नै, रोजगारीका अवसर पनि त्यसरी नै बढ्ने विषय निर्विवाद छ ।

प्रतिक्रिया दिनुहोस्