युवा तथा खेलकुद मन्त्रालयको बजेट ६ अर्ब ८ करोड

काठमाडौं- सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै खेलकुदतर्फको बजेटमा दोब्बरले वृद्धि गरेका हुन् ।
गत आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ५० करोड बजेट प्राप्त गरेको थियो । अर्थमन्त्री पौडेलले बजेटमा काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोईराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगथशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि ४२ करोड विनियोजन गरेका छन् भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुद आयोजनाका लागि ५४ करोड, राष्ट्रिय एण्टी डोपिङ एजेन्सी सञ्चालनका लागि आवश्यक बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सृजित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्थासमेत बजेटमा गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
उनले खेल क्षेत्रमा महिला सहभागिता अभिवृद्धिका लागि महिला लक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने बताए । उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था र प्रत्येक प्रदेशमा कम्तिमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालनका लागि बजेट बिनियोजन गरिएको अर्थमन्त्रीको भनाइ थियो ।