लाभग्राही सूचिबाट ४ हजारको नाम हटाइने

काभ्रेका ४ हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनर्निर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले काभ्रे जिल्लाका ४ हजार ३ सय ६६ परिवार सम्पर्कमा नआएपछि आवास पुनर्निर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको हो । हालसम्म आवास पुनर्निर्माणमा सूचीकृत जिल्लाको ८४ हजार ४ सय ७५ परिवारमध्ये चार हजार ३ सय ६६ परिवार सम्पर्कमा नआएको सूचना अधिकृत गणेश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार रोशी गाउँपालिकामा २७२, तेमालमा २२५, चौँरी देउरालीमा ३९९, भुम्लुमा २७१, खानीखोलामा ६२, बेथानचोक गाउँपालिकामा १३२, महाभारतमा ५२, बनेपा नगरपालिकामा ५०५, मण्डनदेउपुर नपामा ४६३, धुलिखेल नपामा ४००, पाँचखाल नपामा ५७३, पनौती नपामा ५०९ र नमोबुद्ध नपामा ५०१ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भूकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो । भूकम्पले क्षति पु-याएपछि प्राधिकरणमार्फत सर्भे भएका ९८ हजार १९ घरमध्ये ७६ हजार ६६१ परिवारले मात्रै आवास पुनर्निर्माण सम्झौता गरेका थिए ।
गत सोमबारसम्म ५९ हजार ९२० परिवारले दोस्रो किस्ता तथा ५० हजार ४१४ परिवारले तेस्रो किस्ताबापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ । कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेका आधारमा काभ्रेमा ६० प्रतिशत आवास पुनर्निर्माणको काम सकिएको जनाएको छ । विभिन्न चरणको गुनासोपछि हालसम्म जिल्लाका १ हजार ७१ जनाको नाम लाभग्राहीमा सूचीकृत भएको पूर्वाधार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कार्यालयमा हालसम्म स्वेच्छिकरूपमा ५२ जनाले आवास पुनर्निर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने संघसंस्थामार्फत आवास पुनर्निर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । संघसंस्थाको सहयोगमा आवास पुनर्निर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ ।
कपिल कोइराला