Logo

प्रभुले थप्यो एयरबस एच १२५ हेलिकोप्टर

काठमाडौं– प्रभु हेली लिमिटेडले फ्रान्सको विश्वविख्यात वायुयान निर्माता कम्पनी एयरबसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । प्रभु हेलीले कल साइन ९एन‑एएनटी रहेको एयरबसको एच १२५ हेलिकोप्टर थपेको हो ।

एयरबसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दाे र प्रभावकारी सेवा पुर्‍याउन उत्कृष्ट भएकाले सो हेलिकोप्टर खरिद गरिएको कम्पनीका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए । अत्याधुनिक प्रविधि जडित एच १२५(एएस ३५०बी३ ई) हेलिकोप्टर पाँच यात्रु सिट क्षमताको छ ।

एयरबस एच १२५ हेलिकोप्टर हाइअल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर बहुउपयोगी र सुरक्षित हेलिकोप्टरको रूपमा परिचित रहेको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ हेलिकोप्टरबाट पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यका लागि नियामक मापदण्डभित्र रहेर सेवा सञ्चालन गरिने जनाएको छ ।

आवश्यक प्रशासनिक र प्राविधिक प्रक्रियापछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीको एओसीमा नयाँ हेलिकोप्टर थप गरी व्यावसायिक उडानका लागि अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । २०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलिले तत्कालीन मुक्तिनाथ हेलिकोप्टरलाई १० बर्ष अगाडि अधिग्रहण गरेको थियो ।

एउटा रोबिन्सन हेलिकोप्टरबाट सेवा सुरु गरेको प्रभु हेलीले चार वटा रोबिन्सन हेलिकोप्टर थपेर सेवा उपलब्ध गराएको थियो । कम्पनीले पाँच वर्षअघि पहिलो एयरबस हेलिकोप्टर भित्र्याएको थियो । नयाँ हेलिकोप्टर भित्र्याएसँगै कम्पनीसँग दुई वटा एयरबस एच १२५ हेलिकोप्टर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्