खरबुजाका लागि भारतकै भर

झापा– नेपालमा व्यवसायिकरुपमा खेती हुन थालेपनि नेपालले खरबुजाका लागिसमेत भारतकै भर पर्नुपरेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को दस महिनामा नेपालको पूर्वी नाका काँकडभिट्टा नाका भएर साढे ४ करोड रुपैयाँ भन्दा बढीको १७ लाख किलो खरबुजा आयात भएको छ ।
सो नाका भएर चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाखसम्म ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्ष चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि वैशाखसम्म ४ करोड ६१ लाख ३४ हजार बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा आयात हुँदा ८९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी हुमागाईँले बताए । वैशाखमा २ लाख ५२ हजार ६५० केजी खरबुजा आयात हुँदा १२ लाख ५९ हजार राजस्व संकलन भएको छ । साउनमा २ लाख ३० हजार ८५० केजी खरबुजा नेपालले आयात गर्दा ११ लाख ७७ हजार राजस्व असुली भएको छ ।
यस्तै भदौमा एक लाख ८६ हजार १४० केजी खरबुजा आयात हुँदा ९ लाख ६४ हजार राजस्व संकलन गरेको उनले जानकारी दिए । त्यस्तै चैतमा ५ लाख १० हजार २३० केजी खरबुजा आयात हुँदा २५ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्दै उनले फागुनमा एक लाख ७३ हजार ७८० केजी खरबुजा आयात गर्दा ८ लाख ६६ हजार राजस्व संकलन भएको बताइएको छ ।
त्यस्तै माघमा ८५ हजार ७१० केजी खरबुजा आयात गर्दा ४ लाख ३७ हजार राजस्व संकलन गरेको उनको भनाइ छ । पुसमा ४७ हजार २६० केजी खरबुजा आयात हुँदा २ लाख ५४ हजार राजस्व संकलन भएको छ । त्यसैगरी सो नाका भएर मंसिरमा ५५ हजार ७८० केजी, कात्तिकमा ८१ हजार २४० केजी र असोजमा १४ लाख १४ हजार ५० केजी खरबुजा आयात भएको उनले जानकारी दिए ।
खासगरी, झापाका मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगर खेतमा किसानले खरबुजा फलाउने गरेपनि फलफूलको रुपमा प्रयोग गर्ने खरबुजाका लागिसमेत नेपाल आत्मनिर्भर बन्न नसकेको कृषि विज्ञ रामदेव मण्डलले बताए । स्थानीयले व्यावसायिक रूपमा खरबुजा खेती गर्दै आए पनि भारतबाट हरेक महिना यसको आयातमा वृद्धि हुँदै गएको उनको भनाइ छ । कुनै समय नेपाली बजारमा भारतबाटै आएको खरबुजाको व्यापार हुने गरेको र अहिले आयातसँगै स्वदेशी उत्पादनले समेत बजारको माग धान्न नसकेपछि आयात वृद्धि हुन पुगेको उनी बताउँछन् ।
बलौटे माटोमा राम्रो फल्ने भएकाले बगर खेती खरबुजाका लागि निकै उपयोगी देखिएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनले आर्थिक वर्ष २०८०/०८१ मा झापाको ३५० हेक्टर क्षेत्रफलमा १० हजार ५३७ मेट्रिक टन खरबुजा उत्पादन भएको बताए । पछिल्लो समय खरबुजाको व्यावसायिक खेती सुरु भएपनि खरबुजाको लागि भारतकै भर पर्नु परेको उनको भनाइ छ । चैतको अन्तिम सातादेखि पाक्न थालेको खरबुजा वैशाख र जेठभरिमा बिक्री भइसक्ने कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी भण्डारीले बताए ।