Logo

२५ लाखमा हाते कागज उद्योग सञ्चालन

म्याग्दी– मालिका गाउँपालिका– ६ दरबाङका मोतीराज गौतमले २५ लाख रुपैयाँको लगानीमा नेपाली हाते कागज उद्योग सञ्चालन गरेका छन् । स्थानीय वन जंगलमा पाइने कच्चा पदार्थको सदुपयोग गर्ने उद्देश्यले उनले हाते कागज उद्योग सञ्चालन गरेका हुन् । २०७० सालमा मालिका गाउँपालिका–३ अदिभारामा सामूहिक रूपमा उद्योग सञ्चालन गरिएको थियो ।

केही वर्षदेखि बन्द भएको उद्योगलाई २०७६ सालदेखि गौतमले एकल स्वामित्वमा निरन्तरता दिइरहेका छन् । मालिका कागज उद्योग दर्ता गरेर जंगलमा खेर गएको लोक्ताबाट बनाइने नेपाली कागज आजकल सरकारी कामकाजका लागि प्रयोगमा आउन थालेको छ । पछिल्लो समय हाते कागज मागअनुसार उत्पादन गरिदै आएको गौतमले बताए । उद्योगमा चार जना कामदार रहेको उनले बताए ।

परम्परागत सिप र प्रविधिमा आधारित कागज उद्योग सञ्चालन गरेर गौतमले वार्षिक रूपमा १५ देखि २५ लाख रुपैयाँसम्मको कागज बिक्री गर्दै आएका छन् । गत कात्तिकमा शिक्षण पेसाबाट अवकाश लिएर गौतमले मालिका गाउँपालिका– ५ स्थित थापाचौरमा पाँच रोपनी जमिन भाडामा लिएर उद्योग सञ्चालन गर्दै आइरहेका छन् । बिहानदेखि बेलुकासम्म मोतीराज र उनको पत्नि ताराकुमारी गौतम कागज उद्योगमा काम गर्ने गर्छन् ।

‘लामो समय शिक्षण पेसामा बिताइयो । आफ्नै गाउँ घरमा केही न केही उद्योग सञ्चालन गरौं भन्ने लाग्यो । यसअघि सामुहिक रूपमा सञ्चालन गरेको कागज उद्योग केही वर्ष पहिलादेखि बन्द थियो । उद्योगले तिर्नुपर्ने सात लाख रुपैयाँ ऋण आफैँले भुक्तानी गरेर अहिले एकल रूपमा पुन: उद्योग सञ्चालन गरेको छु’ उनले भने ।

अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत आपूर्तिमा अनियमितता र बजारदेखि टाढा भएकाले थापाचौरमा स्थानान्तरण गरेको उद्योगका सञ्चालक गौतमले बताए । ‘आठ महिना यता उद्योगले पुन: व्यावसायिक उत्पादन सुरु गरेको छ । यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन । कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा चुनौती छ,’ उनले भने ।

कागजको माग उच्च छ । ‘दिनभर दुई जनाले काम गर्दा पाँच सयदेखि सात सय प्रतिपेपर उत्पादन गर्न सकेका छौं ।’ फ्रेममा लेदो राखेर चारदेखि पाँच घण्टा घाममा सुकाएपछि कागज तयार हुने उनले बताए । रंगिन कागजको पनि उत्पादन सुरू गरेका उनको भनाइ छ । २० ग्रामको कागज कार्यालय प्रयोजनका लागि र ७ ग्रामको बाटेको धूप बनाउनका लागि माग आउने गरेको उनले बताए ।

चिना लेख्ने कामका लागि प्रयोग हुने ४० ग्रामको कागज उत्पादन गरिरहेको उनको भनाइ छ । उत्पादन गर्न सकेमा वार्षिक रूपमा १५ देखि २५ लाख रुपैयाँसम्मको कागज बिक्री हुने उद्योग सञ्चालक गौतमले बताए । कागज उद्योगमा अहिले ६ सय वटा फ्रेम छन् । आकासबाट पानी आउँदा कागज सुकाउन दुई वटा प्लास्टिक टनेल निर्माण गरेको उनले बताए ।

उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसरकारी कार्यालयमा प्रयोग हुने कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्ने सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको उनले जानकारी दिए । उत्पादन भएको कागज बेनीसँगै म्याग्दीका स्थानीय तह, बागलुङ, पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको गौतम बताउँछन् ।

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मत सम्भार, विद्युतबाट लोक्ता कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ पकाउँदा हिटरको रड बढी जल्ने जस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ ।

उद्योगमा हाल बोयल मेसिन, कटर, बिटर मेसिन र लोक्ता पकाउने मेसिन रहेको र भविष्यमा उद्योगलाई आवश्यक पर्ने अन्य मेसिनहरू थप्ने योजना रहेको उनले बताए । म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त लोक्ताका बोट छन् । लोक्ता पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनंगलमै खेर जाने गरेको छ ।

स्थानीय स्तरमा सञ्चालित साना उद्योगहरूको स्तरीकरणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए । चालु वर्षमा उक्त कागज उद्योगको स्तरीकरणका लागि साढे दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको उनले बताए । वनजंगलबाट कच्चा पदार्थ ल्याउन र उत्पादित कागज बजारमा पठाउन कानुनी रूपमा प्रक्रिया झन्झटिलो रहेकोमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्