कोरोनाबाट सुरक्षित रहन एनआरएनएको आह्वान «

कोरोनाबाट सुरक्षित रहन एनआरएनएको आह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नोवल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन आह्वान गरेको छ । केही समययता चीनको उहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले अन्तरराष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको जनाउँदै एनआरएनएले सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको हो ।
यो भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ । संघले यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको साथै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना समेत गरेको छ । साथै यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गरेको छ ।
“प्रकोपका कारणले चीनको उहान प्रान्तमा रहेका नेपालीहरुको उद्धारको चुनौति आएको छ,” जारी विज्ञप्तिमा भनिएको छ “गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्गसँगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको छ ।”
संघका अध्यक्षले सक्दो सहयोगका लागि संबन्धित सबै पक्षलाई अपिल समेत गरिसकेको जनाएका छन । संघको स्वास्थ्य सम्बन्धी समितिले कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको छ । यस प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको छ । नेपाल जस्तो कम साधन श्रोत सम्पन्न मुलुकलाई यसले चुनौति थपि दिएको छ ।यस्तो अन्तरराष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र संपूर्ण मानव जाति ऐकबद्ध भई लाग्नु पर्ने एनआरएनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्