प्रधानमन्त्रीको अभिव्यक्तिको बचाऊमा गृहमन्त्री
भिजिट भिसा प्रकरणमा कुनै संलग्नता नरहेको गृहमन्त्रीकाे दाबी

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।
गृहमन्त्री लेखकले आफूलाई संलग्नता देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको दाबी गरे । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढंगले आक्रमण गरिएको जिकिर गरे । गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गरे । उनले आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको समेत बताए ।
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेपेका छन् । उनले मंगलबार र बुधबारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन् ।
यस्तै, गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गरे । उनले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा संगीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताए । उनले गणतन्त्र दिवसलाई उत्साह र संगीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताए ।
गृहमन्त्री लेखकले परम्परागत बाजा तथा सांगीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई सांगीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिएको दाबी गरे । उनले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सांगीतमय नियन्त्रणको कुरा गरेको जिकिर गरे । उनले राजावादीहरूले बिहीबार काठमाडौंमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिहरू सैह्य नहुने चेतावनी दिए ।