प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगन

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न साढे १ बजे बस्नेगरी स्थगन भएको छ । संघीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहीबार दिनको साढे १ बजे बस्ने गरी तय भएको जनाएको छ ।
बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी बुधबार पुन: साढे ३ बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो ।