कामीरिता ३१औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं– कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) आरोहण गरेका छन् । शेर्पाले वसन्तयामको जारी सिजनमा मंगलबार बिहान ४ बजे आफैंले बनाएको ३०औं पटकको कीर्तिमान तोड्दै ३१औं पटक सगरमाथाको आरोहण पूरा गरेका हुन् ।
कामीरिताले भारतीय सेनाको २६ समूहलाई नेतृत्व गर्दै मंगलबार विहान ४ बजे सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कामय गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कारोबारलाई बताए । उनले भने, ‘५५ वर्षीया कामीरिताले सन् १९९४ देखि २०२५ सम्म ३१ पटक सगरमाथाको सफल आरोहण पूरा गरेका छन् ।’ पछिल्लो समय पर्वतारोहणसम्बन्धी कम्पनीमा काम गर्दै आएका शेर्पाले सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा भरियाको रूपमा पर्वतारोहण यात्रा सुरु गरेका थिए ।
शेर्पाले यसअघि २०७८ वैशाख २४ मा २५औं पटक सफल आरोहण गरेर सबैभन्दा बढी सगरमाथा आरोहणको विश्व कीर्तिमानी रेकर्डलाई उनैले तोडेका थिए । ५५ वर्षीया कामीरीताले सन् १९९४ देखि २०२५ सम्म ३१ पटक सगरमाथा, के–२ र ल्होत्सेले एक–एक पटक, मनास्लु तीन पटक र चो ओयु आठ पटक आरोहण पुरा गरेका छन् ।
२०८१ को वसन्तयाममा विदेशी समूहको नेतृत्व गर्दै (वरिष्ठ हाई अल्टिच्युड माउन्टेन गाइड)का रूपमा २९ र ३०औं पटक सगरमाथा आरोहण गरेका थिए । मिग्मा शेर्पाका अनुसार कामीरिताले जारी सिजनमा सेभेन समिट र फोर्टिनपिक एक्सपिडिसन गरी दुई कम्पनीका सगरमाथा आरोहीको संयोजन तथा नेतृत्व जिम्मेवारी सम्हालेका थिए ।
पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार नयाँ कीर्तिमान बनाएका शेर्पाको आधिकारिक पुष्टि हुन भने बाँकी छ । उनले भने, ‘विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आए पनि आधिकारिक पुष्टि गर्न बाँकी छ । थप जानकारी प्राप्त हुनासाथ विभागले प्रेस विज्ञप्ति जारी गर्ने जनाएको छ ।’ १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत छ ।
सन् २०२० मै २५औं पटकको आरोहण तयारी गरे पनि कोरोना संक्रमणलाई ध्यानमा राख्दै सरकारले गरेको बन्दाबन्दीका कारण उनले कीर्तिमान सन् २०२१ मा पूरा गरेका थिए । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए ।
सन् २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीनपटकसम्म सगरमाथाको शिखर टेकेका थिए । सोलुखुम्बुको थामेका स्थानीय बासिन्दा शेर्पाको २ जनवरी १९७० मा जन्मिएका थिए । सगरमाथाको काखमा हुर्केका शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित छ । उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन् ।