चिनियाँ पाहुना बोलाउन गोरेटो मर्मत गर्दै बिगु

दोलखा– चीनसँग सीमाना जोडिएको दोलखाको बिगु गाउँपालिकाले चिनियाँ पाहुनालाई स्थलगत रुपमा बोलाउन गोरेटो मर्मत सुरु गरेको छ । सीमा नजिकसम्म निजी क्षेत्रका जलविद्युत् आयोजनाले सडक ट्रयाक खोलेसँगै आउजाउका लागि पालिकाले वरपरका क्षेत्रमा गोरेटो बनाउन थालेको हो ।
नेपाल–चीन सिमानाको ६० र ६१ नं. पिलर ङयाङलुङमा पर्छ । यसको करिब डेढ किलोमिटर नजिकसम्म नेपालतिरबाट केही समयअघि सडक ट्रयाक खुलेको छ । त्यहाँदेखि सिमानासम्मको डेढ किलोमिटर गोरेटो परम्परागत भए पनि वर्षौंदेखि आउजाउ नहुँदा बिग्रेको छ । अहिले त्यहाँ सातादेखि मर्मत थालिएको बिगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले जानकारी दिए ।
बिगु गाउँपालिका–१ को ङयाङलुङ र लप्चीबाट चीनसँग जोडिने दुई नाका छन् । लप्ची त्यहाँका स्थानीय तिब्बतको बजारमा आवतजावत गर्ने नाका हो भने ङयाङलुङ २०२२ मा तातोपानी खुल्नुअघि काठमाडौं र तिब्बतको परम्परागत नाका हो । चिनियाँ पक्षले नेपालसँगको १४ वटा नाका खोल्दा एक वर्षअघि ङयाङलुङबाट रोङसिया खुला गरेको छ । रोङसिया सिमानाबाट केही माथि पर्छ ।
सिगात्सेको रोङसियामा चिनियाँ पक्षले पूर्वाधार तयार गरेको छ । सिमानाको एक किलोमिटर नजिकसम्म पक्की सडक तयार गरेको छ । दुई महिनाअघि दुवै देशका स्थानीय जिल्लाको सीमा बैठक रोङसियामा भएको थियो । नेपालका तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, बिगु पालिका अध्यक्ष ओलीसहित सुरक्षा प्रमुख यही नाका हुँदै पहिलो पटक रोङसिया पुगेका हुन् ।
अहिले चिनियाँ पक्षका स्थानीय प्रशासनिक टोलीले पनि आउने इच्छा गरेको अध्यक्ष ओली बताउँछन् । उनीहरू आउन सहज होस् भनेरै गोरेटो मर्मत गरिरहेको उनको भनाइ छ । लामाबगरबाट नादिङसम्म आठ किलोमिटर सडक यात्रा गरेपछि पूर्वतर्फ तामाकोसी नदी तरेर जुम खोलातर्फ जानुपर्छ । खराने खोला र तामाकोसीमा केही दिनअघि बेलीब्रिज उद्घाटनपछि गाडी सञ्चालनमा आइसकेको छ ।
फेरि तामाकोसी तरेर दायाँतर्फ जान पुल बन्न बाँकी रहेकाले यहाँसम्म पैदल यात्रा गर्नुपर्छ । जुमखोला जलविद्युत् आयोजनाले गत हिउँदमा आवतजावत गर्न काठेसाँघु हाले पनि केही दिनअघिको वर्षापछिको बाढीले बगाएकाले यहाँ फेरि साँघु हाल्न लागिएको अध्यक्ष ओलीले जानकारी दिए । यहाँ बाटो मर्मतपछि चिनियाँ पाहुनालाई निम्तो गरिने उनले बताए ।
लामाबगर नाका खुले के हुन्छ फाइदा
लामाबगर–रोङसिया नाका खुलेपछि तत्कालका लागि पनि व्यापारिक फाइदा भने हुने देखिन्न । स्थानीयबासी सिमानाबाट तोकिएको क्षेत्रसम्म आउजाउ मात्रै गर्न सक्छन् । लामाबगरमा अध्यागमन कार्यालय राखेर भिसा दर्ता गर्न मिल्ने व्यवस्था गरेर पूर्वाधार तयार गरिए तिब्बत भ्रमण आउने वार्षिक २० करोड चिनियाँ पर्यटकमध्ये केहीलाई नेपाल घुमाउन सकिने चिनीया मामिलाका जानकार तथा व्यवसायी शोभित उप्रेतीले बताए ।
‘तिब्बतमा धेरै मान्छे छैनन् । तिब्बतीयन भ्रमणमा आएर फाइदा छैन,’ उनले भने, ‘धेरै जनसंख्या भएको चीनबाट तिब्बत भ्रमणमा वार्षिक २० करोड चिनियाँ आउँछन् । उनीहरूलाई लक्षित गरी काम गर्न सके लामाबगर नाकाबाट चिनियाँ पर्यटक भित्र्याउन सकिन्छ ।’
व्यापारिक रुपमा चिनियाँले केरुङलाई लक्षित गरेर पूर्वाधार तयार गरेकाले लामाबगरमा पूर्वाधारसमेत नहुँदा महँगो पर्ने उनको भनाइ छ । सिमानाको डेढ किलोमिटर नजिक जुमखोला जलविद्युत् आयोजनाको सानिमा हाइड्रोपावरले हेडवक्र्ससम्म सडक ट्रयाक खोलेको छ । अब ढेड किलोमिटर सडक निर्माण गर्न सके सडक मार्गबाट सीधै आउजाउ गर्न सकिन्छ ।