Logo

गार्मेन्ट उद्योगबाट आत्मनिर्भर बन्दै महिला

दाङ– पछिल्लो समय महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । राप्ती गाउँपालिका–८ पिपरी निवासी केशरा गुरुङ सामान्य गृहिणी महिला हुन् । बिहान बेलुका घरको काम गर्ने गुरुङको दिउँसो समय फुर्सदमै बित्ने गरेको थियो । त्यही खाली समयलाई सदुपयोग गर्दै गुरुङले अहिले पिपरीमा गार्मेन्ट उद्योग सञ्चालन ल्याएकी छन् ।

आफू जस्तै दस जना महिलासँग मिलेर दुई वर्ष अघिदेखि पिपरीमा राप्ती महिला उद्यमी गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएकी गुरुङले उद्योगबाट महिनामा डेढदेखि दुई लाखसम्मको कारोबार गर्ने गरेको बताइन् । एक्लै व्यवसाय सञ्चालन गर्न आर्थिक अभावसँगै बजारको ज्ञान नहुँदा दिदीबहिनीसँग मिलेर व्यवसाय सञ्चालन गरेको सञ्चालक गुरुङले बताइन् । उनले भनिन्, ‘घरको कामपछि दिन भर केही काम थिएन, साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट उद्योग सञ्चालन गरेका हौं ।’

सिलाई कटाईको कामसँगै विद्यालयका लागि ट्राउजर, टिसर्ट र जर्सीलगायतका सिलाउने काम गर्ने गरेको उनले बताइन् । महिलाले मात्र सञ्चालन गरेको उद्योगमा सिलाई सम्बन्धी सम्पूर्ण काम उनीहरुले नै गर्दै आएका छन् । गार्मेन्ट उद्योग सञ्चालनका लागि सिलाइ कटाई सम्बन्धी तालिमसँगै मेसिन वडा कार्यालयले सहयोग गरेको उनले बताइन् । उद्योग सञ्चालनका लागि वडा कार्यालयबाट चार वटा सिलाईका लागि आवश्यक पर्ने विभिन्न मेसिन सहयोग भएपछि उद्योग सञ्चालन गरेको उनले बताइन् ।

वडा कार्यालयले मेसिन सहयोग गरेपछि उनीहरुले प्रति व्यक्ति १० हजारका दरले पैसा जम्मा गरेर एक लाख पुँजीबाट सो व्यवसाय सुरु गरेका हुन् । सिलाई कटाई सम्बन्धी आधारभूत ज्ञान पहिले रहेको र गार्मेन्ट सम्बन्धी तालिम भने गाउँपालिकाले दिएको उनको भनाइ छ । सुरुमा कसैले विश्वास नगर्दा उद्योग सञ्चालन गरेको कोठा भाडा तिर्ने पैसासमेत उठाउन धौ धौ भएको उद्योगकी कोषाध्यक्ष समेत रहेकी गुरुङ बताउँछिन् ।

उनले भनिन्, ‘सुरुमा केहीले त हामीलाई रमाइलो गर्न मात्र थालेको भने, आज ती नै कपडा सिलाउन आउँछन् । हिजो नपत्याउनेले आज विश्वास गर्दा खुसी लागेको छ ।’ उद्योग सञ्चालन गरेबापत उनीहरु मासिक दस हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । महिला दिदीबहिनीहरु मिलेर सामुहिक रुपमा काम गर्दा सीपको आदान प्रदानसँगै उद्योग सञ्चालनमा सहजता भएको अर्की सञ्चालक उत्तम चौधरी बताइन् ।

उनका अनुसार बिरामी वा अन्य घरको काम गर्दा उद्योगमा दुई–चार दिन नआएपनि अन्य समयमा घरको काम गरेर प्राय सबै आउने गरेको बताइन् । दुई वर्षदेखि नियमित रुपमा उद्योग सञ्चालन भएपछि दाङसहित प्युठानबाट समेत स्कुलका कपडा सिलाउनका लागि अर्डर आउने गरेको समूहको भनाइ छ । उद्योग सञ्चालकहरुले पनि मासिक १५ देखि २० हजारसम्म तलब लिने गरेका छन् । गार्मेन्टका लागि आवश्यक सामग्री बुटबलबाट ल्याएर दाङमा व्यवसाय गरिरहेको उनीहरुको भनाइ छ ।

उद्योग सञ्चालन गर्नेमा केशरा, उत्तमसँगै छवि गुरुङ, सुमित्रा गुरुङ, सीमा चौधरी, मिना चौधरी, हेमकला रोका, कल्पना पुन, प्रतीक्षा विक र अनु श्रेष्ठ रहेका छन् । महिलाहरुले सिलाउनेदेखि बजार व्यवस्थापनसम्मको सम्पूर्ण काम आफैं गरेर पालिकामा नमूना काम गरेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्