कृषिजन्य वस्तु निर्यात गर्न चिनियाँ बजार उपयुक्त

पोखरा– पोखराबाट कृषिजन्य उत्पादनहरू निर्यातका लागि चिनियाँ बजार उपयुक्त रहेको चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको टोलीले बताएको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमानमार्फत पोखरा आएको उक्त टोलीले मेयर धनराज आचार्यलाई भेटी उक्त कुरा बताएको हो । त्यसको वास्तविकता अध्ययन तथा आवश्यक प्रक्रियामा सहजीकरणका लागि समिति गठनको प्रस्ताव गरिएको मेयर आचार्यले बताए ।
छलफलका क्रममा मेयर आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात हुन सक्ने वस्तुहरूको सम्भाव्यता अध्ययनका लागि प्रतिनिधिमूलक अध्ययन समिति गठनको प्रस्ताव गरेका छन् । पोखरामा होटल, उद्योग, पर्यटन तथा कृषिका विभिन्न क्षेत्रहरूमा लगानीको सम्भावना रहेको स्मरण गराउँदै नगरप्रमुख आचार्यले चिनियाँ उद्योगी व्यवसायीहरूलाई लगानीका लागि आह्वान गरे । पोखरा महानगरपालिकाले चीनका विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम गर्दै सांस्कृतिक आदान–प्रदान, शिक्षा, स्वास्थ्य, प्रविधि, पूर्वाधार विकास र रोजगारी सिर्जना हुने गतिविधिहरूमा साझेदारीका लागि तत्पर रहेको उनले बताए ।
पर्यटन राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानमार्फत चीनका सहरहरूमा पर्यटन आदानप्रदानमा विशेष पहल गर्न मेयर आचार्यले आग्रह गरे । सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बाले नेपाल चीन सीमाका १४ वटा नाकाहरू सञ्चालनका लागि आफ्नो क्षेत्रमा आवश्यक पूर्वाधार तयार गरिसकेको उल्लेख गर्दै नेपाल र नेपालीका लागि भिसा प्रक्रियालाई सहज बनाउन सम्बन्धित निकायमा पहल गर्ने बताए ।
नेपाल र चीन सम्बन्ध हिमालयको सभ्यतामा आधारित र निकै गहिरो रहेको उल्लेख गर्दै उनले सन २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीन सम्बन्ध थप प्रगाढ भएको दाबी गरे । पोखरा प्राकृतिक रूपमा आफूलाई निकै सुन्दर लागेको बताएका डान बाले पोखरासँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । नेपालको व्यापार घाटालाई कम गर्नका लागि पोखराबाट निर्यात हुनसक्ने कृषिजन्य उत्पादनहरू चिनियाँ बजारले लिन सक्ने उनको भनाइ थियो । त्यसको प्राथमिकता निर्धारण गरी सहकार्य गर्न सकिने बताउँदै उनले नेपाल र चीनबीचमा व्यापारको नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
टोलीमा स्वायत्त जनसरकारका उपसचिव गाओ बाओजुन, ल्हासा भन्सार कार्यालयका कमिसनर वाङ् होनघान, व्यापार विभाग स्वायत्त प्रदेशका उपनिर्देशक योय गाउओई, अन्तर्राष्ट्रिय व्यापार विभाग स्वायत्त प्रदेशका अनुसन्धान अधिकृत गेसाङ लेङिज, अन्तर्राष्ट्रिय सूचना विभाग स्वायत्त प्रदेशका प्रतिनिधि जेन हाईहेङलगायतको सहभागिता रहेको थियो । पोखरा महानगरबाट नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, सूचना अधिकारी कृष्णप्रसाद तिवारी, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग अधिकृत सुवास ढुंगनालगायतको सहभागिता रहेको थियो ।