अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक जयन्तीमा विभिन्न कार्यक्रम

पोखरा– अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५औं वर्षगाँठ हिरक जयन्तीको अवसरमा कास्कीमा विभिन्न कार्यक्रम हुने भएका छन् । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा विभिन्न कार्यक्रम हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ औं हिरक जयन्तीको (१९५०–२०२५) विविध कार्यक्रमसहित यस बर्ष मौरिस हजोग र लुइस लाचेनलको स्मृतिमा विभिन्न कार्यक्रम हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराज लामिछानेले बताए । १२ देशका राजदूत एवं प्रतिनिधिलाई पोखरा हुँदै कास्कीको नारच्याङमा यही जेठ २० गते हुने कार्यक्रमा सहभागी गराइने भएको छ ।
उक्त टोलीलाई जेठ १९ गते पोखरामा भ्रमण गराए पश्चात नारच्याङ हुँदै पुन: हिलसम्म पुर्याउने भएको उनले जनाए । उत्तर र दक्षिण दुई वटा क्षेत्रमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्षदेखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्षदेखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक म्याराथन आयोजना हुने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतबहादुर पुनले बताए ।
दुवै म्याराथन एकै समयमा मौरिस हर्जीगले अन्नपूर्ण हिमाल आरोहणको दिन जुन २३ मा हुने भएको उनले बताए । अन्नपूर्ण साउथ बेस क्याम्पबाट हुने म्याराथन सन् २०१७ देखि नियमित हुँदै आएकोमा यस वर्ष १० विदेशी धावकसहित ८० भन्दा बढी सहभागी हुने भएको प्रतियोगिताका संयोजक ललित गुरुङले बताए । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुक, कास्कीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । उत्तरी भेगबाट हुने म्याराथनमा अन्नपूर्ण गाउँपालिकाका ८ वटा वडाका करिब ५० धावकहरुको सहभागिता हुने भएको हो ।
सन् १९५० जुन ३ मा विश्वकै पहिलो आठ हजार मिटर भन्दा अग्लो हिमालको रूपमा प्रथम अन्नपूर्ण ९,८०९ मिटरको सफल आरोहण गरेका फ्रेन्सका मौरिस हरर्जीग र लुइस लाचेनल तथा नेपाली सहयोगी आङ थार्के शेर्पाको टोलीले बिना अक्सिजन ऐतिहासिक कठिनाइका बीच सम्पन्न गरेका थिए । यही गौरवपूर्ण दिनको सम्झनामा प्रत्येक वर्ष जुन ३ मा ‘अन्नपूर्ण आरोहण दिवस’ मनाउने परम्परा रहेकाले यस वर्ष अन्नपूर्ण आधार शिविर नजिकै सो क्षेत्रमै पुगेर मनाउने तयारी गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय सहभागी, विशेषगरी फ्रान्सेली प्रतिनिधिमण्डलको विशेष उपस्थिति हुने गरी भव्य तयारी गरिएको उनले जनाए । मौरिस हरजोगका छोरा मथियस हर्जीग र नाति ईथान हर्जीगसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको अध्यक्ष आचार्यले जनाए ।
नारच्याङ–अन्नपूर्ण उत्तर आधार शिविर पदयात्रा यही जेठ १७–१९) गतेसम्म हुने भएको छ भने १९५० मा आरोहण प्रारम्भ भएको मार्ग हुँदै नारच्याङदेखि अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा हुने भएको हो । फ्रान्सेली सांगीतिक प्रस्तुतिहरू समेत हुने भएको छ । पदयात्रा स्थलहरू र पोखरामा फ्रान्सेली सांगीतिक टोलीको सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया र प्रदर्शनी कार्यक्रम आयोजना गरिने भएको छ । मौरीस हरजोग र लुइस लाचेनलको शालिक अनावरण प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २० गर्ने कार्यक्रम छ ।
सन १९५० मा म्याग्दीको नारच्याङ हुँदै हुमखोला र भुकेट मेलाको गोठालो बाटो हुँदै प्रारम्भ गरिएको अन्नपूर्ण आरोहणको ऐतिहासिक मार्ग आज पनि मुख्य पदमार्गका रूपमा लोकप्रिय रहेको अध्यक्ष पुनले स्मरण गरे । उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, स्थानीय पर्यटन व्यवसायी, सञ्चारकर्मी, पर्वतारोहण क्षेत्रका विज्ञ, र अन्तर्राष्ट्रिय प्रतिनिधिको सहकार्यमा कार्यक्रम हुने भएको हो । अन्नपूर्ण प्रथम आरोहणमा प्रयोग गरिएका सामग्रीलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्र्रहालयलाई हस्तान्तरण गरिने छ भने आरोहण सम्बन्धी फोटोसमेत प्रदर्शनी हुने बताइएको छ ।