गच्छदारमाथिको भ्रष्टाचार मुद्दा पूर्वाग्रही : देउवा «

गच्छदारमाथिको भ्रष्टाचार मुद्दा पूर्वाग्रही : देउवा

रामेछाप-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका छन् ।
शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको शव वाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै देउवाले अरु सबै उम्कने तर एक जनामाथि मात्रै भ्रष्टाचारको मुद्दा चलाउनु सरकारको गलत नियत भएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई चेतावनी समेत दिएका छन् । उनले पार्टीका उपनेता गच्छदारमाथि षड्यन्त्रपुर्ण र अन्यायपूर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन केपी ओली नेतृत्वको सरकारलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउनु कांग्रेसका लागि मान्य नहुने बताए ।
तत्कालिन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रीमण्डलले नीतिगत निर्णय गर्ने र नेकपा महासचिव पौडेलको सिरानीमुनी छोराको नाममा सरकारी जग्गाको लालपुर्जा भेटिने तर भ्रष्टाचार मुद्दा चाहिँ गच्छदारलाई मात्रै लगाउनुमा अहिलेको सरकारको नियत गलत भएको उनको भनाइ छ ।
शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानका सदस्य एवं कांग्रेस नेता पूर्ण बहादुर तामाङले रामेछापमा पटक–पटक गरी १४ वटा एम्बुलेन्स र एउटा शव वाहन आफ्नो व्यक्तिगत खर्चमा वितरण गरिसकेका छन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेता तामाङले आफू पराजित भए पनि चुनावी अभियानमा गाउँमा जाँदा बोलेका बाचा पूरा गर्दै गएको र आगामी दिनमा पनि जिल्लामा आपत पर्दा सहयोग गर्ने उनले बताए । समाजसेवी तामाङले मन्थली नगरपालिकालाई एउटा शव वाहन, दोरम्बाको लखनपुर थापाडाँडाका लागि एउटा, गागल–पिङ्खुरी–पुरानागाउँ–चनखु का लागि एउटा, गोकुलगंगाको फर्पुका लागि एउटा र मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालका लागि एउटा एम्बुलेन्स र मन्थली नगरपालिकाको लागि एउटा शव वाहन उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्