Logo

प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलको अवरोध, आधा घण्टालाई स्थगित

काठमाडौं- विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बुधबारको बैठकमा आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनसाथ गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

बुधबार पनि संसद्का विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ । तर, बुधबारको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख घिमिरेले बुधबारको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका थिए । सभामुखले बसेर बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गर्दै आएका छन् । उनले दलीय आधारमा बोल्न समय दिने बताइरहेका छन् । विपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । मंगलबार पनि विपक्षी दलका सांसदले गृहमन्त्री लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्