भारतसंग पनि अमेरिकी व्यापारयुद्धको आशंका

नयाँ दिल्ली-अमेरिकाले हालै मात्र स्टिल तथा आल्मुनियमको आयातमा भन्सार बढाएको छ । यो अवस्थामा भारतले स्थानीय उद्योगलाई सुरक्षित गर्न आफ्नो कानुनको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गरिरहेको छ । अमेरिकाले आफ्नो व्यापारघाटा कम गर्न यस किसिमको कदम उठाइरहेको छ । भारतबाट हुने आयातमा अमेरिकाले भन्सार बढाउन सक्ने भएकाले हाल भारतको कठिनाइमा पनि वृद्धि भएको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत् भनेका थिए, “जब अमेरिकाले प्रत्येक मुलुकसँग आफ्नो व्यापारमा अर्बौ डलरको घाटा बेहोरिरहेको छ भने यस्तो अवस्थामा व्यापारयुद्ध राम्रो हो ।”
भारतका एक सरकारी अधिकारीले भनेका छन्, भारतले यस किसिमको कदम विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमअनुसार छ कि छैन भनेर हेर्नेछ । उनले भनेका छन्, “हामी कानुनी दृष्टिकोणबाट यो हेरिरहेका छौँ कि देशको स्थानीय उद्योगलाई सुरक्षित गर्नका लागि आफ्नो कानुनको प्रयोग गर्न सकिन्छ वा सकिँदैन । यो डब्लूटीओको मान्यताअनुसार हुन्छ वा हुदैंन ।”
अमेरिकी वाणिज्य विभागले १२ देशको स्टिल आयातमा कमसेकम ५३ प्रतिशतको भन्सार लगाउन सिफारिस गरेको थियो । यसपछि यो कदम उठाइएको हो । ५३ प्रतिशतको भन्सार लगाउन सिफारिस भएका मुलुकहरूमा ब्राजिल, चीन, कोस्टारिका, मिश्र, भारत, मलेसिया, रूस, दक्षिण कोरिया, थाइल्यान्ड, टर्की तथा भियतनाम रहेका छन् । एक जानकारीअनुसार २०१७ मा अमेरिकाले गरेको स्टिल आयातमा यी देशको हिस्सा ४ प्रतिशतभन्दा कम थियो ।
अमेरिकाले हाल सोलार प्यानल, वासिङ मेसिनजस्ता उत्पादनको आयातलाई पनि निसाना बनाउने विषयमा विमर्श गरिरहेको छ । यद्यपि यसले भारतमा ठूलो परिमाणमा असर पर्नेछैन । किनभने भारतले यस किसिमको सामानको निर्यात ठूलो मात्रामा गर्दैन ।
ट्रम्पले अघिल्लो ट्विटमा भनेका थिए, “हामीले आफ्नो मुलुक तथा आफ्नो कामदारलाई सुरक्षित गर्नुपर्छ । हाम्रो स्टिल उद्योगको स्थिति खराब छ ।”
आर्थिक वर्ष २०१६–१७ मा भारतले अमेरिकामा १.२६ अर्ब डलरको स्टिल उत्पादन निर्यात गरेको थियो । २०१७–१८ को अप्रिलदेखि अक्टोबरसम्मको अवधिमा अमेरिकामा गरिएको यस किसिमको निर्यात ९६.०५ करोड डलरको थियो । ३.५ करोड टनका साथ अमेरिका विश्वकै ठूलो स्टिल आयातक मुलुक हो ।
भारतीय निर्यात महासंघका निर्देशक अजय सहायका अनुसार यसले भारतमा ठूलो असर पर्दैन । यसले चीन तथा क्यानडामा असर प¥यो भने वास्तवमै भारतलाई फाइदा पुग्न सक्ने उनले बताए ।