बौद्ध दर्शनभित्रको खुसी अर्थशास्त्र

बेरोजगारी, गरिबी र आय असमानताजस्ता समस्या समाधान गर्न अर्थशास्त्रले जतिसुकै प्रयास गरे पनि आधुनिक समाजमा यी समस्या झन्झन् बढ्दै गएको देखिन्छ । विकसित हुन् वा विकासोन्मुख, हरेक देशमा यस्ता समस्याले अर्थशास्त्री एवम् नीतिनिर्माताहरूलाई चुनौती दिँदै आएका छन् । यस सन्दर्भमा बुद्धको दर्शनबाट प्रभावित बौद्ध अर्थशास्त्रले यस्ता आर्थिक समस्या समाधानका निम्ति भिन्दै दृष्टिकोण प्रदान गरेको देखिन्छ ।
अहिंसा र करुणामार्फत सबैको कल्याणका निम्ति बुद्धको दर्शनलाई अर्थशास्त्रमा प्रयोग गर्दै आर्थिक समस्या समाधान गर्न सकिन्छ भन्ने विषय विश्वका निम्ति खोज, अनुसन्धान एवम् चिन्तनको विषय बनेको छ । यसलाई बौद्ध अर्थशास्त्र भन्ने गरिन्छ । बौद्ध अर्थशास्त्रअन्तर्गत नै भुटानको खुसी अर्थशास्त्र र थाइल्यान्डको सफिसियन्सी इकोनोमी आदि आर्थिक विचारधारा देखा परे । तिनले अहिंसा र करुणामार्फत न्यून उपभोगमार्फत अधिकतम कल्याण गर्दै पर्यावरण संरक्षणमा समेत जोड दिएका छन् । साथै, सामूहिक खेती गर्ने र त्यसको प्रतिफल पनि सामूहिक रूपमा बाँडफाँड गर्नेतर्फ सुझाव दिएका छन् । त्यसैले दिगो विकासका सन्दर्भमा पनि बौद्ध अर्थशास्त्र केन्द्रित रहेको मान्न सकिन्छ ।
वास्तवमा धार्मिक आवरणले हेर्ने प्रवृत्तिले बुद्ध र उनको दर्शनको व्यावहारिक पक्षलाई छायामा पार्दै आएको छ । तीतो लागे पनि यथार्थ यही हो । खासगरी बुद्धलाई विष्णुको अवतारका रूपमा मान्नु र समयक्रमसँगै महायान, बज्रयान हुँदै बौद्ध धर्ममा तन्त्रयान र गुह्ययानसमेत प्रवेश गर्नुले बौद्ध धर्मलाई पुरातन कर्मकाण्डको नजिक–नजिक पुर्याएको प्रतीत हुन्छ । निराशावादी दृष्टिले हेर्ने हो भने आलोचनाका धेरै ठाउँ हुन सक्छन् । तर, बुद्ध विचार र दर्शनलाई जगेर्ना गर्न यिनको पनि ठूलो भूमिका छ । एकछिन धार्मिक पक्षलाई पर राखेर हेर्ने हो भने बुद्धका व्यक्तिगत, पारिवारिक एवम् राज्य सञ्चालनसम्बन्धी दर्शनमाथि हामीले राख्दै आएको चिन्तनबारे प्रश्न गर्ने प्रशस्त ठाउँ देखिन्छन् । बुद्ध शिक्षा व्यावहारिक छन् । यिनले समाजशास्त्र, अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापनका पक्षमा पनि योगदान पुर्याउने क्षमता राख्छन् । तर, यसबाट लिने लाभको स्तर भने हामी आफैँमा निर्भर रहन्छ ।
बौद्धकालीन समयमा अर्थतन्त्रको महत्वपूर्ण आधार भनेको खेतीपाती एवम् पशुपालन थियो । त्यसका लागि राज्यबाट बीउबिजन तथा पशुका लागि आहारको ग्यारेन्टी गर्नुपर्ने मान्यता बुद्धको थियो । यसले गर्दा किसानलाई ढुक्क भई किसानी गर्न प्रोत्साहन गथ्र्यो । साथै, सामूहिक कृषिले रोजगारी सिर्जना गर्ने र प्रतिफल आपसमा बाँड्नाले सबैका आवश्यकता सँगसँगै पूरा गर्न सकिने सरल एवम् सुन्दर अर्थशास्त्रले तत्कालीन समयमा काम गरेको थियो । आज पनि कृषि क्षेत्र समग्र मुलुकको अर्थव्यवस्थाको आधार मानिन्छ । यसले प्रत्यक्ष रोजगारी र आयमा भूमिका खेल्नुका साथै अप्रत्यक्ष रूपमा घरेलु तथा साना उद्योगको विकासमा मद्दत पुग्छ । यसैमार्फत ठूलठूला उद्योगको विकास हुन्छ । अतः कृषि औद्योगीकरणको आधार हो । त्यसैले यसलाई राज्यबाट प्रोत्साहन गर्नु आवश्यक छ ।
नेपालमा पनि सामूहिक खेती गर्ने, बीउबिजन र पशुआहारको ग्यारेन्टी सरकारले गर्ने साथै किसानको उत्पादन राज्यद्वारा खरिद गर्ने व्यवस्था गर्न सके कृषिमा आकर्षण बढाउन सकिन्छ । यसले गर्दा जीवन निर्वाहको ज्यालाका लागि पनि वैदेशिक रोजगारीका लागि पलायन हुने समस्या केही हदसम्म भए पनि गर्न सकिन्छ । कृषिमा आत्मनिर्भर बन्दै घरेलु तथा साना उद्योगको विकास पनि गर्न सहज बन्छ । यसैगरी क्रमशः देशलाई औद्योगीकरणतर्फ अगाडि बढाउन सकिन्छ ।
कृषिका धेरै समस्या छन् । समयमा बीउबिजन नपाउनु, मलखादको समस्या रहनु र उत्पादनले बजार नपाउँदा पनि किसानहरू हतोत्साहित छन् । यसैका कारण जीवन निर्वाहका लागि वैदेशिक रोजगारीमा जाने र परिवारले शिक्षा र स्वास्थ्य सुविधाको नाउँमा गाउँघर छोडी बजार छिर्ने परम्परा मौलाउँदै गएको छ । यही कारणले गाउँघरतिरका खेतबारी बाँझो हुने क्रम दिन–प्रतिदिन बढ्दै गएको छ । परिणामस्वरूप नेपालले खाद्यान्नसमेत आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो समस्या समाधानका लागि बुद्धले सुझाएको उपायलाई व्यावहारिकता दिन सकिन्छ ।
पछिल्लो समय अर्थशास्त्रको यस नवीन दृष्टिकोणलाई चासोका रूपमा हेर्न थालिएको छ । कतिपय मुलुकले यसलाई आर्थिक दृष्टिमा अध्ययन–अनुसन्धान गर्दै छन् भने कतिपय मुलुकले आफ्नो राष्ट्रिय अर्थतन्त्रमा पनि यो अवधारणालाई अङ्गीकार गर्न थालेका छन् । यसैबाट उनीहरूले लोभलाग्दो प्रगति पनि हासिल गरेका छन् । साथै, आर्थिक विकासमा आत्मनिर्भर पनि बन्दै गएका छन् । त्यसैले विश्वमा आज बौद्ध अर्थशास्त्रप्रतिको अध्ययन–अनुसन्धान फराकिलो बन्दै गएको छ । तर, हामी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गर्व मात्र गरिरहेका छौँ । बुद्धका विचारलाई जान्न पनि उद्यत छैनौँ । त्यसैले नेपालको सन्दर्भमा आर्थिक विकासका लागि बुद्धका विचार प्रयोगमा आएका छैनन् । नेपाली अर्थतन्त्रले आफ्नै माटोमा उत्पादित बुद्ध र उनको विचारलाई आत्मसात् गर्न सकेको छैन ।
बौद्धदर्शनलाई आधार बनाएर भुटानले कुल गार्हस्थ्य उत्पादनको सट्टा कुल गार्हस्थ्य खुसी (जिएनएच) लाई अर्थतन्त्रको आधारस्तम्भ मानेको छ । यही जिएनएचकै अवधारणाको आधारमा सन् २००५ मा मेड जोन्सले कुल राष्ट्रिय कल्याण (जिएनडब्लु) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा युएनडिपीले सन् २०११ मा खुसीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो । बुद्धका दर्शनलाई नै आधार बनाएर थाइल्यान्डले १९९७ को आर्थिक मन्दी चिर्न ‘सफिसियन्सी इकोनोमिक्स’ को प्रतिपादन गर्यो । यति मात्र होइन, इएफ शुमाकरले बुद्ध विचारकै आधारमा ‘बौद्ध अर्थशास्त्र’ को नयाँ अवधारणाको विकास गरे ।
बौद्ध अर्थशास्त्रलाई पहिलो पटक सन् १९६६ मा एसियामा ‘बौद्ध अर्थशास्त्र’ नामको निबन्धमा प्रकाशित गरियो, जुन पछि ‘स्मल इज ब्युटिफुल’ नामको किताबका रूपमा प्रकाशित पनि भयो । वास्तवमा बौद्ध अर्थशास्त्रमा अर्थशास्त्रलाई आध्यात्मिक र दार्शनिक दृष्टिकोणबाट विश्लेषण गरिन्छ । बौद्ध अर्थशास्त्रले आर्थिक गतिविधिलाई मान्छेको मनोविज्ञानका साथै भावनाको गहिराइबाट परीक्षण गर्ने कुराको वकालत गर्छ । यसमा बुद्धका दर्शनलाई आधारका रूपमा लिइएको छ ।
थाइल्यान्डका तत्कालीन राजा भूमिबोलले त्यहाँको आर्थिक विकासका लागि गाउँगाउँ डुलेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बौद्ध विचारधाराको अनुसरण गराए, जसबाट ‘सफिसियन्ट इकोनोमी’को अवधारणा अगाडि आयो, जसले नपत्याउँदो गरी थाइल्यान्डको आर्थिक समस्यालाई सजिलै समाधान गर्न सफल भयो । यति मात्र होइन, आर्थिक विकासमार्फत मुलुकलाई आत्मनिर्भर देशको रूपमा स्थापित पनि गरायो । स्थानीय स्रोतको प्रयोग, सामूहिक खेती, दिगो विकास र प्रविधिमार्फत उत्पादन, उपभोग, विनिमय र वितरणलाई प्रोत्साहन गर्न थाइल्यान्डले पर्याप्त अर्थशास्त्र ‘सफिसियन्ट इकोनोमी’ लाई प्रयोग गर्यो । नेपालले पनि माटो सुहाउँदो गरी यस्तो आर्थिक दृष्टिकोण प्रयोग गर्न सके अर्थतन्त्रको सुधार र विकास सम्भव हुन सक्छ । बुद्ध यहीँकै माटोमा जन्मिएका हुन् । तर, यहाँको अर्थतन्त्रमा बौद्ध विचारको उपयोग रत्तिभर पनि हुन सकेको छैन । हाम्रै दर्शनको प्रयोग गरेर विश्वले नविनतम आर्थिक सिद्धान्तको प्रतिपादन गरिरहेको छ । त्यही सिद्धान्तको प्रयोग गरेर आर्थिक विकास गरिरहेको छ । हामी भने न त बुद्धका विचारसँग परिचित छौँ, न त अर्थतन्त्रप्रति सचेत नै छौँ ।
नेपालमा पनि बुद्धको शिक्षालाई अर्थतन्त्रको समृद्धिका निम्ति लागू गर्न सकिन्छ । थाइल्यान्डले जस्तै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा बुद्ध दर्शनको प्रयोग सम्भव छ । अर्थशास्त्र सीमित साधनको उच्चतम प्रयोग गर्दै अधिकतम सन्तुष्टि प्रदान गर्न उद्यत हुन्छ । यसका लागि बौद्ध विचारले मध्यमार्गी विचार, समस्या समाधानका लागि उचित मानसिक ज्ञानको प्रयोग र चुनौतीहरूको सामना गर्न आत्मप्रतिरक्षाको भावना सिकाउँछ । यसका साथै, बौद्धदर्शनले ज्ञान र नैतिकता एवम् मान्यताहरूको प्रयोगलाई पनि उत्प्रेरित गर्छ । यसैको नतिजास्वरूप अर्थशास्त्रको नवीनतम दृष्टिकोण अर्थात् बौद्ध अर्थशास्त्रको जन्म भएको हो ।
हामीसँग चुनौती मात्र छैन, अवसर पनि उत्तिकै छ । जलविद्युत, पर्यटन र कृषि नेपालका सम्भावनाका क्षेत्र हुन् । आम जनताको सहभागितामा सेयरमार्फत ठूला जलविद्युत आयोजना सञ्चालन गर्न सकिन्छ । यसले पेट्रोलियम पद्धार्थलाई प्रतिस्थापन गर्न सक्छ । पर्यटनमार्फत रोजगारी, आय आर्जन र कला–संस्कृति र सम्पदाको पहिचान स्थापित गर्न सकिन्छ । होमस्टे यसको गतिलो उदाहरण बन्न सक्छ । यसका साथै सामूहिक कृषिमार्फत परनिर्भरताको जालो भत्काउन सकिन्छ । यहाँ सेयरबाट पुँजी संकलन, स्थानीय होमस्टे र सामूहिक खेती बौद्ध अर्थशास्त्रका प्रायोगिक क्षेत्र हुन् । त्यसैले नेपालको आर्थिक विकासमा बौद्ध अर्थशास्त्रको प्रयोग गर्न सकिन्छ । यसैबाट मुलुकको आर्थिक विकास पनि सम्भव छ ।
आत्मनिर्भर उत्पादन, मध्यमार्गी उपभोग र न्यायोचित वितरणमार्फत मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ । यी उपाय बौद्ध शिक्षाका उपज हुन् । अर्थशास्त्रीय दृष्टिकोणका लागि विनय पिटकमा उल्लिखित आपसी सहयोग, आर्यअष्टाङ्गिक मार्गको सम्यक आजीविका तथा कार्यकारण सिद्धान्तका कारण र असरको उपयोगलाई व्यावहारिकता दिन सकिन्छ । खासगरी बौद्ध अर्थशास्त्रमार्फत उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग र दिगो विकासको अवधारणा उपयोग गर्न सकिन्छ ।
नेपालमा पनि आर्थिक समस्या समाधानका लागि भुटानको खुसी अर्थशास्त्र र थाइल्यान्डको सफिसियन्सी इकोनोमीजस्ता बौद्ध अर्थशास्त्रको सान्दर्भिकताको विषयमा अध्ययन–अनुसन्धान गरिनु जरुरी छ । एकातिर नेपालमै बुद्धको जन्म भएको र अर्कातिर नेपाल अत्यधिक रूपमा वैदेशिक रोजगारी, आयात र वैदेशिक ऋण एवम् सहयोगमा निर्भर रहेकाले आत्मनिर्भर अर्थतन्त्रका निम्ति बौद्ध अर्थशास्त्रबारे विचार, विमर्श र छलफल आवश्यक छ । अनुसन्धानात्मक कार्यबाट पनि यसबारे थप प्रस्ट हुन सकिन्छ ।