प्रतिपक्षद्वारा सदन अवरोध, गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान

काठमाडौं- प्रतिपक्ष दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । सभाको सोमबारको बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका हुन् । त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।
सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सासंदहरूलाई बोल्न अवरोध गरेका थिए । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।
सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए । सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई ५० लाखदेखि तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।
मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उनले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले उनको राजीनामा माग गरे ।
रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा संगठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे ।