चुनौतीपूर्ण भ्रमण वर्ष–२०२० «

चुनौतीपूर्ण भ्रमण वर्ष–२०२०

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै निकै महत्वाकांक्षी रूपमा लिएको भ्रमण वर्ष–२०२० नेपालमा सुरु भएको छ । सरकारले सन् २०२० लाई राष्ट्रिय पर्यटन अभियान वर्षका रूपमा महत्व दिएर निकै तामझामका साथ भ्रमण वर्षको घोषणा गरेसँगै यसमा मिश्रित प्रतिक्रियाहरू पनि आउने क्रम जारी छ ।
यो अभियानको मुख्य लक्ष्य भनेकै २० लाख पर्यटक नेपाल भिœयाउने रहेको छ । तर, भ्रमण वर्षको घोषणासँगै पर्यटन पूर्वाधारका विषयमा भने अनेक टीकाटिप्पणी आउनुले तयारी नपुगेको पो हो कि भन्ने प्रश्न पनि गहन रूपमा उठ्ने गरेको छ । अझ सरकारले त सन् २०२१–२०३० लाई पर्यटन दशकका रूपमा मनाउने घोषणाले पर्यटन सम्बद्ध उद्योगीलाई थप उत्साही पनि बनाएको छ । नेपालमा पर्यटनसँग सम्बन्धित बृहत् अभियान यो नै पहिलो भने होइन । सन् १९९८ र २०११ मा पनि यस्तै खालका अभियानहरू सञ्चालन भएका थिए । तर, दुवै अभियानबाट तत्कालीन सरकारले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेका हुन् । त्यस्तै सन् २०१८ मा पनि भ्रमण अभियान घोषणा गरिएकोमा आवश्यक तयारी नपुगेका कारण स्थगन गर्नु परेको थियो । अहिलेको अभियानमा पनि कतै त्यही बाटोमा त जाने होइन भन्ने आशंकालाई चिर्दै सरकारले थप सशक्त काम गर्नुपर्ने हुन्छ ।
२० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य किन पनि महत्वकांक्षी र चुनौतीपूर्ण छ भने करिब ११ लाख ५२ हजार पर्यटक सन् २०१८ मा नेपाल आएका थिए भने सन् २०१९ करिब ११ लाख ७३ हजारले मात्र नेपाल भ्रमण गरेको तथ्यांकले बताएको छ । त्यसैले अब २०२० मा २० लाख पु¥याउने लक्ष्य महत्वाकांक्षी भए पनि सरोकारवाला क्षेत्रको सक्रियता र चासो बढ्ने हो भने लक्ष्य पूरा नहुने भन्ने हुँदैन । सरकारको दाबीअनुसार आवश्यक पूर्वाधार र तयारीहरू पूरा भइसकेको छ, भ्रमण वर्षलाई सफल बनाउन । सरकारले थप १ सय नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने अभियान चालिसकेको छ । त्यस्तै १ सयभन्दा बढी मुलुकका सरकारी एवं गैरसरकारी संघ–संस्थाहरूलाई भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन अनुरोध पनि गरिसकेको छ । त्यस्तै गैर आवासीय नेपाली संघसँग पनि सरकारले अभियानलाई सफल बनाउन सम्झौता गरिसकेको छ । ‘कम्तीमा एक जना विदेशी नेपाल घुम्न पठाऊँ’ भन्ने अभियानमा लाग्न गैरआवासीय नेपाली संघ सकारात्मक रहेको सरकार बताइरहेको छ ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने लक्ष्यका साथ सरकारले आव २०७५÷०७६ को बजेटमार्फत भ्रमण वर्ष २०२० को घोषणा गरेको हो । तर, भ्रमण वर्षको प्रचार–प्रसार, तालिम, भ्रमण, गोष्ठी, सेमिनार र छलफलबाहेक खास–खास पूर्वाधार निर्माणको काममा भने तीव्रता आउन सकेको देखिँदैन ।
पर्यटक आगमनको विगतको तथ्यांक अध्ययन गर्दा सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको नाकाबन्दीका कारण सन् २०१४ को तुलनामा ३२ प्रतिशतले न्यून थियो । त्यस्तै पर्यटकको हालसम्मको गतिविधि हेर्दा उनीहरू सरदर १३ दिन बस्छन् र प्रतिव्यक्ति ५५ डलर औसतमा दैनिक खर्च गर्छन् । तर, यो औसत बसाइ र खर्च गराइको प्रद्धतिलाई बढाउने तर्फ ठोस पहल नहुँदा पर्यटक नेपाल आउने तर खर्च गराइ र बसाइमा मितव्ययी हुँदा अपेक्षाकृत लक्ष हासिल गर्न चुनौती थपिएको छ । सरकारको लक्ष्यअनुसार २० लाख पर्यटक नेपाल भिœयाउन झन्डै दोब्बर संख्या बढाउनुपर्नेछ । पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ पर्यटक भित्रिएका थिए भने सन् २०१९ को अगस्ट महिनासम्ममा ७ लाख ४२ हजार ६ सय पर्यटक भित्रिएका थिए ।
यो तथ्यांकलाई आधार मान्दा दैनिक २ हजार ६२ पर्यटक नेपाल भित्रिएका छन् । तर, भ्रमण वर्षको लक्ष्य पूरा गर्न भने दैनिक रूपमा ५ हजार ५ सय ५५ पर्यटक नेपाल भित्रिनुपर्ने हुन्छ । यो संख्या भनेको अहिले नेपाल भित्रिरहेका पर्यटक संख्याको दोब्बर हो ।
नेपाल भित्रिने पर्यटकको विगतको इतिहास हेर्ने हो भने अधिकांश पर्यटक हवाई मार्गबाट भित्रिएको तथ्यांक छ । तर मुलुकमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने, क्षमता वृद्धि गर्ने, गौतम बुद्ध र पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउने भनिए तापनि गौतम बुद्ध र पोखरा विमानस्थल तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा देखिँदैनन् । गौतम बुद्ध विमानस्थलको निर्माण कार्य ८० प्रतिशत सकिएकाले आउँदो चैत महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । पोखरा विमानस्थल भने २०२० भरिमा सम्पन्न गरी २०२१ देखि संचालनमा ल्याउने सरकारको योजना रहेको छ । भ्रमण वर्षको तयारीलाई लिएर निजी क्षेत्र र सरकारी पक्षबीच आरोप प्रत्यारोपका श्रृंखला चल्न थाली सकेका छन् । निजी क्षेत्रले आफ्नो तयारी पूरा गरे पनि सरकारले भने आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप निजी क्षेत्रको रहेको छ । नेपालको आर्थिक तथा सामाजिक विकासका सन्दर्भमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अनिवार्य हुन्छ । तर पनि यसको सञ्चालन व्यवस्थापन एवं समन्वयका सन्दर्भमा भने अनेकांै अप्ठ्याराहरू पनि रहेका छन् । यी अप्ठ्यारा र कठिनाइहरूलाई व्यवस्थापन गर्दै अघि बढ्न सकेको खण्डमा नेपाल जस्तो मुलुकका लागि पर्यटन क्षेत्र आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण मोडल बन्न सक्ने कुरामा दुईमत छैन ।
देशभर छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको पहिचान, संरक्षण एवं संवद्र्धनमा स्थानीय सरकारहरू, समुदाय तथा निजी क्षेत्रको समेत सक्रिय सहभागिता बढाउनेतर्फ ध्यान दिनु जरुरी छ । नेपाल पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र नै हो । यहाँका हिमाल, प्राकृतिक सौन्दर्य र मैत्रीपूर्ण संस्कृति एवं समृद्ध कलाहरू नै पर्यटक आकर्षित गर्ने प्रमुख साँचोहरू हुन् । तर, यति हुँदाहुँदै पनि यो क्षेत्रमा धेरै चुनौती र समस्या रहेकाले बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्न र आएका पर्यटकहरूको बसाइ अवधि लम्ब्याउनेतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ । पर्यटकहरूको बसाइलाई लामो र आकर्षक बनाउन विभिन्न प्रकारका मनोरञ्जनका साधनको व्यवस्था मिलाउनुपर्छ । नेपालमा यस्ता मनोरञ्जनका लागि आवश्यक क्लब, नाचघर, सिनेमा, पसल, पार्क, जङ्गल सफारी, रक क्लाइम्बिङ, बोटिङजस्ता क्रियाकालापहरूको प्रशस्त व्यवस्था गर्न सक्नुपर्छ । सांस्कृतिक कार्यक्रमहरूका साथै मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्था गर्न सके मात्र हालको औसत पर्यटक बसाइ दिनलाई १३ दिनबाट बढाउन सकिन्छ ।
नेपालमा आउने पर्यटकहरूलाई नेपालका बारेमा विभिन्न प्रकारका सूचनाहरू प्रवेश स्थलमा नै उपलब्ध गराइनुपर्छ । तर, हामीकहाँ यस्ता सूचना केन्द्रहरूको अभाव छ । भएका सूचना केन्द्रहरूसमेत अव्यवस्थित र गतिहीन छन् । यद्यपि भ्रमण वर्ष सुरु भइसकेको छ । यो अभियानलाई सफल पार्न संघीय, प्रदेश एवं स्थानीय सरकार, पर्यटन व्ययसायी स्थानीय जनता एवं सरोकारवाला सबै लागेमा मात्र यो अभियानले सफलता पाउन सक्छ । हैन भने यो महत्वाकांक्षी लक्ष्य पूरा गर्न सरकार र सम्बन्धित निकायलाई हम्मे–हम्मे पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्