Logo

एनसेल फाउन्डेसनको सहकार्यमा वेस्ट ह्याकाथन आयोजना हुने

काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सहकार्यमा विश्व वातावरण दिवस २०८२ अवसरमा नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याटु थिममा वेस्ट ह्याकाथन आयोजना हुने भएको छ ।

राष्ट्रिय स्तरको कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्ति, उद्यमी र जलवायुका अभियन्तालाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । विशेष कार्यक्रम जेठ २२ मा बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदै छ, जहाँ देशका प्रतिभाशाली समाधानकर्ता फोहोरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।

एनसेल फाउन्डेसन, खालीसिसी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजनामा हुने यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै काम गर्दै आएका सेवाप्रदायक, नेपालको औपचारिक फोहोर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सरकारी–निजी साझेदारीको एक सशक्त उदाहरण हो ।

ह्याकाथनको उद्देश्य फोहोर व्यवस्थापन, रिसाइकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहोरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदार विशेषगरी महिलाको सशक्तीकरणका लागि प्रविधिमा आधारित समाधान विकास गर्नु रहेको एनसेललले जनाएको छ ।

‘डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नवीन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौं । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्यामध्येको फोहोर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानको विकास गर्ने विश्वास छ,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपालमा दैनिक तीन हजार टन बढी फोहोर उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ । ह्याकथनले अहिलेको परिस्थितिलाई परिवर्तन गर्दै नवीन, समावेशी र कार्यान्वयनयोग्य विचारलाई प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको एनसेलले बताएको छ।

ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन दिनुपर्नेछ । यसमा विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, फोहरमैला व्यवस्थापनमा अनौपचारिक रुपमा योगदान पुर्‍याउँदै आएकाहरू आदिले भाग लिन सक्छन् । ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँबिनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा प्रतियोगीले समाधान विकास गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्