पर्यटनले गण्डकीको आर्थिक वृद्धिदर उच्च

पोखरा– गण्डकी प्रदेशको आर्थिक वृद्धिदर अन्य प्रदेश भन्दा उच्च रहेको छ । गण्डकी प्रदेशको ५.५१ प्रतिशतले सबै भन्दा उच्च आर्थिक वृद्धिदर भएको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार पोखरामा उक्त तथ्यांक सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक अनुमान अनुसार दोस्रोमा बागमती प्रदेश रहेको छ । जसको प्रादेशिक कुल ग्रार्हस्थ्य उत्पादनमा ५.१८ रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि लुम्बिनीको ४.७० प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागका आर्थिक तथ्यांक महाशाखा निर्देशक तिर्थराज बरालले बताए । प्रतिवेदन अनुसार उपभोगको मूल्यमा गण्डकीको कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य वृद्धि भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा गण्डकीको वृद्धिदर ४.०९ प्रतिशत रहेको थियो । यो वृद्धिदर मुख्यत: पर्यटन, व्यापार, सेवा तथा निर्माण क्षेत्रको विस्तारसँग जोडिएको छ ।
कोरोनाको असर केही कम भएपछि पर्यटन गतिविधि पुन: सञ्चालनमा आएको र आन्तरिक पर्यटनमा वृद्धि भएको विशेषज्ञहरूको विश्लेषण छ । राष्ट्रिय सन्दर्भमा गण्डकी पछि बागमती प्रदेश रहेको छ । बागमतीको ५.१८ प्रतिशत वृद्धि दर पुग्ने अनुमान गरिएको छ । सबैभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा ३.३२ प्रतिशत मात्र रहेको छ ।
संघीय संरचनामा आर्थिक समृद्धि हासिल गर्न प्रदेशको नेतृत्वले लगानीमैत्री वातावरण, पूर्वाधार निर्माण र सेवा विस्तारमा विशेष ध्यान दिएको गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए । गण्डकीलाई पर्यटनको राजधानीको रुपमा घोषणा गरे पनि यसमा राजनीति हुँदा उचित योजना र बजेट नसमेटिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८१/०८२ मा गण्डकी प्रदेशको अर्थतन्त्रको आकार ५ खर्र्ब ४८ अर्ब १६ करोड हुने अनुमान गरिएको छ छ भने आर्थिक वृद्धिदर ४.८८ प्रतिशत हुने तथ्यांक समन्वय कार्यालय कास्कीका तथ्यांक समन्वय अधिकारी एवं कार्यालय प्रमुख नन्दलाल सापकोटाले बताए । आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय वार्षिक कुल ग्रार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसका आधारमा बागमती प्रदेशले ३६.५२ प्रतिशत राष्ट्रिय वार्षिक कुल ग्रार्हस्थ उत्पादनमा योगदान दिने अपेक्षा गरिएको प्रमुख सापकोटाले बताए । कोशी प्रदेशको १५.९०, लुम्बिनी प्रदेशले १४.२३, मधेश प्रदेशले १३.१६, गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.०३ र कर्णाली प्रदेशले ४.१९ प्रतिशत ग्रार्हस्थ उत्पादनमा योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।