१६ करोडमा निर्माणको जिम्मा लिएको पुल अलपत्र, ठेकेदार सम्पर्कविहीन

बाजुरा– बाजुराको सदरमुकाम नजिकैको मार्तडी घट्मुना सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिकाको ठूलीसाँघुमा पुल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरेपनि अहिले ठेकदार सम्र्पकविहीन बनेका हुन् । पटक पटक सम्र्पक गर्दा पनि ठेकेदार सम्र्पकमा नआएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले बताए ।
उक्त खोलामा पक्की पुल निर्माण गर्न १६ करोड २१ लाखमा बिकोई बिल्डर्स प्रा.लि. काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । उक्त खोलामा ३० मिटर लम्बाई र ११ मिटर चौडाइको पक्की पुल निर्माण हुने बताइएको छ । महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो ।
तर तीन वर्ष बितिसक्दा पनि थोरै कामबाहेक केही काम हुन नसकेको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताए । पुल निर्माण कार्य सुरु गर्न महाकाली पुल योजना महेन्द्रनगरले पटक पटक पत्राचार गरेपछि ठेकेदार सम्पर्कमा आएका थिए । तर एक महिना पनि काम नगरेर अहिले फेरी ठेकेदार सम्पर्कविहीन बनेको नगर प्रमुख खड्काले बताए । उक्त खोलामा रहेको फलामसहितको काठेपुल भत्काएर ठेकेदारले पक्की पुल निर्माण कार्य सुरु गरेको थियो ।
तर अहिले पक्की पुलको काम अस्तब्यस्त बनेको र वर्षामा वारपार गर्न समस्या हुने स्थानीय नरेश बडुवालले बताए । अहिले काम अस्तव्यस्त भएको छ । वर्षाको समय सुरु भइसकेकाले खोला वारपार गर्न समस्या हुने उनले बताए । भएको काठेपुल भत्काएर पुल निर्माण अलपत्र पारेपछि वर्षात सुरुसँगै आवतजावतमा सकस हुने स्थानीयको दुखेसो छ । ठेकेदारको चरम लापरवाहीका कारण अहिलेसम्म पनि उक्त खोलामा पुल निर्माण हुने कुनै सुरसार समेत देखिँदैन ।
बर्खायाममा खोलामा आवतजावतका लागि निर्माण गरिएको काठेपुल समेत भत्काएर निर्माण कार्य अलपत्र पारेको स्थानीयको गुनासो छ । स्थानीयले काठेपुल भत्काएपछि अब फेरि बर्खायाम नजिकिएसँगै खोलामा आवतजावत गर्न नसकिने भन्दै तत्काल काठेपुल निर्माण गर्न माग गरेका छन् । उक्त खोलामा पुल नहुँदा वर्षेनी वर्षातको समयमा गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले सास्ती खेप्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले खोलामा काठेपुल निर्माण गर्न सम्बन्धित पालिका, ठेकेदार र पुल निर्माण गर्ने कार्यालयलाई पत्रचार गरेको बताए । एकातिर काम अलपत्र पारेको छ भने, अर्कोतिर भएको संरचना पनि भत्काएर स्थानीयलाई समस्या पारेको पाध्याले बताए । बाजुरामा निर्माण कम्पनी तथा सम्बन्धित कार्यालय लापरवाहीले धेरै आयोजना अलपत्र अवस्थामा छन् ।