Logo

६ वर्षपछि पुरानै अवस्थामा फर्कियो सेयर कर्जाको जोखिमभार

काठमाडौं– सेयर धितो कर्जामा लागेको जोखिमभारलाई ६ वर्षपछि पुरानै अवस्थामा फर्काएर राष्ट्र बैंकले सेयर बजार चलायमान बनाई अर्थतन्त्रलाई गति दिने रणनीति लिएको छ ।

२०७८ साउनमा जारी मौद्रिक नीतिमार्फत तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशतबाट १५० प्रतिशत पुर्‍याएका थिए । त्यसलाई गत वर्ष संशोधन गरेर १२५ प्रतिशत बनाइएकोमा अहिले गभर्नर विश्व पौडेलले उदार भएर एक सय प्रतिशतमा झारेका हुन् । यससँगै सेयर धितो कर्जाको जोखिमभार २०७५ पुसको अवस्थामा फर्किएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामा भनिएको छ, ‘विद्यमान सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिनेछ ।’ गभर्नर पौडेलले मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजारका लगानीकर्तालाई केही हदसम्म भए पनि खुशी बनाउने रणनीति लिएका छन् । विगतमा सरकारले पनि सेयर बजारलाई प्राथमिकता दिएर नीतिगत लचकताका लागि राष्ट्र बैंकलाई दबाब दिँदै आएको थियो । अहिले पौडेलले सेयर बजारमा सहज नीति लिएर लगानीकर्ताको मनोबल बढाउने र क्रमशः अन्य क्षेत्रमा पनि मनोबल बढाउँदै जाने नीति लिएका हुन् ।

अहिले सेयर धितो कर्जामा मात्र नभई अन्य क्षेत्रमा जाने कर्जामा पनि लचिलो नीति लिँदै गइएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । अहिले सेयर धितो कर्जामा लचकता अपनाउन ‘स्पेस’ भएका कारण सरोकारवालाको सुझाव समेतलाई आधार मानेर जोखिमभार हटाइएको उनले बताए । पौडेलले भने, ‘अहिले धेरै बढेको कर्जामध्ये सेयर कर्जा पनि हो । यसमा केही नीति लचक हुँदा सम्बन्धित पक्षहरूको मनोबल स्वाभाविक रुपमा केही बढ्ने अनुमान हुन्छ ।’

कोभिड महामारीबाट प्रभावित क्षेत्रहरुको पुनरुत्थान गर्दै आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्न भन्दै त्यस समयमा तत्कालीन गभर्नर अधिकारीले मौद्रिक नीतिको सन्तुलित कार्यदिशा अवलम्बन गरिएको जनाएका थिए । त्यसरी मार्जिन लेण्डिङ कर्जामा गरिएको कसिलो नीतिले सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्दा लगानीकर्ताको करोडौं रकम गुमेको थियो । लगानीकर्तामात्र नभई राजनीतिक दलका शीर्ष नेताहरूले समेत तत्कालीन गभर्नर अधिकारीमाथि दबाब दिएका थिए । निरन्तरको दबाबपछि २०८० मा ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा शतप्रतिशत र बाँकी सबैमा १ सय २५ प्रतिशत जोखिमभार कायम गरिएको थियो ।
गभर्नर पौडेलले कार्यभार सम्हालेको एक साता पनि नबित्दै सेयर बजारलाई प्रभाव पर्ने सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत बनाइदिएका हुन् । चालु आवको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको जनाएको छ ।

यस्तै, वित्तीय क्षेत्रमा तरलता यथेष्ट रहेको र कर्जाको औसत ब्याजदर पनि एकल बिन्दुमा झरेको भन्दै लगानीको वातावरणमा थप सुधार हुने र अर्थतन्त्रको उत्पादन क्षमता विस्तार हुने राष्ट्र बैंकको अनुमान छ । यसै पृष्ठभूमिमा गभर्नर पौडेलले सेयर बजारलाई प्रभाव पार्ने नीतिमा लचकता अपनाएर लगानीकर्ताको मनोबल बढाउने रणनीति अपनाएका हुन् ।

त्यसअघि १ सय ५० प्रतिशत रहेको सेयर धितो कर्जाको जोखिमभार २०७५ पुसमा शतप्रतिशत बनाइएको थियो । कोभिड महामारीपछि आक्रामक रुपमा कर्जा विस्तार भएको भन्दै राष्ट्र बैंकले २०७८ फागुनमा जोखिमभार बढाएर १ सय ५० प्रतिशत पुर्‍याएको थियो । त्यसपछि २०७९ मा २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार शतप्रतिशत र बाँकी सबैमा १ सय ५० प्रतिशत बनाइएको थियो।

अब नयाँ व्यवस्थाले बैंकबाट सेयर धितो कर्जा लिन चाहने लगानीकर्तालाई सहज भएको छ भने बैंकले प्रवाह गर्ने सेयर कर्जा थप बढ्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म सेयर धितो कर्जाबापत बैंक तथा वित्तीय संस्थाले एक खर्ब २४ अर्ब रुपैयाँ प्रवाह गरिसकेका छन्। नयाँ व्यवस्थाले सेयर धितो कर्जा थप बढ्ने लगानीकर्ताहरू बताउँछन् । सेयर बजारका जानकार महेश रिजालले जोखिमभार घट्दा सेयर बजारमा केही सहज हुने बताए । यसबाट बैंकहरूको कर्जा दिने क्षमता २५ अर्ब हाराहारीले बढ्न जाने र सेयर बजारलाई केही सहज हुने उनको भनाइ छ । यो नीतिले सकारात्मक प्रभाव पार्ने भन्दै लगानीकर्ताहरूले मनोबल बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्