Logo

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा उनले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई अगाडि बढाउन व्यापक सुधारका लागि निर्देशन दिएका हुन् ।

अध्यागमनमा यात्रुलाई अनावश्यक दु:ख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) रहेकामा सर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

छलफलमा काठमाडौं–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौं–धुलिखेललगायत मुख्य सडकहरू समयमै निर्माण, सीमा नाकाहरूबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाई सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवर्द्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुन:संरचना, सगरमाथा संवादपश्चात् त्यसका निष्कर्ष कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयको सफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

संघका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरू, उच्चाधिकारी र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधनका उपायबारे निजी क्षेत्रबाट प्राप्त सुझावसमेतको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्