सेयरमा लगानी उत्पादक कि अनुत्पादक ?

पछिल्ला दिनमा सेयर बजार परिसूचक नेप्सेसहित अधिकांश समूहगत सूचकहरू राताम्मे भएका छन् । वाम गठबन्धनले बहुमत ल्याएदेखि नै त्रसित लगानीकर्ताको मनोविज्ञान सरकार गठनपछि झनै खस्किएको छ । अझ धेरैले आशाको नजरले हेरेका अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरमा लगानीलाई अनुत्पादक भन्ने अभिव्यक्तिपछि बजारमा पहिरो नै गएको छ । यद्यपि, अर्थमन्त्रीले यसलाई आफूले नभनेको भन्दै सच्याउने प्रयास त गरेका छन् तर विगतदेखि नै उनको सेयर बजारसम्बन्धी दृष्टिकोणलाई नजिकबाट नियाल्ने जो–कोहीले पनि उनलाई बजारमैत्री अर्थशास्त्रीका रूपमा भने स्विकार्न सकेका छैनन् ।
अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक भनेको होइन भनेर स्पष्टीकरण दिइसक्दा पनि बजार सच्चिन सकेन । यसको कारण सेयर बजारका लाखौं लगानीकर्ताको वाम सरकारप्रतिको अविश्वास नै हो । सिद्धान्ततः खुला बजार अर्थतन्त्रको वकालत गर्ने तर व्यवहारमा भने अर्थतन्त्रका सबै अवयवलाई नियन्त्रणमै राख्ने सरकारी चाहना पनि छिपेको छैन । हामीले जति पुँजी परिचालन गरे पनि उक्त पुँजी पुनः घरजग्गा, सेयर मार्केट, अटोमोबाइल र उपभोक्तामा लगानी ग¥यौं भने त्यसको केही पनि अर्थ रहँदैन भन्ने एक अन्तर्वार्तामा खतिवडाको अभिव्यक्तिले नै सेयर बजार प्रभावित भएको देखिन्छ । सरकार गठनपछि अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्षम ठानिएका अर्थमन्त्रीको अभिव्यक्तिमा भएका शब्दभन्दा भावलाई केलाउने हो भने यसमा पनि उनी सेयर बजारप्रति सकारात्मक देखिँदैनन् । सेयर बजारको लगानीले मुलुकको अर्थतन्त्रलाई यथास्थितिमा राख्छ र अघि बढाउन सहयोग पुग्दैन भन्ने उनको अभिव्यक्तिलाई अहिलेको अवस्थामा उचित मान्न सकिँदैन ।
सेयर बजारमा हुने लगानी साँच्चै उत्पादक हो कि अनुत्पादक हो भन्ने प्रश्न यतिबेला स्वभाविक बहसको विषय बन्न सक्छ । झट्ट हेर्दा कुनै पनि लगानीबाट देखिने उत्पादन नआउँदा यसलाई अनुत्पादक क्षेत्र भन्ने देखिए पनि सेयर बजारमा हुने लगानी साध्य नभई उत्पादनको साधन मात्र हो भनेर बुझ्न सकिन्छ । पुँजी सिर्जनाका लागि वैध माध्यम भएको र यसकै माध्यमबाट सम्बन्धित कम्पनी वा उद्योगले थप लगानी विस्तार गर्ने भएकाले पुँजीबजारलाई अनुत्पादक भन्नै सकिँदैन । अनुत्पादक त त्यतिबेला मात्र भन्न सकिन्छ, यसमा हुने लगानीले मुलुकको ठूलो पुँजी कतै ‘डम्प’ भएर बसेको हुन्छ । तर, सेयर बजारमा हुने कारोबारको वृद्धिसँगै बजार पुँजीकरण बढ्ने र सिर्जना हुने पुँजीले अन्ततः उत्पादनशील क्षेत्रलाई नै सहयोग पुग्ने भएकाले यो लगानी निश्चय नै अनुत्पादक होइन । कुनै पनि कम्पनीलाई आवश्यक थप पुँजी परिचालन गर्न पनि हालैका दिनमा धेरै प्रचलनमा रहेको फरदर पब्लिक अफरिङ (एफपीओ) लगायतका उपकरणहरूले समेत पुँजीबजारसहित उत्पादनमूलक उद्योगसमेतमा बहार सिर्जना गरेको देखिन्छ भने यस्तो वित्तीय सौन्दर्य भएको क्षेत्रलाई अनुत्पादक भन्नु उचित मान्न सकिँदैन ।
निश्चय पनि सेयर बजारमा अनावश्यक हल्ला फैलाएर वा थोरै सूचनाका आधारमा धेरै हल्ला प्रवाह गरेर फाइदा लिने प्रवृत्ति पनि व्याप्त छन् । यस्ता प्रवृत्तिको अन्त्यका लागि भने नियामक निकाय सधै चनाखो बन्नुपर्छ । बजारमा जुनसुकै कारणले आएका ठूलो संख्यामा रहेका साना लगानीकर्ताको हित पनि हेरिनुपर्छ । तर, यसो भन्दैमा सेयर बजारलाई जोखिममुक्त नै बनाइनुपर्छ भन्ने पनि छैन । लगानीकर्तालाई स्वस्थ प्रतिस्पर्धात्मक वातावरणसहित यसको नाफाको हिस्सेदार बनाइनुपर्छ । तर, बजार नियमनको नाउँमा सम्पूर्ण व्यवस्थालाई नै नियन्त्रण गर्ने दुस्साहस भने कोही कसैले गर्नु हुँदैन ।