बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गर्न आग्रह
भारु ४ मा भारतलाई विद्युत बिक्री

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत बिक्री गरिरहेको बताएका छन् । कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि आइतबार उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए ।
बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए । दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताए । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताए । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे ।
शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर बिक्री गरेको बताए । जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसाबले फाइदा भएको बताए । नदीको पानी बढी हुन थालेपछि भारतबाट दिउँसो पनि कन्नि नपर्ने र दिउँसो पनि सस्तोमा भएपनि बेच्न सकिने बताए । प्रवन्ध निर्देशक शाक्यले गत बुधबार र बिहीबार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताए ।
यस्तै, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको बताए । मन्त्री खड्काले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताए । उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताए । उनले कृत्रिम कुराहरु प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताए ।
मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताए । उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे । मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिए ।
नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भएपनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताए । आतंक फैल्याउने र दु:ख दिने हिसावले टेलिफोन गर्नेहरुको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरे । मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने बताए ।