Logo

कर्णालीसँग बर्दिया जोड्ने सडकको स्तरोन्नति सुरु

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले फलाटे–रानीघाटखण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ । वीरेन्द्रनगर–२ सुर्खेतबाट लुम्बिनी प्रदेशको बर्दियाँ जोडने छोटो मार्गको रुपमा रहेको यो सडकको काम सुरु गरिएको हो ।

मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाटखण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको पूर्वाधार विकास निर्देशनालयका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । आइतबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई तराईसँग जोड्ने छोटो मार्गको पहिलोखण्ड स्तरोन्नतिको काम शुभारम्भ समेत गरिसकेका छन् ।

पूर्वाधार निर्देशनालय सुर्खेतले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलोखण्डको स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेर कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको हो । २०८३ पुस मसान्तमा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता पछि कामको सुरुवात गरिएको हो ।

२०७६/०७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलोखण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ पुस ९ गते पूर्वाधार निर्देशनालय र श्याम एण्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ फागुन ८ मा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन ।

यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८० मंसिर १घ् गतेसम्ममा काम पूरा गर्ने सर्त भएपनि हालसम्म सात सय मिटर मात्र कालोपत्र भएको छ । प्रदेश सरकारले उक्त खण्डको निर्माणको काम अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानीखण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्नेछ ।

सडक स्तरोन्नतिको काम शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले पहिलोखण्ड स्तरोन्नतिको काम सुरु भएसँगै दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताए । कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उनले यो मार्गलाई पूर्णता दिएरै छाड्ने दाबी गरे ।

‘तेलपानी–भुरीगाउँ सडक सिंगो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो,’ कँडेलले भने, ‘यसलाई पूर्णता दिन सकिएको खण्डमा बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ । यसले यहाँको समृद्धिमा ठूलो टेवा पुग्छ ।’ यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको उनले बताए ।

तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए । दोस्रो खण्ड रानीघाट–तेलपानी–भुरीगाउँखण्डमा जग्गा भोगाधिकार, रुख कटान र रानीघाटस्थित भेरी नदीमा पुल बनाउने विषयमा प्रदेश सरकार लागि परेको उनले बताए ।

त्यस्तै कर्णाली प्रदेशलाई दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मुलपानी–तेलपानी–भुरीगाउँ सडकले रुख कटानको सहमति पाएको छ । झण्डै १३ करोड लागतमा ठेक्का सम्झौता भई निर्माणको काम अघि बढेको ६ वर्षपछि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटान गर्न सहमति दिएको हो । जग्गा भोगाधिकार र रुख कटानको कानुनी प्रक्रिया पूरा नगरी निर्माण थाल्दा अलपत्र परेको सडकलाई अन्तत: निकुञ्जले अनुमति दिएपछि आयोजनाले पूर्णता पाउने आशा जगाएको छ ।

निकुञ्जले पहिलोखण्डमा पर्ने सुर्खेतको बराहताल गाउँपालिका–१ को श्रीचौरदेखि तेलपानीसम्म पर्ने रुखको लगत संकलन प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पेस गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने सडक किनाराका रुख कटानको सहमति नदिँदा निर्माणको काम रोकिँदै आएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुख कटान गर्नुपर्ने रायसहितको प्रतिवेदन निर्देशनालयमा पेस गरेको छ । निकुञ्जले तयार पारेको प्रतिवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरी संघीय वन तथा वातावरण मन्त्रालयमा पेस गरिनेछ ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि रुख कटानको प्रक्रिया सुरु हुने पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । ‘सडक क्षेत्राधिकारभित्र पर्ने चार हजार ४८४ रुखको प्रतिवेदन फाइल वन विभागमा पठाइसकेका छौँ,’ निर्देशनालयका निर्देशक शाही भन्छन्, ‘सामुदायिक र राष्ट्रिय वन क्षेत्रका ३८४ र निकुञ्जको मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्नुपर्ने हुन्छ ।’ रुख कटानबाहेक अन्य अल्झन नआए अबको एक वर्षभित्र आयोजनाले पूर्णता पाउने शाहीको दाबी छ ।

मुलपानी–रानीघाट–भुरीगाउँ–तेलपानी सडक विस्तारको मुद्दा अहिलेको भने होइन । २०७७ असार १६ मा रानीघाट–तेलपानी सडकअन्तर्गत दोस्रो खण्ड रानीघाटदेखि तेलपानीसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ–जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता मिति समाप्त हुन लाग्दा सडकको १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

२०८२ माघ १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भए पनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडक विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्