Logo

दुरी घटाउँदै झोलुङ्गे पुल

रोल्पा– सामान्यतया नदी वारपार गर्न पुल निर्माण गरिन्छ । तर रोल्पाको माडी गाउँपालिकामा भने पैदल यात्राको दुरी छोट्याउन झोलुङ्गे पुल निर्माण गरिएको छ । माडी गाउँपालिकाको दुई गाउँलाई जोड्न झोलुङ्गे पुलको निर्माण गरिएको हो । गाउँपालिकाको वडा नम्बर–२ घर्तीगाउँ र वडा–५ भाबाङलाई जोड्न बनाइएको पुलले घण्टौँ हिड्नुपर्ने समस्यामा रहेका यहाँका नागरिकलाई यात्रामा सहज बनाएको छ ।

झोलुङ्गे पुलको निर्माणसँगै पैदल हिँड्दा घण्टौँ लाग्ने यात्रा अव केही मिनेटमै पुग्न सकिने भएको छ । कष्टकर यात्रा गर्न बाध्य भएका सो क्षेत्रका नागरिकलाई अहिले यात्रामा सहज भएको छ । घर्तीगाउँ बजार आउजाउ गर्नका लागि जोखिम मोलेर घण्टौं हिड्नुपर्ने अवस्था अन्त्य भएसँगै स्थानीय खुशी भएका छन । गाउँलाई बजार तथा पालिकाको केन्द्रसँग जोड्न बनाइएको सो पुल जिल्लाको सबैभन्दा लामो पुलसमेत भएको बताइएको छ । पुलको लम्बाई ३४० मिटर रहेको छ ।

माडी गाउँपालिका–५ भाबाङका नागरिकलाई घर्तीगाउँ बजार आउजाउ गर्न र गाउँपालिकाको कार्यालयमा सेवा लिन जानको लागि थप सहज भएको माडी गाउँपालिका–५ भाबाङका स्थानीय गोपाल खत्रीले बताए । ‘पहिले शहिद मार्ग हुँदै पैदल यात्रा गर्दै घर्तीगाउँ बजार पुग्न झण्डै एक घण्टा लाग्थ्यो तर झोलुङ्गे पुलले अब उक्त समयलाई छोटो बनाएको छ’ उनले भने । झोलुङ्गे पुलमार्फत छोटो समयमै आवतजावत गर्न र पैदल यात्रा गरेर पनि भाबाङ–घर्तीगाउँ आउजाउ गर्न सहज हुने उनले बताए ।

संघीय सरकारको करिब १ करोड ५२ लाख रकममा अधिकारी अपर तामाकोसी जेभी प्रालिले पुल निर्माणको ठेक्का लिएको थियो । झोलुङ्गे पुल महाशाखा काठमाडौंको समन्वयमा पुल निर्माण कार्य भएको हो । पुल निर्माण कार्य २०८१ फागुनदेखि सुरु भएको र अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका सहायक इन्जीनियर राम खतिवडाले बताए । अबको केही दिननै काम सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने उनले बताए । अहिले टेक्निकल र जाली फिटिङको काम भइरहेको छ उनले जनाए ।

भाबाङका नागरिकलाई बजार आउजाउमा पुल निर्माणले धेरै राहत मिलेको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले बताए । पालिकाले आगामी आवको लागि सात वटा झोलुङ्गे पुल निर्माणको लागि माग गरेको उनले बताए । पहाडमा दुरी छोट्याउन पुलको आवश्यकता र महत्त्व भएको उनको भनाइ छ ।

‘पुल निर्माणले गर्दा घण्टाैंको यात्रा गर्दै विद्यालय पुग्नुपर्ने विद्यार्थीको समस्या पनि समाधान भएको छ’, उनले भने ‘पहाडमा विद्यालयहरू टाढा टाढा हुने भएकाले चुनौती छ र अग्ला डाडाँकाढा भएको ठाउँमा पुल उपयुक्त हुन्छ ।’ झोलुङ्गे पुल निर्माणले गर्दा परिवर्तन गाउँपालिका–२ राङ्सी, माडी गाउँपालिका–२ घर्तीगाउँ, वडा–३ तालाबाङ, वडा नं–५ भावाङ, गंगादेव गाउँपालिका–१ र वडा–५ जिनाबाङ लगायतका करिब ५ हजार नागरिक लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्