गर्भवती र सुत्केरीलाई गाउँपालिकाको कोसेली «

गर्भवती र सुत्केरीलाई गाउँपालिकाको कोसेली

गोरखा-गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र सुत्केरी आमाहरूलाई माइतीको पोषिलो कोसेली वितरण सुरु गरेको छ । चालू आर्थिक वर्षका लागि तय भएको नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा गाउँपालिकाले गर्भवती र सुत्केरीलाई माइतीको कोसेली वितरण सुरु गरेको हो । गर्भवती र सुत्केरी तथा बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यसहित गत पुसबाट कार्यक्रम कार्यान्वयनमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।
“माइतीको पोषिलो कोसेलीअन्तर्गत गाउँपालिकाले वर्थिङ सेन्टरमा गर्भ जाँच तथा सुत्केरी भएकाहरूलाई चार चरणमा कोसेली दिन्छौं ।” उनले भने, “चार पटकमा करिब ५ हजार रुपैयाँबराबरको पोषिलो खानेकुरा, सरसफाइ सामग्री र न्यानो कपडा दिइन्छ ।” नियमित गर्भ जाँच गर्ने क्रम बढाउन र घरमा सुत्केरी हुने क्रम रोक्नका लागि महिलालाई प्रेरीत गर्न गाउँपालिकाले माइतीको कोसेली दिन थालेको हो । यसले मातृशिशु स्वास्थ्यमा सुधार आउने गाउँपालिकाको विश्वास छ ।
माइतीको पोषिलो कोसेलीअन्तर्गत गर्भवती भएको ३ महिना पूरा भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा जचाँउन जानेले एक क्रेट अन्डा, साबुन, नङकट र आमा सुरक्षा कार्ड पाउँछन् । आमा सुरक्षा कार्डमा गर्भावस्थाका जटिलता र सावधानी अपनाउनु पर्ने विषयहरू उल्लेख गरिएको हुन्छ । सो क्रममा आफैले घरमा उत्पादन गरी खानका लागि सिजन अनुसारका सागतपातका बीउ पनि दिइनेछ । यस्तै, गर्भ रहेको ६ महिनमा दोस्रो पटक गर्भ जाँच गर्ने क्रममा एक क्रेट अण्डा र एककिलो गेडागुडी दिइने गाउँपालिकाले जनाएको छ । गर्भ रहेको आठौं महिनामा गर्भ जाँच गराउने क्रममा उनीहरूले एक क्रेट अण्डा माइतीको कोसेलीका रूपमा पाउँछन् । गर्भ रहेको नवौं महिनामा गर्भ जाँच गर्ने क्रममा पनि एक क्रेट अण्डा दिइनेछ । सो क्रममा श्रीमान् वा परिवारका निर्णयकर्ता गर्भवतीसँगै स्वास्थ्य संस्थामा गएका एक थान टाबेल पनि दिइने स्वास्थ्य शाखा प्रमुख दवाडीले जानकारी दिए ।
बर्थिङ सेन्टरमा सुत्केरी भएपछि गाउँपालिकाले अन्तिम पटक माइतीको कोसेली दिन्छ । सो क्रममा गाउँपालिकाको लोगोसहितको पछ्यौरा, एक क्रेट अण्डा, एक लिटर तेल, ज्वानो, र मेथी दिइनेछ । वर्थिङ सेन्टरमा गर्भ जाँच तथा सुत्केरी गराएकाले मात्रै माइतीको कोसेली पाउनेछन् । अजिरकोट गाउँपालिकामा घ्याच्चोक, खरिबोट, भच्चेक, सिम्जुङ, मुच्चोक र बालुवामा वर्थिङ सेन्टर सञ्चालनमा छन् । कार्यक्रम कार्यान्वयनमा आएको डेढ महिनाको अबधिमा ५६ जना महिलाले माइतीको कोसेली पाएका गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्