Logo

परियोजना व्यवस्थापनको महत्व र अवस्था

परियोजना व्यवस्थापन भनेको कुनै निश्चित उद्देश्य, समय र बजेटभित्र परियोजना सफलतापूर्वक सम्पन्न गर्ने प्रक्रिया हो । यसले संसाधनहरूको उचित व्यवस्थापन, जोखिम प्रबन्धन र गुणस्तर नियन्त्रण गर्न मद्दत गर्छ । यस लेखमा प्रोजेक्ट म्यानेजमेन्टको महत्व, यसका सिद्धान्त, नेपालमा यसको अवस्था, समस्या र समाधानका उपायबारे चर्चा गरिएको छ ।

आर्थिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, सूचना प्रविधिजस्ता क्षेत्रहरूमा प्रोजेक्ट म्यानेजमेन्टले ठूलो भूमिका खेल्छ । तर, नेपालमा प्रोजेक्ट म्यानेजमेन्टको अभ्यास अपर्याप्त छ, जसले गर्दा धेरै परियोजनाहरू असफल हुन्छन् वा समयमै पूरा हुँदैनन् । यसले देशको विकास प्रक्रियामा ठूलो बाधा उत्पन्न गरेको छ ।

प्रोजेक्ट म्यानेजमेन्ट भनेको कुनै विशिष्ट लक्ष्य प्राप्त गर्नका लागि योजना बनाउने, कार्यान्वयन गर्ने, नियन्त्रण गर्ने र मूल्यांकन गर्ने प्रक्रिया हो । यसमा लक्ष्य निर्धारण, समय, लागत र गुणस्तरको व्यवस्थापन, जोखिम विश्लेषण र प्रबन्धन तथा टोली सहकार्य र सञ्चार पर्छन् ।

प्रोजेक्ट म्यानेजमेन्टले परियोजनाका लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित गर्छ । कार्यहरू व्यवस्थित रूपमा सम्पन्न गर्छ । परियोजना निर्धारित समय र बजेटभित्र पूरा गर्न सहयोग गर्छ । अनावश्यक खर्च र ढिलाइलाई न्यूनीकरण गर्छ । सम्भावित जोखिम पहिचान गरी न्यूनीकरणका योजना बनाइन्छ । आकस्मिक समस्याहरूको समाधान गर्न सजिलो हुन्छ । परियोजनाको गुणस्तर निर्धारित मापदण्डअनुसार कायम राख्न मद्दत गर्छ । ग्राहक वा हितग्राहीको सन्तुष्टि बढाउँछ । सबै सम्बन्धित पक्षहरूबीच सहज सञ्चार हुन्छ । आयोजना कार्यान्वयन टोली सदस्यहरूको भूमिका स्पष्ट पार्छ ।

नेपालमा विभिन्न विकास परियोजनाहरू (सडक, विद्युत, स्वास्थ्य, शिक्षा आदि) सरकार र गैर–सरकारी संस्थाहरूद्वारा सञ्चालन गरिन्छन् । तर, धेरै परियोजना समयमै पूरा हुँदैनन्, लागत बढ्छ, वा गुणस्तर घट्छ । यसको प्रमुख कारण प्रोजेक्ट म्यानेजमेन्टको कमजोर अभ्यास हो ।

धेरै परियोजना उचित अध्ययन र योजनाबिना सुरु गरिन्छ । वास्तविक आवश्यकता र संसाधनको विश्लेषण हुँदैन । परियोजनाहरूमा राजनीतिक प्रभावले ढिलाइ र अनियमितता बढाउँछ । योग्यताभन्दा राजनीतिक आधारमा नियुक्ति हुन्छ । प्रशिक्षित प्रोजेक्ट म्यानेजरहरूको अभाव छ । परियोजना टोलीले आधुनिक प्रविधि र तरिका प्रयोग गर्दैनन् । कोष दुरुपयोग र भ्रष्टाचारले परियोजनाहरू असफल बनाउँछ । अनुगमन तथा मूल्यांकन प्रणाली कमजोर छ । सरकारी प्रक्रियाहरू जटिल र ढिला छन् ।

नेपालमा वार्षिक बजेट विनियोजनमार्फत आयोजना कार्यान्वयन गरिन्छ । संघले जेठ १५, प्रदेशले असार १ र स्थानीय सरकारले असार १० गते आगामी आर्थिक वर्षको बजेट पेस गर्छन् । संघले परियोजना बैंक बनाएको छ । बैंकबाट झिकेर वार्षिक बजेट कार्यक्रममा आयोजनाहरू राखिन्छ । प्रदेश र स्थानीय सरकारका प्रोजेक्ट बैंक छैनन् ।

केही प्रदेश र स्थानीय सरकारले प्रोजेक्ट बैंक भएको दाबी गरे पनि ती अर्थहीन छन् । संघकै प्रोजेक्ट बैंक पनि पूर्णतः कार्यान्वयनमा छैन । धेरै परियोजना कसैले नाम टिपाएको आधारमा प्रोजेक्ट बैंकमा वा सोझै वार्षिक बजेट किताबमा आउँछन् । परियोजना सफल हुन बजेट किताबमा आउनुअघि धेरै चरण पार गरेको हुनुपर्छ ।

परियोजनाको आवश्यकता महसुस कहीँ कतैबाट हुन्छ । जस्तो कि विदेशमा काम भएको देखेर यहाँ पनि त्यस्तै बनाउनुपर्‍यो भन्ने लाग्छ । मानिसले समस्या भोगिरहेका छन् भने समाधान गर्नुपर्ने हुन्छ । विश्वविद्यालय, रिसर्च संस्था, थिंक ट्यांक आदिले रिसर्च रिपोर्टहरू सार्वजनिक गरेर विकासको ग्याप देखाइदिन्छन् ।

व्यक्ति, समूह, समुदायले आफ्ना आवश्यकता पूरा नभएको, सुविधा नपाएको र यो–यो भएमा आवश्यकता पूरा हुने भनेर माग राख्छन् । राजनीतिकर्मी वा नीति निर्माणमा पहुँच भएको व्यक्ति पदाधिकारीले कुनै कल्पना गर्छ । यहाँ यस्तो–यस्तो बनाउँछु भनेर सोच बनाउन सक्छ ।

माग भएका ठाउँमा बजेट विनियोजन गरिदिनु जनताको माग सम्बोधन गर्नु होइन । बजेट सीमित हुन्छ । माग असीमित हुन्छन् । नेपालमा सबैको चित्त बुझाउनुपर्‍यो भनेर धेरै आयोजनामा थोरै–थोरै बजेट विनियोजन गरिन्छ, जसले गर्दा नतिजा शून्य र स्रोतको दुरुपयोग हुन जान्छ ।

परियोजना भनेको सोच र लक्ष्यबीचको सुरक्षित पुल हो । कुनै कुरा सोच्दैमा प्राप्ति हुँदैन । त्यो प्राप्ति गर्न चाहिने सम्पूर्ण संसाधन र समयको योजना गरेर विस्तृत विवरण तयार गर्नुपर्छ । योजनालाई पूर्वपरीक्षण गर्नुपर्छ । काम सुरक्षित ढंगले सम्पन्न हुने, टिकाउ हुने र निरन्तर प्रतिफल दिने सुनिश्चित भएपछि मात्र काम सुरु गर्नुपर्छ ।

विकास मानिसका लागि चाहिने हो । कुन विकास कहाँ गर्दा बढीभन्दा बढी मानिस लाभान्वित हुन्छन् ? कुन विकासले छिटो, धेरै र दिगो प्रतिफल दिन्छ ? त्यसको सट्टा अर्को काम गर्दा त्योभन्दा राम्रो प्रतिफल आउँछ कि ? यस्ता विषयमा पर्याप्त विश्लेषण गरेर मात्र परियोजना छनोट गर्नुपर्छ ।

नेपालमा परियोजना असफलताको एउटा उदाहरणका रूपमा माथिल्लो तामाकोसी हाइड्रोपावरलाई लिऊँ । वि.सं. २०६८ जेठमा पाँच वर्षमा सक्ने भनेर सुरु गरियो । ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरियो । ब्याजसहित ४९ अर्ब लागत पर्ने देखिन्थ्यो । तर, सस्तो परियोजना भनेर प्रचार गर्ने उद्देश्यले ४ सय ५६ मेगावाटको आयोजनामा ३५ अर्बमा बन्छ भनेर चर्चा गरियो ।

आयोजना १० वर्षमा सम्पन्न भयो । लागत खर्च ९० अर्ब रुपैयाँ पुग्न गयो । परियोजनाको पे ब्याक पिरियड २४ वर्ष हुने देखिन्छ । आयोजनाको अवधि २५ वर्षको छ । लगानी २४ वर्षमा उठ्ने भएपछि लाभांश एक वर्ष मात्र प्राप्त हुन्छ ।

परियोजना निर्माण सम्पन्न हुनुलाई सफल भनिँदैन । तोकिएको समय, गुणस्तर, लागत र परिमाणमा सम्पन्न हुनुलाई मात्र सफल भनिन्छ । यसरी असफल हुनुको कारण केलाउँदा के–के देखिन्छन् त ? परियोजनाको डिजाइन सही नबनाउनु, जसले गर्दा नयाँ डिजाइन गर्दा थप लागत देखिनु । लागत अनुमान यथार्थपरक नबनाउनु । कभरेज गर्नुपर्ने सबै जोखिमको बीमा नगर्नु ।

त्यसबाहेक स्कटहोल्डर एनालाइसिस (सरोकारवाला विश्लेषण) सही ढंगले नहुनु पनि परियोजना असफल हुनुको कारण हो । परियोजनाले पार्ने प्रभाव पहिल्यै पहिचान गर्नुपर्छ । त्यसलाई पारदर्शी ढंगले सार्वजनिक गरेर त्यसबापत समुदायका लागि खर्च गर्नुपर्नेछ भने त्यो पहिले नै परियोजना लागतमा समावेश गर्नुपर्छ ।
परियोजना प्रमुख सम्बन्धित कामका लागि कति योग्य व्यक्ति हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । उसलाई निर्णयको अधिकार र स्वायत्तता दिनुपर्छ । योग्य विभागीय कर्मचारी नियुक्त गर्ने अधिकार पनि उसमा हुनुपर्छ । कर्मचारीको सरुवाको अधिकार र दायित्व परियोजना प्रमुखको हुनुपर्छ ।

नियत नै खराब राखेर भ्रष्टाचार वा व्यक्तिगत लाभको उद्देश्य राखेर काम गर्दा परियोजना असफल हुने कारण त छँदै छ; असल नियतले काम गरे पनि माथिका तयारी पूरा भएनन् भने परियोजना सफल हुँदैन ।

तामाकोसीभन्दा बढी असफल परियोजना नेपालमा कति छन् कति ! २५ अर्ब ३४ करोड रुपैयाँ खर्र्चिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ३५ अर्ब ६६ करोड रुपैयाँ खर्चिएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज उड्दैनन् । निर्माण अवधि र लागत तीन–चार गुणा बढेका परियोजना कैयौँ छन् । सिँचाइ परियोजना निर्माण सम्पन्न हुँदा खेतहरू बस्तीमा परिणत भइसकेका वा मानिसले खेती पेसा नै छोडिसकेका उदाहरण पनि छन् ।

परियोजना सफल बनाउन प्रोजेक्ट म्यानेजरहरूको प्रशिक्षण र प्रमाणीकरणलाई प्रवद्र्धन गर्नुपर्छ । तालिम कार्यक्रमहरू सञ्चालन गरी कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्छ । परियोजना सुरु गर्नुअघि गहन सम्भाव्यता अध्ययन गर्नुपर्छ । नियमित अनुगमन मूल्यांकन गर्ने प्रणाली लागू गर्नुपर्छ । सार्वजनिक रूपमा प्रगति र खर्चको जानकारी उपलब्ध गराउनुपर्छ ।

मानिसले मात्र गर्दा सम्भव नहुने चिज प्रविधिले सम्भव तुल्याउँछ । त्यसैले डिजिटल प्रोजेक्ट म्यानेजमेन्ट टुल प्रयोग गर्नुपर्छ । डाटा एनालिटिक्स र एआईलाई परियोजना व्यवस्थापनमा समावेश गर्नुपर्छ ।

निष्कर्ष
नेपालमा प्रोजेक्ट म्यानेजमेन्टको उचित अभ्यास नभएकाले धेरै विकास परियोजना असफल हुन्छन् । यदि देशले आर्थिक विकास गर्नुपर्छ भने प्रोजेक्ट म्यानेजमेन्टको व्यवसायीकरण, प्रशिक्षण र प्रविधिको उपयोग बढाउनुपर्छ । सरकारले यसलाई प्राथमिकतामा राखेर नीतिगत सुधार गर्नुपर्छ । प्रोजेक्ट म्यानेजमेन्टले मात्र नेपालको विकास प्रक्रियालाई गतिशील, पारदर्शी र प्रभावकारी बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्