Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई छैटौं पटक ‘थ्री ए’ रेटिङ

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई क्रेडिट रेटिङ संस्था ईक्राएनपी–आईआर) आईसीआरए नेपालले छैटौं पटक पनि थ्री ए रेटिङ दिएको छ । यो रेटिङ वित्तीय दायित्व समयमै पूरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम हुने मानिन्छ ।

ईक्रा नेपालले जारी गरेको विश्लेषणमा बैंकको पुँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुन: पुष्टि गर्ने मुख्य कारण रहेका छन् । चालू वर्षको मध्य अप्रिलसम्म बैंकको पुँजी पर्याप्तता अनुपात १७.४४ प्रतिशत र टियर–१ पुँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

बैंकको नन–पर्फर्मिङ लोन १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गका बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ । यस्ता संकेतले बैंकको उधार प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव क्षमतामा बलियो देखिएको बताइएको छ । बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले छैटौं पटक पनि थ्री ए रेटिङ प्राप्त गर्नु सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्