बीमा प्राधिकरणको ‘बीमा प्रतिविम्ब’ प्रकाशन सुरु

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य–मुख्य तथ्यांक विश्लेषणसहितको मासिक तथ्यांक संस्करण बीमा प्रतिविम्ब प्रकाशन गर्न सुरु गरेको छ ।
बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्र्योट, बीमालेख संख्या, बीमाशुल्क संकलनलगायत बीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिक रूपमा प्रकाशन गर्न सुरु गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीति निर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिक रूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए ।
अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आमनागरिकलाई बीमा क्षेत्रसम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट यस क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकता पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
चालू आर्थिक वर्षको चैतसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कुल बीमालेख संख्या, बीमाशुल्क संकलन र सोल्भन्सी अनुपातलगायत विवरण समावेश गरिएका छन् ।
यसैगरी चालू आर्थिक वर्षको चैतसम्म प्राधिकरणबाट सम्पादन भएका काम–कारबाहीसहित मुख्य मुख्य उपलब्धि बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणमा समावेश गरिएका छन् । प्राधिकरणबाट नियामकीय काम–कारबाही, दाबी उजुरी दर्ता तथा फछ्र्र्योट, बीमकको स्थलगत निरीक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृतिलगायतका मुख्य मुख्य विषय विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।