Logo

वास्तविक धरातलमा टेकेर बजेट ल्याउँछौ: मुख्यमन्त्री

दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वास्तविक धरातलमा टेकेर ल्याउने बताएको छ । नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताएका हुन् ।

‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन । तर, हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउने छौं, जसले प्रदेशलाई लयमा अगाडि बढाउनेछ’ उनले भने, ‘विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजान प्रदेश सरकार आँटका साथअघि बढ्ने प्रयासमा छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार आगामी वर्षको बजेटमा नयाँ योजनाभन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिनेछ । उनले भने, ‘हामी सकेसम्म नयाँ योजना बनाउने पक्षमा छैनौं । पूरा हुन नसकेका, अधुरा योजनाहरूलाई सम्पन्न गर्ने विषय सरकारको प्राथमिकतामा पर्छ । समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात गरेर बजेट निर्माण हुनेछ ।’

उनले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको पनि जानकारी दिए । अन्तक्र्रिया आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्ने लगायतका सुझावहरू दिएका छन ।

मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रदेश सरकारले दोस्रो आवधिक योजनाले लिएका क्षेत्रगत प्राथमिकता, नीति तथा कार्यक्रम, बहुवर्षीय स्रोत सुनिश्चितता भएका योजनाहरू समयमै सम्पन्न गर्नेजस्ता विषयलाई ध्यानमा राखेर बजेट विनियोजनको प्राथमिकता निर्धारण गरिएको जानकारी दिए । उनले प्रदेशको क्षेत्राधिकार भित्रका योजनाहरू, नेपाल सरकार तथा स्थानीय तहसँग दोहोरो नपर्ने गरी तयारी गरिएको बजेट तथा कार्यक्रममा समेटिने बताए ।

बजेट खर्च गर्ने क्षमतामा वृद्धि भइरहेको र स्रोत परिचालन तथा प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको कुरामा उनले जोड दिए । कार्यक्रममा सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा बजेटको प्राथमिकता निर्धारण गरिनुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइलगायतका क्षेत्रमा प्राथमिकता दिनुपर्ने, बहुआयामिक गरिबी घटाउने उद्देश्यसहित नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझावहरू राखिएका थिए ।

उत्पादनमूलक उद्योग र कृषि उत्पादन वृद्धि, सामाजिक दृष्टिले प्रभाव पार्ने खानेपानी सुविधा, सरसफाइ तथा शौचालय प्रयोगको अवस्था सुधार, मातृ मृत्युदर घटाउने, साक्षरता दर वृद्धि, विद्यालय छाड्ने दर घटाउने, कुपोषण र रक्तअल्पता न्यूनीकरणमा बजेटले प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिए । अघिल्ला वर्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरू आगामी वर्ष दोहोरिन नदिने गरी तयारी गरिएको जानकारी दिइएको छ ।

१० लाखभन्दा कम बजेट भएका योजना धेरै हुनु, बहुवर्षीय योजनाको संख्या बढ्दै जानु, अधुरा योजना धेरै हुनु, बजेट अनुमान र यथार्थबीच अन्तर धेरै हुनु, बजेटको आकार ठूलो हुनु, आन्तरिक आयको दायरा साँघुरो हुनु र चालु खर्च निरन्तर बढिरहेको विषयलाई चुनौतीको रूपमा लिदै सुधारको योजना निर्माणमा सरकारले ध्यान दिएको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्