Logo

नेपाल असमानता प्रतिवेदन २०२५ सार्वजनिक

१० प्रतिशत धनीको भागमा कुल सम्पत्तिको ५७ प्रतिशत स्वामित्व

काठमाडौं– पछिल्ला पाँच दशकमा नागरिकहरूको जीवनस्तर सुधारमार्फत नेपालले चरम गरिबी घटाउन महत्त्वपूर्ण प्रगति हासिल गरे पनि आय र सम्पत्तिमा असमानता बढिरहेको अध्ययनले देखाएको छ । गैरसरकारी संस्था महासंघले सार्वजनिक गरेको द्धितीय तथ्यांकमा आधारित नेपाल असमानता प्रतिवेदन २०२५ अनुसार सम्पत्ति सिर्जनामा असमानता बढ्दै गइरहेको हो ।

एक निश्चित समूहले देशको स्रोतसाधनमा असीमित हिस्सामा आफ्नो नियन्त्रण कायम राखेको छ । अर्कोतर्फ लाखाैं जनताले आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेका छन् । प्रतिवेदनअनुसार सबैभन्दा धनी १० प्रतिशतले कुल सम्पत्तिको ५७ प्रतिशतभन्दा बढी स्वामित्व राखेका छन । अर्कोतर्फ सबैभन्दा पिँधमा रहेका ४० प्रतिशतले १० प्रतिशत सम्पत्तिमा मात्र स्वामित्व राख्छन् ।

नेपालका सबैभन्दा धनी १० प्रतिशतले सबैभन्दा गरिब ४० प्रतिशतको आयभन्दा तीन गुणा बढी कमाउँछन् । पछिल्ला वर्षहरूमा धनी र गरिबबीचको खाडल तीव्र रूपमा बढेको र परिणामस्वरूप नेपाल दक्षिण एसियाको सबैभन्दा असमान देशहरूमध्ये एक भएको छ । विप्रेषण र आर्थिक वृद्धिले गरिबी न्यूनीकरणमा योगदान पुर्‍याएको भए पनि समाजका धनी र गरिब वर्गहरू बीचको असमानतालाई निरन्तरता दिने संरचनात्मक असमानताहरूलाई सम्बोधन नगरिएको प्रतिवेदनको निष्कर्ष छ ।

पछिल्ला ३० वर्षमा नेपालले प्रतिव्यक्ति उपभोगमा उल्लेखनीय परिवर्तन आएको छ । सन् १९९५/९६ मा ६ हजार ८०२ रुपैयाँबाट बढेर सन् २०२२/२३ मा १ लाख ३० हजार ८५३ रुपैयाँ पुगेको छ । तर, सबैभन्दा धनी र गरिब २० प्रतिशतबीचको खाडल अझै प्रष्ट रूमा बढेको छ । सन् २०२२/२३ मा सबैभन्दा धनी २० प्रतिशतको वार्षिक प्रतिव्यक्ति उपभोग २ लाख ५४ हजार ८०६ रुपैयाँ छ । जहाँ सबैभन्दा गरिब २० प्रतिशतको ५७ हजार ८५५ रुपैयाँ मात्र छ ।

उपभोगको ढाँचाले पनि असमानताको स्थायित्वमा योगदान पुर्‍याउने देखाउँछ । २०२२/२३ मा सबैभन्दा गरिब २० प्रतिशत घरपरिवारले आफ्नो बजेटको ५६.८४ प्रतिशत खानामा खर्च गरेको देखाउँछ । जबकी सबैभन्दा धनी २० प्रतिशतले केवल ३२.८६ प्रतिशत मात्र छुट्याएका छन । यसको अर्थ धनीले गैर–खाद्य खर्चहरूमा लगानी गर्न सक्ने र त्यसले उनीहरूको जीवनस्तरमा अझ सुधार ल्याउनेछ ।

प्रतिवेदनमा आय र सम्पत्तिमा रहेको असमानता बाहेक जलवायु, शिक्षा, खाद्य, स्वास्थ्य, बसाइसराइ, राजनीति र सम्पत्तिका क्षेत्रहरूमा बहु असमानता र अन्तरसम्बन्धहरूको खोजी गरेको छ । यसले बढ्दो सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक असमानताहरूले सीमान्तकृत मानिसहरू र समुदायहरूको अवस्थालाई कसरी नकारात्मक रूपमा असर गरिरहेको छ भनेर देखाउँछ । प्रतिवेदनले राज्य, संस्थालगायत सबै शक्तिधारकलाई प्रणालीगत र संरचनात्मक असमानताहरूको उन्मूलनलाई प्राथमिकताको केन्द्रमा राख्न आह्वान गरेको छ ।

प्रतिवेदन गुणात्मक र प्रमाणमा आधारित, डेस्क अनुसन्धान तथा सरोकारवालाहरूको परामर्शमा तयार गरिएको हो । प्रतिवेदन तयार गर्दा सरकारी प्रतिवेदनहरू, शैक्षिक कागजातहरू, नीतिगत संक्षिप्त विवरणहरू, अनुसन्धान अध्ययनहरू, नागरिक समाज प्रकाशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको डेटासेटबाट प्राप्त द्धितिय स्रोतमा आधारित छ । विशेषगरी २०१५ पछि प्रकाशित र अप्रकाशित सम्बन्धित कागजातको समीक्षा गरिएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्