Logo

पर्वतका ६ पालिकाका आफ्नै भवनमा

पर्वत– संघीयता लागु भएसँगै सिंहदरवारको अधिकार गाउँ गाउँमा आएको नौ वर्ष पुगिसेकेको छ । स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षको अवधिमा पर्वतका ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले भने गत मंसिर अन्तिम सातादेखि मात्र भवन निर्माण सुरु गरेको छ ।

जिल्लामा स्थापनाको सुरुवातदेखि महाशिला गाउँपालिकाले साविकको बालाकोट गाविसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको थियो भने अहिले मात्र भवन निर्माण पुरा गरेको छ । यसबाहेक अन्य ६ वटा पालिका भाडाको घरमा सञ्चालनमा आएका थिए । स्थापना कालमा भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले विसं २०८० माघदेखि आफ्नै भवनवाट सेवा दिन थालेको हो ।

३ करोड ४९ लाखको लागतमा १४ कोठे पक्की भवन निर्माण भएसँगै पालिकाले आफ्नै भवनवाट सेवा प्रवाह गर्दै आएको छ । तीन वर्षमा सम्पन्न भएको भवनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा, शिक्षा, प्रशासन, कृषिलगायतका शाखाहरु राखिएको छ ।

प्रशासकीय भवनमा १४ वटा कोठा रहेका छन् भने यस अघि बनेको बी ब्लकको भवनमा १३ वटा गरी २७ वटा कार्यकक्ष रहेका छन् । भवन सम्पन्न भएपछि भाडामा रहेका सबै शाखा आफ्नै भवनबाट सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताइन् । उनका अनुसार मोदीका आठ वटै वडा कार्यालयसमेत बनिसकेका छन् ।

यसैगरी पैंयुँ गाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । पैयूँ गाउँपालिका–४ हुवास स्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भएको थियो । प्रशासकीय भवन साढे तीन तलाको रहेको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन पाँच करोड ४८ लाख ४८ हजार ९९० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको हो ।

विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ । वडा–४ वहाकीमा तीन करोड, १५ लाख ५५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरि सेवा प्रवाह गर्दै आएको हो । योसँगै सुरुवातमा ५० लाखको लागतमा बनेको अर्को भवन गरी दुईवटा ब्लकबाट सबै शाखा सञ्चालन गरी सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए ।

यस्तै जलजला गाउँपालिकाले आफ्नै भवनबाट यही जेठ १ गतेदेखि कार्यालय सञ्चालनमा ल्याएको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए ।

पालिकाले तीन करोड ४० लाखको लागतमा आफ्नै भवन बनाएको हो । स्टिल फेब्रिकेशन प्रविधिको तीनतले भवनमा करिब ३० वटा कोठा छन् । माथिल्लो तलामा बैठककक्ष र सभाहल निर्माण भएको छ । घेराबार, चमेनागृह र बाहिरी भागमा ढुंगा बिछ्याउने र फर्निचर व्यवस्थापन गर्न थप ६० लाख खर्च हुने इञ्जिनियर सुनल बानियाँले जानकारी दिए ।

फलेवास नगरपालिकाको भवन निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । स्थापनाकालमा भाडाको घरमा, केही समय फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन हुँदै आएकोमा तीन वर्षदेखि–५ को झकलकमा अस्थायी संरचना बनाएर कार्यालय सञ्चालन हुँदै आएको छ । अहिले पालिकाको पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न गरेर कार्यालय सार्ने तयारी रहेको छ । निर्माणाधिन भवनमा ४२ वटा कोठा रहेका छन् । भवन निर्माणका लागि विसं २०७८ भदौमा सम्झौता भएको थियो । ९ करोड २ लाख रुपैयाँको लागतमा भवन बनेको हो । महाशिला गाउँपालिकाले पनि झण्डै ५ करोड रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेको छ । वडा–३ बालाकोट र वडा–५ लुंखुदेउरालीको सिमाना रहेको काफलडाँडामा भवन बनाइएको हो ।

३० वटा कोठा रहेको भवनबाट कार्यालय सञ्चालनको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिए । ग्रामीण र दुरदराजका पालिकाहरुले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले भने बल्ल भवन निर्माण सुरु गरेको छ । गत मंसिर अन्तिम सातादेखि भवन निर्माण सुरु भएको हो । अहिलेसम्म झण्डै २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार कुश्मा नगरपालिका–५ स्थित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको तीन रोपनी ९ आना क्षेत्रफलमा भवन निर्माण सुरु गरिएको हो । गत भदौ ५ गते कुश्मा नगरपालिकासँग न्यु ड्रागन निर्माण सेवाले विसं २०८३ फागनु ५ भित्र सम्पन्न गर्नेगरी १४ करोडमा निर्माणको सम्झौता गरेको छ । भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखाहरु संचालन गरेको छ । मासिक झण्डै डेढ लाख भाडा तिर्ने गरेको नगरप्रमुख जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्