Logo

कर्मचारी अभावले सरकारी संरचना निर्माणमा समस्या

वीरेन्द्रनगर– भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माण गर्नका लागि स्थापना भएको आयोजना कार्यान्वन एकाई ( भवन तथा आवास) जाजरकोटमा कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा समस्या भएको छ । २५ जना स्वीकृत दरबन्दी भएको सहरी विकास तथा भवन निर्माण विभाग आयोजना कार्यान्वन एकाई जाजरकोटमा हाल कर्मचारीको अभावमा काम गर्न मुस्किल हुँदै आएको छ ।

भूकम्पबाट प्रभावित तीन जिल्लाका ३३ सरकारी संरचना निर्माण गर्नका लागि स्थापना भएको यो कार्यालयमा काम गर्ने कर्मचारीको अभाव हुँदा समस्या भएको हो । ११ जना इन्जिनियरको दरबन्दी भएकोमा हालसम्म २ जना मात्र पदपूर्ति भएको छ । करारमा तीन जना कार्यरत रहेको कार्यालयले जानकारी दिएको छ । लेखापाल, सुब्बा, कार्यालय प्रमुखसहित ९ जनाको मात्र पदपूर्ति भएको छ ।

भूकम्पबाट भत्किएका जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, अछानी हेल्थपोष्टको मात्र बोलपत्र आह्वान गरिएको छ । अन्य भौतिक संरचना निर्माणका लागि डिजाइनका काम भइहेको कार्यालय प्रमुख खडकबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार जिल्ला हुलाक कार्यालय र जिल्ला अदालत भवन पुननिर्माण, जिल्ला वन कार्यालयको पुरानो भवन मर्मत कार्य, जिल्ला समन्वय समितिको कार्यालय भवन पुनर्निर्माण हुने छन् ।

त्यस्तै जिल्ला खानेपानी तथा सिंँचाइ कार्यालयको आवास भवन, जिल्ला सरकारी वकिल कार्यालय भवन, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला प्रशासन कार्यालय भवन मर्मत कार्य हुने छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय (आवास) भवन, रुकुम जिल्ला अदालत भवन मर्मत हुने छ भने जिल्ला प्रशासन कार्यालय रुकुमको आवास भवन पुनर्निर्माण गरिने उनले बताए ।

कृषि विकास कार्यालय रुकुमको कार्यालय भवन मर्मत कार्य, आँखा उपचार केन्द्र सल्ले रुकुमको भवन पुनर्निर्माण, जिल्ला समन्वय समितिको कार्यालय जाजरकोट भवन, जिल्ला कृषि विकास कार्यालय, जिल्ला कारागार कार्यालयको आवास भवन, जिल्ला अस्पताल जाजरकोट परिसर भित्रका भवन र दल्ली प्राथमिक अस्पताल नलगाड जाजरकोट भवन पुनर्निर्माण हुने भएका छन् ।

मैदे सामुदायिक स्वास्थ्य क्लिनिक भवन जाजरकोट, ठूली बर्खु आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन, आठविसकोट १२ रुकुम पश्चिम माइला आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन, कुशे–७ जाजरकोटको भवन पनि पुनर्निर्माण गरिने कार्ययोजनामा रहेको छ । चाइना बगर स्वास्थ्य चौकी भवन निर्माण, सानोभेरी–१ पश्चिम रुकुम डाँडागाउँ सामुदायिक स्वास्थ्य केन्द्र भवन, आठबिसकोट–११ गातासैना आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन पुनर्निर्माण गरिने भएको छ ।

गत असोजमा स्थापना भएको यो कार्यालयमा कर्मचारी अभावका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको हो । तीन जिल्लाका सरकारी संरचना निर्माण गर्न जाजरकोटमा कार्यालय स्थापना गरिएपछि ठेक्काको काम सुरु भएको हो । त्यस्तै अन्य स्थानीयका घर निर्माणका लागि पुनर्निर्माण प्राधिकरणको कार्यालय भेरी नगरपालिका–१ रिम्नामा स्थापना गरिएको छ । भूकम्पबाट भत्किएका विद्यालय भवन निर्माणको काम प्रदेश सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्