भित्र्याउन लागेको बाली र स्याउ असिनाले सखाप

जुम्ला– भिषण असिना पानीले जुम्लामा हिउँदे बाली र स्याउ बगैंचा सखाप पारेको छ । भित्र्याउने तयारीमा रहेको हिउँदे बाली (जौ, गहुँ) र भर्खर फूल फुलेर फल लाग्ने तयारीमा रहेको स्याउका बिरुवामा असिना पानीले ठूलो क्षति गरेको हो ।
शुक्रबार साँझ चार बजेदेखि पाँच बजेसम्म लगातार परेको भारी असिना र पानीले जुम्लाको तिला गाउँपालिका–९ मा सबैभन्दा ठूलो क्षति गरेको छ । स्थानीयका अनुसार त्यहाँ झण्डै आधा फिट असिना परेको छ ।
हिउँदे बाली उत्पादनको हबका रुपमा हेरिने तिला गाउँपालिका–९ को रासामाला पानी, खोप्री लगायतका क्षेत्रमा असिनाले बालीनाली र स्याउखेतीमा क्षति पुर्याएपछि किसान चिन्तामा रहेका छन् । तिला–९ भौगोलिक रुपमा जिल्लाकै सबैभन्दा विकट वडा हो । त्यहाँ अझै बीमा सारक्षता पुग्न सकेको छैन । यसका कारण किसानले प्राकृतिक विपत्तिबाट क्षति व्यहोर्नुपरे पनि राहत र क्षतिपूर्ति कतैबाट पाउन सकेका छैनन् ।
तिला–९ का स्थानीय उमेश रावतले असिनाले बालीनाली र स्याउ खेतीलाई पूर्ण रुपमा सखाप पारेको बताए । उनले भने, ‘जौ र गहुँ भित्र्याउने तयारीमा थियांै । स्याउका बगैंचा फूल फुलेर चिचिला लागेका थिए । असिनाले सबै झारिदियो । वर्षभरिको मेहनत क्षणमै गयो ।’ सिमी, आलु, मकै, फापर लगायत बाली पनि पूर्ण रुपमा नष्ट भएको उनले बताए । ‘स्याउ, आरु, ओखरका चिचिला समेत झारेको छ । किसानलाई ठूलो बज्रपात पर्यो ? तत्काल हामीलाई राहत दिनुपर्छ । नभए कालापहाड हानिनुको विकल्प छैन,’ रावतले भने ।
असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घर प्रत्यक्ष प्रभावित भएका छन् । तिला गाउँपालिका–९ का वडाध्यक्ष धनबहादुर रावतले असिनाले क्षति पुर्याएको सबै क्षेत्र अनुगमन गरी लगत संकलन गरेर राहतका लागि पहल गर्ने बताए । आफ्नै उत्पादनमा निर्भर रासा मालापानी गाउँका किसानलाई यस वर्ष कसरी घर चलाउने चिन्ताले समेत छ । उनले भने, ‘थोरै आर्थिक आम्दानी हुने स्याउ सखाप भयो । बिहान–बेलुका छाक टार्ने अन्नबाली नष्ट भयो । तत्काल राहत उपलब्ध नभए किसानको दैनिकी कष्टकर बन्ने देखिन्छ ।’
असिना पानीले तिला गाउँपालिकामा बढी क्षति गरे पनि जिल्लाका पातारासी, चन्दननाथ, गुठीचौर, तातोपानी र सिंजा क्षेत्रमा आंशिक क्षति भएको छ । यसअघि परेको असिनाले गुठिचौर क्षेत्रको स्याउ खेतीमा क्षति पुर्याएको थियो । प्राकृतिक विपत्तिबाट कृषि क्षेत्रमा ठूलो क्षति भए पनि कृषि विकास कार्यालयले तथ्यांक संकलनमा ढिलाइ गरेको छ ।
पीडित किसानलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्नुका साथै जिल्लाका सबै किसानलाई कृषि बीमाको पहुँचमा ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले माग गरे । पालिकाले दिने आधारभूत राहतले दिर्घकालीन समस्या समधान नहुने भएकोले कृषि बीमा गर्न आवश्यक रहेकोमा उनको जोड छ ।