Logo

‘अर्थदृष्टि: अल्पविकासको अर्थ–राजनीति’ पुस्तक सार्वजनिक

काठमाडौं- मनिकर कार्कीद्वारा लिखित ‘अर्थदृष्टि: अल्पविकासको अर्थ–राजनीति’ पुस्तक शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

पुस्तकमाथि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाक्री, अर्थविद् डा कल्पना खनाल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठलगायतले समीक्षा गरेका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले यो पुस्तकले नेपालको आर्थिक विमर्शको ढोका खोलेको टिप्पणी गरे । विभिन्न कालखण्डमा नेपालको अर्थतन्त्रको अवस्था कस्तो थियो, अहिले अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणसम्म पुग्दा अर्थतन्त्रमा केकस्ता संरचनागत समस्या छन्लगाययत महत्त्वपूर्ण विषय यस पुस्तकमा अटाएका उनको भनाइ छ ।

पुस्तकमा विकास सापेक्षित विषय समावेश भएका भन्दै नेपालको हकमा विकासका लागि के काम भए र के हुन सकेनन् भनेर बुझ्न यो पुस्तक महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहने डा भट्टराईले उल्लेख गरे । नेपालमा राजनीतिक परिवर्तनपछि पनि संरचनात्मक सुधार हुन नसकेको बताउँदै उनले अब उत्पादन तथा उत्पादकत्व बढाउने, त्यसको समावेशी वितरण गर्ने, वातावरणीय दृष्टिकोणले दिगो र स्थायित्वसहितको विकासको अवधारणा अवलम्बन गरिनुपर्ने आवश्यकता औँल्याए ।

पूर्वअर्थमन्त्री पाण्डेले पश्चिमा मुलुकहरूमा औद्योगिक क्रान्ति चलिरहँदा नेपाल एकीकरणको चरणबाट गुज्रिरहेको इतिहास स्मरण गर्दै यहाँको अर्थ राजनीतिक विकास फरक ढंगले भएको बताए । पश्चिमा मुलुकहरूको र नेपालको सामन्तवादको चरित्र फरक रहेको उल्लेख गर्दै उनले औद्योगिक क्रान्तिको लामो समयसम्म पनि नेपालमा सामन्तवाद कायम रहँदा यसले समग्र विकास प्रक्रियामा असर गरेको धारणा राखे ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा पौडेलले अर्थशास्त्रीहरूले कुनै वादभन्दा पनि तथ्य र वास्तविकतामा आधारित विश्लेषणमा जोड दिनुपर्ने बताए । विश्वभर अर्थ राजनीतिक रुपान्तरणका लागि प्रतिपादित तथा प्रचलित उदारवाद, पुँजीवाद, माक्र्सवादलगायत विभिन्न वादहरूको आफ्नै विशेषता रहेको जनाउँदै उनले मुलुकको अर्थतन्त्रको यथार्थ अवस्था दर्शाउन कुनै निश्चित विचारधारा वा वादभन्दा पर रहेर वास्तविकतामा आधारित विश्लेषण आवश्यक पर्नेमा जोड दिए । नेपालको हकमा कम्युनिष्ट आन्दोलनले समानता कार्यान्वयन र प्रवर्द्धनमा योगदान दिएको चर्चा गर्दै उनले असमानता हटाउन योजनाबद्ध काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेकपा एकीकृत समाजवादीकी नेत्री झाँक्रीले नेपालमा अतिराष्ट्रवाद हाबी हुँदा कतिपय विकासका काममा बाधा पर्ने गरेको धारणा राखिन् । आन्तरिक स्रोत कमजोर रहेको नेपालजस्ता मुलुकका लागि वैदेशिक लगानी, वैदेशिक ऋण आवश्यक पर्ने भन्दै उहाँले कतिपय आयोजनाहरूमा अधिक राष्ट्रवाद हाबी हुँदा नेपालले लाभ लिन नसकेको बताइन् ।

अर्थविद् डा खनालले अहिले संविधान संशोधनको मुद्दालाई अगाडि बढाइरहँदा समावेशिता र समानुपातिक प्रतिनिधित्वमा मुलुक कसरी अघि बढ्छ भनेर सबैतिर चासो रहेको उल्लेख गरिन् । मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास, उत्पादन वृद्धि, बौद्धिक विकासलगायत विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

पुस्तकका लेखक कार्कीले नेपालको अर्थतन्त्रको इतिहास, वर्तमान ढाँचा तथा समस्या बुझ्नका लागि यो पुस्तक उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । ”इतिहास, राजनीति, समाज र अर्थतन्त्रमा रुचि राख्नेहरूका लागि पुस्तक महत्त्वपूर्ण दस्ताबेज बन्नेछ”, उनले भने ।

पुस्तकमा इतिहासको अर्थदृष्टि, अर्थतन्त्रको ढाँचा, नेपाली अर्थतन्त्रका समस्याहरू, अल्पविकासको अर्थ–राजनीति, पुँजीवादको संकट र असमानताको उचाइ गरी पाँचवटा अध्याय राखिएका छन् । पुस्तक इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्