नागढुङ्गा–नौबिसे सडक आजदेखि साढे चार घण्टा बन्द

काठमाडौं- संघीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक शनिबारदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले शनिबारदेखि यही जेठ २५ गतेसम्म बिहान साढे १० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।
नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।