उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह

पोखरा-पोखराका उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले लगातार ब्याजदर बढाइरहेको भन्दै आपत्ति जनाएका छन् । बैंक तथा वित्तीय संस्थाले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस हुने अवस्थामा पुग्न लागेको भन्दै उद्योगी व्यवसायीले बैंकको व्याजदर घटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न माग गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघले पोखरामा गरेको बैंकहरूको ब्याजदर वृद्धिबाट उद्योग व्यवसायमा परेको नकारात्मक प्रभावबारेको अन्तक्र्रियामा अधिकांश उद्योगी, व्यवसायीले ब्याजदर घटाउँदै बैंक तथा वित्तीय संस्थालाई नाफामुखीभन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पाँच वर्ष अगाडि लिएको निक्षेपमा ब्याज नबढाउने तर त्यही बेला लिएको कर्जामा चाहिँ ब्याज बढाउनु तर्कसंगत नभएको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ७ प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पुग्दा बैंकहरूलाई नाफाको कुनै सिमा नभएको बताए । बैंकहरूले एकतर्फी रुपले ब्याज बढाउँदा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुगमन र कारबाही गर्नुपर्ने उनको माग छ । थोरै निक्षेपमा ब्याज बढाउँदा हुने नाफा ठूलो निक्षेपमा बढाएको ब्याजसँग तुलना हुन नसक्ने उनले जिकिर गरे । “बैंक तथा वित्तीय संस्थाको नियतमै खोट देखिन्छ,” उनले भने, “नियमनकारी निकाय मौन बस्दा उद्योग व्यवसाय कहाँ पुग्छ ?”
संघका उपमहासचिव अर्जुन पोखरेलले नयाँ सरकारलाई यस विषयमा तत्काल नीति ल्याउन सुझाव दिए । संघका सदस्य प्रेम भुजेलले ब्याजदर बढाएको विषयलाई राष्ट्रियस्तरबाटै सम्बोधन गर्नुपर्ने बताए । अर्का सदस्य नारायण पौडेलले बैंकहरूले गर्ने आफूखुसी निर्णयले बजारमा मूल्य अकासिएको बताए ।
गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसियसन पोखराका अध्यक्ष राजन गोंगजुले बजारमा उत्पन्न भएको अस्थिरता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्ने बताए । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले बजारमा स्थिरता निम्त्याएको उनको भनाइ थियो । संघकी कार्यसमिति सदस्य गीता तिवारीले बैंकले चर्को ब्याज लिँदा छापा नमार्ने तर व्यवसायीलाई अनेक प्रकारले दुःख दिने गरेको आरोप लगाइन् । सदस्य प्रकाशदेव पालिखेले बचतमा बढी ब्याज दिएर सरकारले उद्यमशीलतालाई असर पारेको बताए । सदस्य किसान सुनारले अनुत्पादक क्षेत्रको लगानीमा बढी ब्याज र उत्पादनमूलक क्षेत्रलाई कम ब्याज तोकिनुपर्ने बताए ।