Logo

राइड सेयरिङ नियमावली खारेज नगरे गण्डकीमा सार्वजनिक यातायात ठप्प

पोखरा– गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड सेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारीसाधन ठप्प पार्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । बिहीबार पोखरामा आयोजित बिरोध कार्यक्रममा यातायात व्यवसायीले जेठ १४ गतेसम्म उक्त नियमावली खारेज नगरे जेठ १५ देखि सार्वजनिक यातायातका सवारी साधनहरु ठप्प पार्ने चेतावनी दिएका हुन् ।

पोखरामा आयोजित विरोधसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजय स्वाँर, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, महासचिव भरत नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेकनाथ गौतम, चार मजदुर संगठनका नेतालगायतले रातो प्लेटका सवारी साधनलाई यात्रु बोक्ने कानुनी मान्यता दिइएकाले विरोधस्वरुप सडकमा उत्रिन बाध्य भएको बताएका हुन् ।

गण्डकी प्रदेशबाट सुरु भएको आन्दोलन माग पूरा नभए स्वरुप परिवर्तन गरेर अन्य प्रदेश हुँदै देशैभर ठप्प पार्ने व्यवसायीले चेतावनी दिए । निजी क्षेत्रको खर्बौं लगानी जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावलीविरुद्ध सडकमा उत्रिन बाध्य हुनुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले बताए । जेठ १४ भित्र माग पूरा नभए सवारीसाधन जेठ १५ देखि घर ग्यारेज थन्काइने उनले जनाए ।

माग सम्बोधन विषयमा प्रदेश सरकार गम्भीर नभए जेठ १६ देखि देशव्यापी केन्द्रीय महासंघसमेतको समन्वयमा यातायात सेवा अवरुद्ध गरिने महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले बताए । आफूहरूको मागका विषयमा महासंघ केन्द्रले समेत संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइसकेको र पूरा नभए आन्दोलनमा उत्रिनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

‘अर्बौं लगानी गरेको यातायात क्षेत्रमा कमिसन र बिचौलियाको भरमा यात्रुलाई उच्च जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावली खारेजी नभएसम्म आन्दोलन जारी रहनेछ’, महासंघ गण्डकीले भनेको छ । महासंघ गण्डकीले बिहीबार प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टलाई ज्ञापनपत्र बुझाएको महासचिव केसीले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अनुपस्थितिमा उनलाई ज्ञापन पत्र पेश गरिएको उनले जानकारी दिए ।

टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको छ । यसैबीच गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि पोखरासहित गण्डकी प्रदेशमा सञ्चालन गर्दै आएका राइडर्स र सेल्फ ड्राइभ सञ्चालकले भने खुसी व्यक्त गरेका छन् । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई भेटेर उनीहरूले नेपालमै पहिलो पटक प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेकामा धन्यवाद दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्