माग बढ्दा कुखुराको मासुमा कालोबजारी «

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल अहिलेसम्मकै बढी मूल्य तोकेर आम उपभोक्तहरुसँग चर्को मूल्य असुलेका हुन् ।
देशका अन्य शहर भन्दा महङ्गोमा कुखुराको मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक जसो ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ । यस अघि पोखरामा प्रतिकेजी ४ सय ४० रुपैयाँसम्म पुगेको बोइलरको मासुको मूल्य हिजोआज बजारमा मासु अभाव भएसँगै मूल्य बृद्धि भएको मासु व्यावसयी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए ।
पोखरामा अझै कुखुराको मासु सहज हुन करिब १० दिन लाग्ने उनले जनाए । १८ दिनसम्म ह्याचरीले कुखुराका चल्ला वितरण नगरेकोले हाल बजारमा कुखुराको मासु अभाव भएँंगै मूल्यमा समेत वृद्धि भएको उनले जनाए । जाडो मौसममा धेरै कुखुरा मर्ने समस्याले गर्दा हरेक वर्ष पुस र माघमा कुखुराको मासु उत्पादन कमी हुने अध्यक्ष तिवारीले जनाए ।
आगामी फागुनको दोश्रो सातादेखि कुखुराको मासु बजारमा सहज रुपमा उपलब्ध भएसँगै मूल्यमा केही कमी आउने भएको नेपाल कुखुरा पालक किसान संघ कास्कीका अध्यक्ष यज्ञप्रसाद गुरुङले बताए ।
किसानको लागत मूल्य बढी भएकाले बजारमा कुखुराको मूल्य बृद्धि भएको उनले बताए । काठमाडौं र चितवनको भन्दा पोखरामा ढुवानी बढी हुने हुँदा मूल्यमा केही महङ्गो हुने गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार कास्की क्षेत्रमा हाल १ हजार ५ सय कुखुरा पालक किसान छन् ।
पोखरामा प्रतिकिलो ४ सय ६० रुपैयाँसम्म पुगेको छ । कुखुराको मासु कम उत्पादन हुने समय पुस र माघ महिनालाई लिने गरिन्छ भने यस महिनामा माग भने बढ्दो हुने गरेको हुन्छ । यस वर्ष ह्याचरी संघले मंंसिर २६ देखि पुस ११ गतेसम्म देशका अधिकांश ठाउँमा कुखुराका चल्ला वितरण नगरेसँगै हाल पोखरासहित देशका विभिन्न ठाउँमा कुखुराको मासुमा मूल्य बृद्धि भएको हो । व्यवसायीहरुले मनपरी ढंगले कुखुराको मासुमा मूल्य बृद्धि गरेपनि यसलाई नियन्त्रण गर्ने निकाय मौन बस्दा आम उपभोक्ता मारमा परेका हुन् ।
केही समय ह्याचरीले चल्ला किसानलाई नदिदाँ हाल बजारमा कुखुराको मासु अभाव भएको पोल्टी व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । उनले भने “बजारमा हाल देखिएको कुखुराको मासुको अभाव यो वैशाखसम्म रहने छ, दाना, चल्लाको मूल्य बृद्धि भएसँगै कुखुराको मासुमा मूल्य बृद्धि हुनु स्वभाविक हो ।”
पोखरामा हाल कोल्ड स्टोरमा राखेको कुखुराको मासु बिक्री भएकाले केही सहज भएको संघका सचिव सूर्यप्रसाद पौडेलले बताए । उनका अनुसार पोखरा क्षेत्रमा हाल दैनिक २० हजार किलो कुखुराको मासुको अभाव भएको छ । पोखरामा दैनिक जसो ५० हजार किलो कुखुराको मासु खपत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्