Logo

सात वटा वयस्क बाघ फेला

दाङ– दाङमा सात वटा वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराही तथा डिभिजन वन कार्यालय देउखुरीको समन्वय र सहकार्यमा दाङका चार स्थानीय तहमा गरिएको सर्वेक्षणका क्रममा सात वटा वयस्क बाघ फेला परेका हुन् । फेला परेका बाघमध्ये एउटा भाले, दुई पोथी र ४ वटा लिङ्ग पहिचान हुन नसकेको डिभिजन वन कार्यालय दाङ घोराहीका सिनियर डिभिजन वन अधिकृत वसेन्द्रराज सुवेदीले जानकारी दिए ।

भेटिएका बाघ नयाँ हुन वा बर्दिया राष्ट्रिय निकुञ्ज वा भारतबाट आएको हो भन्ने अध्ययन हुन बाँकी रहेको छ । दंगीशरण गाउँपालिका–१ र २, घोराही उपमहानगरपालिका–१, २, ३ र ५, तुलसीपुर उपमहानगरपालिका–१३, लमही नगरपालिकाको १, ३, ५,६, ७,८ र ९ नम्वर वडामा अध्ययन गरिएको बताइएको छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार क्यामरा ट्रयाप विधिबाट अध्ययन गरिएको उनको भनाइ छ ।

उनका अनुसार २०८१ मंसिर २४ देखि माघ ४ गतेसम्म ४० दिन गरिएको सर्वेक्षणका क्रममा सात वटा बाघ क्यामेरामा कैद भएका थिए । डिभिजन वन कार्यालय घोराहीका सिनियर डिभिजन वन अधिकृत सुवेदीका अनुसार जिल्लामा पहिलो पटक गरिएको बाघ गणनाका लागि घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाका विभिन्न २३ स्थानमा क्यामेरा जडान गरिएको थियो ।

गणनाका लागि २ किलो मिटर लम्बाइ र २ किलोमिटर चौडाइ भएका १०९ वटा ग्रिडहरूमा क्यामेरा जडान गरेर ४३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको थियो । सर्वेक्षण कार्यका लागि डिभिजन वन कार्यालयबाट आठ जना कर्मचारी, आठ जना स्थानीय र १६ जना नागरिक अनुसन्धानकर्तालाई आठ समूहमा परिचालन गरिएको उनले बताए । अहिले क्यामेरा ट्याप सर्वेक्षणका क्रममा संकलन गरिएको तथ्यांकको विश्लेषण गर्ने काम भइरहेको सिनियर डिभिजन वन अधिकृत सुवेदीले बताए ।

उनले भने, ‘प्राम्भिक चरणमा अनुसन्धानबाट आएको नतिजा सार्वजनिक गरेका र्छाैं । विस्तृत अध्ययनको काम भइरहेको छ’ मध्यतराई भू–परिधि क्षेत्रमा सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पनि सम्पन्न भएको सिनियर डिभिजनल वन अधिकृत सुवेदीले जानकारी गराका थिए । उक्त सर्वेक्षणका क्रममा दाङ, अर्घाखाँची र कपिलवस्तु तीन जिल्लामा भएको र त्यसक्रममा दस वटा वयस्क बाघ फेला परेको जानकारी गराएका थिए । दस वटा बाघमध्ये दुई/दुई वटा भाले र पोथी र छ वटा पहिचान हुन नसकेको बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा दाङमा भेटिएका बाघहरू बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्य जन्तु वाइल्ड लाइफ स्याङचुरी क्षेत्रबाट कम्दी जैविक मार्ग क्षेत्र हुँदै ओहोर दोहोर गर्ने क्रममा दाङ सम्म आइपुगेको हुन सक्ने बताए । सीमावर्ती क्षेत्रमा वन्य जन्तुको सुरक्षित आवागमनका लागि अन्तर सरकारी तथा अन्तर संस्थागत समन्वयलाई प्रभावकारी बनाउन आवश्यक देखिएको सिनियर डिभिजन वन अधिकृत सुवेदीले बताए ।

डिभिजन वन कार्यालय दाङ देउखुरीका सिनियर डिभिजनल अधिकृत प्रमुख महेन्द्रराज वाग्लेले बाघको संरक्षणले पारीस्थितिक प्रणाली राम्रो बनाउन सहयोग पुग्ने बताए । बाघ बस्ने वातावरण बनाउन लाग्नुपर्ने उनी बताउँछन् । वन्य जन्तुको संख्या वृद्धिसँगै मानिस तथा वन्य जन्तु दुवैलाई चुनौती रहेको उनले बताए । मानिस र वन्य जन्तुबीच द्वन्द्व बढ्न सक्ने उनको भनाइ रहेको ।

बाघ बढ्दै जाँदा यसले पर्यटनको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ । मध्येतराइ भू–परिधी कार्यक्रम (ताल) परियोजनाका प्रोजेक्ट म्यानेजर राजकिशोर यादवले जिल्लामा पहिलो पटक यस प्रकारको अध्यक्ष गरिएको बताए । अहिले प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट प्रकासन गरिने उनको भनाइ छ । यसका लागि काम भइ रहेको समेत उनले बताए ।

डब्लूडब्लूएफ नेपालका वरिष्ठ अनुसन्धान अधिकृत समुद्र सुव्बाले यस प्रकारको अध्ययनले वन्यजन्तुको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए । उनले भने, ‘वन्यजन्तुको अवस्थामा जानकारी भएमा व्यवस्थापनमा समेत सहजता हुनेछ ।’ कुन वन्यजन्तुको जोखिम बढ्दै गएको छ भनेर जानकारी लिनसमेत सहज हुने उनी बताउँछन् ।

वनमा गैरकानुनी रूपमा के कसरी सिकारी भइरहेको छ भनेर जानकारी लिन यस अध्ययनले सहयोग पुर्‍याउने उनको भनाइ छ । पछिल्लो समय बाघको संख्या वृद्धि हुँदै जाँदा बस्तीसम्म आउने गरेको पाइएको छ । बाघले पारिस्थितिकीय प्रणाली कायम राख्न महत्त्वपूर्ण भूमिका राख्ने उनको भनाइ छ । ‘बाघ बचाउन नसक्दा पारिस्थितिकीय प्रणाली बिग्रन जान्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्